सहिद परिवार र प्रजातन्त्र सेनानीका परिवारलाई कांग्रेसले १० करोडको अक्षयकोष स्थापना गर्ने



भक्तपुर । सहिद परिवार र प्रजातन्त्र सेनानीका परिवारका सदस्यहरुको शिक्षा स्वास्थ्यका लागि नेपाली कांग्रेसले १० करोड रूपैयाँको अक्षयकोष स्थापना गर्ने भएको छ ।

स्व. श्याम बहादुर कार्कीको १७ औं स्मृति दिवसको अवसरमा शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा कांग्रेसका महामन्त्री गगन कुमार थापाले यसबारे जानकारी दिएका हुन् ।

प्रजातन्त्रका सेनानी र सहिदका परिवारले आफ्नो योगदानको प्रतिफल पाउन नसकेको भन्दै महामन्त्री थापाले उनीहरु स्वास्थ्य र शिक्षाको अवसरबाट बञ्चित नहुन् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गर्न लागिएको बताए ।

हाल पार्टीमा आवद्ध रहेकाहरुलाई पनि भविष्यमा आफ्नो परिवारको अवस्था के होला भन्ने तनाबबाट मुक्त रहन उक्त अक्षयकोषले मद्दत पुर्‍याउने महामन्त्री थापाको भनाइ थियो । कार्यक्रम बोल्दै महामन्त्री थापाले पार्टी कार्यालयमा स्थपना गरिएको पुस्तकालयमा प्रजातान्त्रिक आन्दोलनका योद्धा, प्रजातान्त्र सेनानी लगायतका सामग्री समेत राखिने जानकारी दिए ।

महामन्त्री थापाले भने, “मानिसहरुमा देश सक्किसक्यो, हामी भत्किसयौं, हामी मक्किसक्यौं भन्ने भाष्य बन्दै गएको छ । मानिसहरुमा सबै नराम्रो मात्र हुँदै छ, राम्रो केही छैन भन्ने विचार धेरैले राख्ने गरेको सुनिन्छ । हामीले सोचेअनुसार प्रगति गर्न सकेनौं, धेरै गर्न सक्ने थियौं, तर विभिन्न कारणले भएन । तर त्यसो भन्दैमा हामी सक्किसक्यौं, मक्किसक्यौं भन्न चाहिँ मिल्दैन ।”

हाल धेरैजस्तो युवाहरुमा विदेश जाने संस्कार बढिरहेको भन्दै महामन्त्री थापाले युवा विदेशिनुलाई मात्रै नराम्रो भन्न नमिल्ने बताए । रोजगारी र शिक्षाका लागि विकशित देशका मानिस पनि अन्य देशमा जाने गरेको उदाहरण प्रस्तुत गर्दै महामन्त्री थापाले त्यसैलाई नै नराम्रो भन्न नमिल्ने बताए ।

“कमाएर वा पढेर नेपाल फर्किन्छु भन्ने सोच्नु सामान्य हो । तर सबै बिग्रिसक्यो भन्ने सोचेर विदेशिनु चाहिँ डरलाग्दो हुन्छ,” महामन्त्री थापाले भने ।


क्लिकमान्डु