सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ घाइते



काठमाडौं । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका- २ चियाबारी नजिकै यात्रुवाहक बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बिहीबारको दुर्घटनामा गोलन्जोर गाउँपालिका- ६ हैबारका पृथ्वी भुजेल, सोही वडाका उदय बहादुर मस्राङ्गी मगर र पवन मस्राङ्गी मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

१४ जना सवार बा २० च ८२८३ नम्बरको बोलेरो सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत चियाबारी नजिकै सडकबाट तल पल्टिएको थियो । दुर्घटनामा सवार १४ जना नै घाइते भएका थिए । तीमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको हो भने दुई जनाको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको हो ।

सिन्धुली प्रहरीका अनुसार मृतक उदय गोलन्जोर गाउँपालिका ६ का निर्वाचित वडा सदस्य समेत थिए । बोलेरो गोलन्जोर गाउँपालिकाको-६ को हैबार नाकाझोलीबाट सिन्धुली सदरमुकाम माढीबजार तर्फ आउँदै गर्दा बाटैमा दुर्घटना भएको हो । बोलेरोका अन्य ११ जना घाइतेको अहिले उपचार भइरहेको छ ।


क्लिकमान्डु