अमेरिकाको चुनावमा ट्रम्पलाई सघाउँदै एलन मस्क, अभियानमै लाग्‍ने तयारी



एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प र उद्यमी तथा टेस्लाका मालिक एलन मस्कबीच धेरै भिन्नताहरु छन्। एलन मस्क जसरी विद्युतीय सवारीको उत्पादन गरी इन्धनबिना र धुवाँबिनाको विश्व समुदायको परिकल्पना गरिरहेका छन् त्यसको ठीक उल्टो ट्रम्प भने विद्युतीय सवारीले अमेरिकामा आर्थिक विपत्ति ल्याउने दाबी गर्छन् ।

प्राकृतिक रुपमा उनीहरु नजिक हुन नसक्ने प्रसस्त प्रमाण छन् । अर्थात् उनीहरु ठीक विपरीत विचार र धारणा राख्छन् । यतिसम्म कि एलन मस्कको विद्युतीय सवारीलाई विश्वभर विस्तार गर्ने अभियान चलिरहँदा ट्रम्पले भने अमेरिकाले अत्यधिक तेल उत्पादन गर्नुपर्ने धारणा राख्छन् ।

एलन मस्कले उनै ट्रम्पलाई चुनावी अभियानमा समर्थन गरेका छन् । आगामी नोभेम्बरमा राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा उत्रिएका ट्रम्पलाई मस्कले समर्थन गर्न थालेका छन् । केही अमेरिकी मिडियाले त मस्कले ट्रम्पको राष्ट्रपति अभियानका लागि आर्थिक संकलनको अभियान सञ्चालन गर्ने तयारी गरिरहेको उल्लेख गरेका छन् ।

त्यसो त ट्रम्पमाथि गोली प्रहारको क्रममा घाइते भएका व्यक्तिहरुलाई क्षतिपूर्तिको रुपमा मस्कले १ लाख डलर सहयोग गरिसकेका छन् । यसपटक फेरि चुनावी प्रतिस्पर्धामा रहेका ट्रम्पको चुनावी अभियानमा मस्कले समर्थन गर्ने विषयलाई धेरैले आश्चर्यजनक रुपमा हेरेका छन् ।

मस्कले विगतमा भने रिपब्लिकन र डेमोक्रेट दुबै पार्टीका उम्मेदवारहरूलाई चन्दा दिएका थिए । त्यस क्रममा बराक ओबामालाई पनि उनले २०११ को अप्रिलमा ५ हजार डलर दिएका थिए ।


क्लिकमान्डु