चाडवाडको मुखमा खाद्यवस्तुको अत्यधिक मूल्यवृद्धि



काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले चाडवाडको मुखमा खाद्यवस्तुको मूल्य अत्यधिक बढेको जनाएको छ ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बिहीबार विज्ञप्ति जारी गर्दै चाडवाडको मुखमा केही व्यवसायीको मिलेमतोमा सिण्डीकेट र कालोबजारीका कारण बजारमा दैनिक उपभोग्य खाद्यवस्तुको मूल्य अत्यधिक बढेको बताएका छन् ।

दुई वर्षदेखि मूल्य अस्थिर रहेको भन्दै मञ्चले भारतले निर्यातमा गरेको कडाइ, भन्सार महसुल वृद्धि र स्वदेशी उद्योग संरक्षण गर्ने नाममा अनावश्यक रुपमा लगाइएको ३० प्रतिशत भन्सार महसुल तथा अग्रिम आयकर १० प्रतिशतका कारण चिनी, चामल, दाललगायतको मूल्य बढेको औंल्याएको छ ।

चिनीमा मात्रै प्रतिकिलो २० रुपैयाँ मूल्य वृद्धि भएको छ । ९५ रुपैयाँमा बिक्री हुने चिनीको मूल्य अहिले ११५ रुपैयाँ प्रतिकिलो पुगेको र मोटा चामलको प्रतिबोरामा ६ सय रुपैयाँ र दालमा प्रतिकिलो ९० रुपैयाँ बढेको मञ्चले जनाएको छ ।

यो विषयमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका साथै प्रतिनिधी सभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पनि ध्यानाकर्षण गराइएको महर्जनले जानकारी दिए ।

मञ्चले बजारमा बढ्दै गएको मूल्यलाई नियन्त्रण रेखाभित्र राख्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्ग कर्पोरेशनलाई शून्य भन्सार दरमा ४० हजार मेट्रिक टन चिनी र १ लाख मेट्रिक टन चामल आयात गर्न अनुमति प्रदान गर्न पनि सरकारसँग माग गरेको छ ।


क्लिकमान्डु