डेंगी रोकथामका लागि स्वास्थ्य मन्त्रालयको सरसफाई अभियान



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाई अभियान सुरु गरेके छ ।

स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालय/घर सरसफाई अभियान सुरु गरेको हो । निरोगी नेपाल बनाउने संकल्प पूरा गर्नका लागि मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रबार घर/कार्यालय सरसफाई गर्न एक घण्टाको समय छुट्याउन आम नागरिकसँग समेत आग्रह गरेको हो ।

शुक्रबार बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टाको समय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित मन्त्रालयका कर्मचारीहरु मिलेर मन्त्रालय सरसफाईमा जुटेका थिए । मन्त्रालयबाट सुरु गरिएको अभियान सहर हुँदै गाउँसम्म नै पुग्ने र यसले भविष्यका लागि समेत स्वस्थ रहन मद्दत पुर्‍याउने लक्ष्य मन्त्रालयको छ ।

अभियानका बारेमा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विगतका वर्षहरुलाई हेर्दा यस वर्ष संख्यात्मक रुपमा डेंगीको संख्या कम देखिए पनि जोखिम भदौ र असोज महिनामा बढी हुने भएकाले सरसफाई अभियान सुरु गरेको बताए ।

उनले डेंगीको नियन्त्रण र न्युनीकरणका लागि गत हप्तादेखि नै संघीय मन्त्रालय र मातहत रहेका कार्यालयमा शुक्रबार सरसफाई अभियान सुरु गरेको बताए । उनले पानी जम्मा हुने भाँडा घोप्ट्याउने, ओसिलो ठाउँ हुन नदिने गर्न सुझाव दिए । उनले भदौ ६ गते सम्बन्धित समिति र सात प्रदेशकै स्वास्थ्यमन्त्रीसँग बैठक राखेर सातै प्रदेशमा अभियान सञ्चालन गर्नका लागि आह्वान गर्ने पनि बताए ।

‘विगतका वर्षहरुलाई हेर्दा यस वर्ष संख्यात्मक रुपमा डेंगुको संख्या कम देखिए पनि जोखिम भदौ र असोज महिनामा बढी हुने भएकाले त्यसको संख्या बढ्नसक्ने मन्त्रालयले आँकलन गरेको छ । त्यसलाई न्युनीकरण गर्न हामीले गत हप्तादेखि नै संघीय र हामी मातहत रहेका कार्यालयमा शुक्रबार सरसफाईका लागि र विशष गरी पानी जम्मा हुने भाँडा घोप्ट्याउने अभियान सुरु गरेका छौँ,’ प्रवक्त बुढाथोकीले भने ।


क्लिकमान्डु