देशबाटै लखेट्ने धम्की दिएका ट्रम्पसँग किन नजिकिए एलन मस्क ?



एजेन्सी । टेस्ला र स्पेस एक्सका मालिक एलन मस्कले सोसल मिडिया प्लेटफर्म एक्समा अमेरिकी पूर्वराष्ट्रपति तथा नोभेम्बरमा हुने राष्ट्रपति चुनावका रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्पको अन्तर्वार्ता गरेको विषयले यतिबेला व्यापक चर्चा पाएको छ ।

ट्रम्पले अन्तर्वार्ताको क्रममा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेदवार कमला ह्यारिसबारे पनि टिप्पणी गरेका छन् । साथै ट्रम्पले युक्रेन युद्धदेखि इजरायलको युद्धबारे पनि प्रतिक्रिया दिएका छन् । उनले यदि जो बाइडेन अमेरिकाको राष्ट्रपति नभएको भए रुसले युक्रेनमा हमला नगर्ने भन्दै उक्त युद्ध उक्साउनुमा बाइडेनको भूमिका रहेको संकेत गरे ।

एलन मस्कले भने ट्रम्पको यस्तो टिप्पणीमा सहमति जनाउँदै एकदम सही कुरा भनेको बताएका थिए । ‘पुटिनसँग म ज्यादै मिल्छु । उनी मेरो सम्मान गर्छन्,’ ट्रम्पले भनेका छन् । यससँगै उनले पुटिनसँग पनि आफूले कुराकानी गर्ने गरेको बताए ।
००

केही समयअघिसम्म राम्रो सम्बन्ध नरहेका ट्रम्प र मस्कको यस्तो कुराकानीलाई लिएर धेरैले आश्चर्य र संशय प्रकट गरेका छन् । एलन मस्कले जुलाइ २०२२ मा सामाजिक सञ्जालमा लेख्दै ट्रम्पप्रति लक्षित गर्दै भनेका थिए, ‘म ती व्यक्तिलाई घृणा गर्दिनँ । तर अब सेवानिवृत्त हुने समय आएको छ ।’

जवकि ट्रम्पले एलन मस्कविरुद्ध अपमानजनक टिप्पणी गरेपछि मस्कले जवाफको रुपमा यस्तो प्रतिक्रिया दिएका थिए । ट्रम्पले भनेका थिए, ‘एलन ट्विटर खरिद गर्दैनन् ।’ यसवाहेक ट्रम्पले तत्कालीन राष्ट्रपति निर्वाचनमा एलनले कसलाई भोट दिएको भनेर झुट बोलेको पनि आरोप लगाएका थिए । तर ट्रम्पको दाबीका बावजुद एलनले केही महिनापछि नै ट्विटर खरिद गरेका थिए ।

त्यसो त एलन मस्कले विद्युतीय सवारी साधनलाई बढावा दिँदै इन्धनमुक्त वातावरणको परिकल्पना गरिरहँदा विगतमा ट्रम्पले भने उनको यस्तो अभियानलाई तुच्छ गाली दिँदै विद्युतीय सवारीविपरीत टिप्पणी गर्दै आएका थिए । यसैकारण पनि उनीहरुबीचको मनमुटाव सामाजिक सञ्जालमै प्रस्ट देखिन्थ्यो ।

एलनले ईभीलाई बढावा दिइरहँदा ट्रम्पले त्यसविपरीत प्रतिक्रिया मात्रै दिने नभएर नीतिहरु नै त्यसविपरीत अगाडि सारिरहेका थिए । २००२ मा मात्रै अमेरिकी नागरिकता लिएका एलन मस्कसहित आप्रवासीहरुविरुद्ध ट्रम्पले डरलाग्दा प्रतिक्रिया दिन्थे ।

ट्रम्पले जसरी आप्रवासीविरुद्ध अभिव्यक्ति दिन्थे त्यसले एलनलाई पूर्ण रुपमा असर पार्ने नै थियो । यतिसम्म कि ट्रम्पले राष्ट्रपति पदमा रहँदा नै आप्रवासीहरुलाई लखेट्नुपर्ने जस्ता अभिव्यक्ति दिन्थे । अमेरिकन फर्स्ट नीतिलाई उनले एलन मस्कजस्ता लाखौं आप्रवासीहरुविरुद्धको अभियान नै बनाएका थिए ।

कसरी नजिकिए ट्रम्प र मस्क ?

