राष्ट्र बैंकको सुविधाले बैंकलाई लाभ, प्रकाशित वितरणयोग्य नाफाभन्दा डेढ अर्ब बढी बाँड्न मिल्ने



काठमाडौं । वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा करिब डेढ अर्ब रुपैयाँले बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले सुविधा दिएका कारण उनीहरुको वितरणयोग्य नाफा १२ दिनअघि प्रकाशित वित्तीय विवरणभन्दा बढ्ने निश्चित भएको हो ।

गत आर्थिक वर्षमा ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा गरेका बैंकहरुको वितरणयोग्य नाफा ७ अर्ब ६२ करोड रुपैयाँमात्र थियो । बैंकहरुको कुल चुक्तापुँजी ३ खर्ब ७३ अर्ब ५८ करोड ७८ लाख रुपैयाँअनुसार वाणिज्य बैंकको भारित औसत लाभांश क्षमता २.०४ प्रतिशतमात्र हुन्छ ।

तर, केन्द्रीय बैंकले मौद्रिक नीतिमा साउन मसान्तसम्म उठ्ने ब्याजलाई पनि असार मसान्तकै खातामा गणना गर्न पाउने व्यवस्था गरेकाले उनीहरुको वितरणयोग्य नाफा सामान्य सुधार भएको छ ।

असार मसान्तमा पाकेको ब्याज साउन ३२ सम्ममा रिकभर भएको भए बैंकहरुले गत आवमै प्राप्त भएको मान्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । यसरी प्राप्त भएको रकमलाई वितरणयोग्य नाफामा गणना गर्न पाइन्छ ।

बैंकहरुले साउन २१ गते वित्तीय विवरण प्रकाशन गर्दा पूर्ववत् व्यवस्थाअनुसार साउन १५ सम्म रिकभर भएको ब्याज रकमलाई असारमै प्राप्त भएको मानेका थिए । तर, थप १७ दिनमा करिब डेढ अर्ब रुपैयाँबराबरको वक्यौता ब्याज उठेको हो ।

एक्रुअल आधारमा वित्तीय विवरण तयार पार्दा बैंकहरुले पाकेको ब्याजलाई आम्दानी मानेर नाफा नोक्सानको स्थिति आँकलन गर्छन् । तर, ब्याज उठेको छैन भने राष्ट्र बैंकको व्यवस्थाअनुसार कर तिरी कर्मचारीलाई बोनस वितरण गरेपछि नियमनकारी कोषमा जम्मा गर्नुपर्छ । यो कोषमा राखेको रकम आम्दानी रियलाइज भएपछि मात्र लाभांशको रुपमा वितरण गर्न पाइन्छ ।

यही रियलाइज हुने अवधिमा राष्ट्र बैंकले थोरै राहत दिएको हो । बैंकहरुले असारमा उठाउनु पर्ने ब्याज शुक्रबारसम्म उठेको भए असारमै उठेको मान्न पाउने व्यवस्थाले बैंकका लगानीकर्तालाई थोरै राहत मिल्ने भएको छ ।

साउन २१ सम्म प्रकाशित वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ७ अर्ब ६२ करोड रहेकामा यो रकम करिब ९ अर्ब पुगेको अनुमान गरिएको छ ।

बैंकहरुले औसतमा ६–७ करोडको दरले रिकभर गरेको एक बैंकरले बताए । अर्थात् २० बैंकले १७ दिनमा करिब डेढ अर्ब रुपैयाँको हाराहारीमा बक्यौता ब्याज उठाउन सकेका छन् ।

चुक्तापुँजीको हिसाबले सानो मध्येका एक बैंकको सीईओले क्लिकमान्डुसँग भने, ‘राष्ट्र बैंकको सुविधाअनुसार हाम्रो बैंकको वितरणयोग्य नाफा करिब ३ करोड रुपैयाँ बढेको छ ।‘

अर्को मध्यमस्तरको चुक्तापुँजी भएको बैंकका सीईओका अनुसार उनको बैंकले १७ दिनमा ७–८ करोड रुपैयाँ बक्यौता ब्याज असुल गरेको छ ।

यसैगरी ठूलोमध्ये एक वाणिज्य बैंकका सीईओ आफ्नो बैंकले १८–२० करोड रुपैयाँ रिकभर गरेको बताउँछन् ।

पछिल्लो समय सेयर बजारमा आएको सुधारका कारण बैंकहरुले बक्यौता ब्याज असुल गर्न सकेका हुन् । ती बैंकरले भने, ‘डिफल्ट ऋणीहरुले सेयरमा नाफा भएकाले बेचेर ऋण तिरेको पाइएको छ ।’

३ खर्ब ७३ अर्ब रुपैयाँ पुँजीअनुसार डेढ अर्ब रुपैयाँ उल्लेख्य रकम नभए पनि बक्यौता ब्याज उठ्ने क्रमले सहज वातावरणको संकेत गरेको बैंकरहरुको बुझाइ छ ।

धेरैजसो बैंकले शुक्रबारसम्म रिकभर भएको ब्याजलाई गत आवकै मानेर वितरणयोग्य नाफा बढाउने तयारी गरे पनि केही बैंकहरूले भने चालु आवको पहिलो त्रैमासिकमा नै देखाउने तयारी गरेका छन् ।


रोविन पौडेल