सांसद भन्छन्ः तारागाँउ होटलको जग्गा भाडामा ठूलै घोटाला भयो, तत्काल समाधानको कार्ययोजना ल्याउनु




काठमाडौं । तारागाँउ होटलको जग्गा भाडामा ठूलै घोटाला भएको आशंका सांसदहरुले गरेका छन् । तारागाउँ रिजेन्सी होटल हायात होटललाई जग्गा दिएको भएको भाडा र त्यसपछि होटल सञ्चालनमा भएको घोटालाको समाधान गर्न तत्काल कार्ययोजना बनाएर लागू गर्न पनि सांसदहरुले माग गरेका छन् ।

आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा लामो समयदेखि विवादमा परेको सो जग्गा लिजमा दिने क्रममा तत्कालीन प्रधानमन्त्री, मन्त्रीहरुले पनि ठूलो घोटाला गरेको हुनसक्ने निष्कर्ष निकाल्दै सांसदहरुले सो समस्याको तत्काल निरुपण हुनेगरी कार्ययोजना तत्काल बनाउन सरकारसँग माग गरेका छन् ।

बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सो जग्गा लिजमा लिने क्रममा ठूलो घोटाला भएको हुनसक्ने जिकिर गरे । उनले सो जग्गा सम्बन्धि विवाद टुंगो लगाउने गरी कार्ययोजना तत्काल बनाउन सरकारसँग माग गरे । उनले हायात होटेलले १५० रोपनी सरकारी जग्गा हडप्ने प्रयास गरिरहेको भन्दै त्यसलाई रोक्ने उपायको खोजी गर्न पनि सरकारलाई दबाब दिएका छन् ।

अध्यक्ष नेपालले भने ‘यी सबै कुरामा दुरुपयोग कतिको भईरहेको छ ? तारा गाउँको सन्दर्भमा खासगरी अहिले जुन कुरा उठेको छ । यो बौद्धमा रहेको जग्गाको बारेमा । त्यो हायात हाटेलले लिन चाहिराखेको छ । भनौं हडप्न खोजेको छ । एकलौटी बनाउन खोजेको छ । राज्यको शेयर घटाउँदै घटाउँदै लिएर गईराखेको छ ।’

तारागाउँको शुरुवाती शेयर ३९ प्रतिशत थियो । यसलाई २२ प्रतिशतहुँदै नौ प्रतिशतमा झारिसको कम्पनीले सार्वजनिक गरेको सूचनामा उल्लेख हुन थालेको छ । नेपालले भने ‘मुनाफा कति भइराखेको छ, राज्यलाई देखाउने कति गरिएको छ ? राज्यले कति लाभांश पाउने गरेको छ ? यी कुराहरु पनि छन् । त्यसकारण यी सबै कुरालाई ध्यान राख्नुपर्नेआवश्यकता एकातिर छ भने अहिले आएको १५० रोपनी जग्गाको कुरा यो सबैको सन्दर्भमा वास्तवमा सरकारकै दृष्टिकोण के हो त ? तारा गाउँ विकास समितिसँग सबै रिपोर्ट लिएर सरकारले सो सम्बन्धि धारणा बनाओस् । मन्त्रालयले के प्रश्ताव राख्न खोजिराखेको छ, त्यो पनि ल्याओस् ।’

नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले सरकार फेरिँदैपिच्छे दोहन गर्ने वस्तुको रुपमा सरकारी जग्गालाई उपयोग गर्ने गरिएको भन्दै आपत्ति जनाए । उनले भने जग्गा लिजमा दिने विषयमा सरकारले तत्काल कानून बनाएर अघि बढ्नुपर्छ ।’

सांसद साउदले संसदीय समितिले पनि दिगो र भरपर्दो किसिमले सरकारी जग्गा हडप्नेमाथि कारबाही हुने गरी निर्देशन दिनुपर्ने पनि बताए । यो सँगै सार्वजनिक जग्गालाई कौडीको मूल्यमा भाडाका नाममा बिक्री गर्ने काम सरकारले तत्काल बन्द गर्न सक्नुपर्ने उनको भनाइ छ ।

सांसद साउदले भने ‘कानून बमोजिम लिजमा दिन सकिने भएपनि त्यसको पालना हुन नसकेको देखिन्छ । तारा गाउँ विकास समितिको बारेमा सार्वजनिक चर्चा परिचर्चा लगातार चलिराखेको छ । मन्त्रीहरु, व्यवस्थाहरु, सरकारहरु फेरिँदाखेरी फाइलहरु झिकाउने, समितिले माग्ने, मन्त्रालयले पनि फाइल झिकाउने, निर्देशन पनि दिनेलगायतका कुराहरु भएपनि विवादको समाधान भने भएको छैन् ।’

सत्तारुढ नेकपा (एमाले)का सचिव एवं पूर्वपर्यटनमन्त्री भीमप्रसाद आचार्यले हायात होटेलले सरकारी जग्गा हडप्न खोजेको आरोप लगाउँदै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारलाई सचेत गराए ।

उनले संसदीय समितिले पटक पटक यस विषयलाई सरकारलाई निर्देशन दिएकाले फेरि निर्देशन दिने काममा हतार गर्न नहुने पनि बताए ।

तारागाउँ रिजेन्सी होटलमा देखिएको विवाद समाधा गर्न पर्यटन मन्त्रालयले स्पष्ट कार्य योजना बनाउनुपर्ने उनको भनाइ छ । सरकारी निकाय बैठक बस्ने अनि त्यसैमा पिङ मच्चाएजस्तो त्यही श्रृखंला दोहोर्‍याउने काम गर्नुहुन्न । खाली माननीयहरुले आफ्नो धारणा राख्ने काम गरेर मात्रै हुँदैन । समितिले छलफल गरेर निर्देशन पनि दिइसकेको अवस्था छ । त्यो निर्देशन लागू गर्ने क्रममा अब मन्त्रालयको कार्ययोजना आईसकेपछि बल्ल त्यसमा हामीले थप कुरा गर्नु उचित हुन्छ भन्ने उनले बताए ।

सांसदहरुले सो जग्गा घोटाला प्रकरणमा संलग्न देखिएको तत्कालीन प्रधानमन्त्री र पर्यटनमन्त्रीहरुलाई पनि छानविनको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सार्वजनिक जग्गा बेचेर कमिसन खाने प्रधानमन्त्री, मन्त्री र सम्बन्धित सबै अधिकारीहरुलाई सरकारले तत्काल छानविनको दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले गुठीको जग्गा, गोकर्ण रिसोर्टमा रहेको सरकारी जग्गा भाडाको नाममा कौडीको मूल्यमा बिक्री वितरण हुने काम गरिएको भन्दै आपत्ति जनाए ।

सुवालले भने, ‘कमिसन खाने को हो ? त्यसकारण यो विषय सभापतिज्यू कडा निर्देशन जानुपर्छ । र अर्को यसमा गुठी संस्थानको पनि यस्तै अलमल छ । गुठीको जग्गा पनि यसरी नै हिनामिना भईरहेको छ । यो गोकर्ण रिसोर्टका ३ हजार रोपनी जग्गा पनि यसरी नै गएको छ ।’

सरकारी जग्गालाई भाँडामा दिने भन्दै पछि बिक्री गरिएको भन्दै यसको छानविन गर्न पनि सुवालले माग गरे ।


क्लिकमान्डु