पछिल्लो राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा ट्रम्प र एलनबीच सम्बन्ध बलियो हुँदैछ । सोमबार ट्रम्प सामाजिक सञ्जाल एक्समा फर्किँदै अन्तर्वार्ता समेत दिएका छन् । दशकौंसम्म डेमोक्रेटिक पार्टीसँग नजिक भएका एलन मस्क अचानक रिपब्लिकनका राष्ट्रपति उम्मेदवार ट्रम्पसँग नजिकिए

थुप्रै भिन्नताका बावजुद उनीहरुको मित्रतालाई धेरैले आलोचना पनि गरे । गत जुलाईमा मात्रै अमेरिकी राष्ट्रपति निर्वाचनको अभियानको क्रममा मस्कले ट्रम्प ट्रम्पलाई साथ हुन् ।

दुई राष्ट्रपति उम्मेदवार ट्रम्प र बाइडेनबीच सीएनएनले ९० मिनेटको बहस गराएको थियो । उक्त बहसमा तुलनात्मक रुपमा बाइडेन कमजोर रुपमा प्रस्तुत भए । पर्याप्त प्रमाण र आधार भए पनि बाइडेनले ट्रम्पका झुट र आरोपको प्रतिवाद गर्न सकेनन्।

बाइडेनको यस्तो कमजोर प्रस्तुतीले गर्दा डेमोक्रेट समर्थकहरुले नै बाइडेनलाई राष्ट्रपतिको दौडबाट पछि हट्न सुझाव दिए । यही क्रममा एलन मस्कले पनि ट्रम्पलाई साथ दिएका हुन् । त्यसपछिका दिनमा मस्कले त ट्रम्पको चुनावी अभियानलाई सघाउन आर्थिक सहयोग नै जुटाइदिए ।

मस्क खुलेर ट्रम्पको पक्षमा उभिए । पछिल्लो पटक भने उनले ट्रम्पलाई ट्विटरमा अन्तर्वार्ता नै लिएर सार्वजनिक गरेका हुन् । यसवाहेक ट्रम्पमाथि गोली प्रहार भएको घटनामा पनि घाइते भएका व्यक्तिहरुलाई क्षतिपूर्तिको रुपमा मस्कले १ लाख डलर सहयोग गरिसकेका छन् ।

तर डेमोक्रेट समर्थक भए पनि मस्क र बाइडेनबीच यसबीचमा केही तिक्तता देखिएको थियो । टेस्ला विश्वभर सबैभन्दा ठूलो ईभी उत्पादक कम्पनी भएपछि पनि २०२१ मा बाइडेनले एलन मस्कलाई ह्वाइट हाउसमा ईभी सम्बन्धी शिखर सम्मेलनमा एलन मस्कलाई बोलाइएको थिएन ।

साथै बाइडेन प्रशासनको अवधिमा मस्कको कम्पनीले रोजगारी, ट्विटर अधिग्रहण र टेस्लाको अटोपाइलट सुविधा सम्बन्धी थुप्रै छानबिनको सामना गर्नुपरेको थियो । यसैकारणले पनि मस्कले २०२३ नोभेम्बरको एक अन्तर्वार्तामा अब जो बाइडेनलाई मतदान नगर्ने घोषणा गरेका थिए ।

यसैबीच एलन मस्कले ट्रम्पको अन्तर्वार्ता लिनुको कारण उनको राजनीतिक निकटता नभएर व्यापारिक लाभको रुपमा पनि व्याख्या गरिएको छ । सोमबार एक्समा एलनले लिएको ट्रम्पको अन्तर्वार्ताको भिडियो बिहीबारसम्म उनको निजी एकाउन्टसहित समग्रमा १ अर्बले अवलोकन गरेका थिए ।

तर अमेरिकामा राष्ट्रपति चुनाव नजिकिँदै गर्दा रिपब्लिकनका उम्मेदवार ट्रम्पको अन्तर्वार्ता लिएका एलन मस्क आलोचित पनि बनेका छन् । धेरैले उनलाई अर्को उम्मेदवार डेमोक्रेटिककी कमला ह्यारिससँग पनि अन्तर्वार्ता लिनुपर्ने भन्दै उनको आलोचना गरेपछि मस्कले भने आफूले कमलाको पनि अन्तर्वार्ता लिने प्रतिक्रिया दिएका छन् ।


क्लिकमान्डु