ओलम्पिकले आयोजक फ्रान्सको अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला ?



काठमाडौं । पेरिस ओलम्पिकअन्तर्गत आज अन्तिम दिन हो । २६ जुलाईबाट फ्रान्सको पेरिसमा सुरू भएको यो ‘खेलहरूको महाकुम्भ’ आज अर्थात अगस्ट ११ मा समाप्त हुँदैछ। 

यसबीच यो महाकुम्भले फ्रान्सको अर्थतन्तमा कस्तो प्रभाव पार्यो त?

पेरिस ओलम्पिक २०२४ ले फ्रान्सको अर्थतन्त्रमा अत्यावश्यक सहायता प्रदान गरेको एक रिपोर्टले देखाएको छ ।

बैंक कार्ड तथा आर्थिक कारोबार सम्बन्धी कम्पनी अमेरिकी कम्पनी भिसाको एक रिपोर्टले ओलम्पिकका कारण उपभोक्ताहरूको खर्च बढेसँगै फ्रान्सको अर्थतन्त्रमा यसले सकरात्मक प्रभाव पारेको बताएको छ ।

युरोपेली क्षेत्रकै दोस्रो अर्थतन्त्रका रुपमा रहेको फ्रान्समा ओलम्पिक खेलका कारण ०.३ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ । त्यहाँको तथ्यांक कार्यालयले टिकेट र टेलिभिजनको प्रशारण अधिकार बिक्री तथा थप पर्यटनबाट यस्तो वृद्धि देखिने अनुमान गरेको छ ।

भिसाको रिपोर्टकाअनुसार उनीहरूसँग भएको तथ्यांकले पेरिसका साना व्यवसायहरूको बिक्रीमा २६ प्रतिशतको वृद्धि ओलम्पिकको उद्घाटन समारोहको पहिलो साताबाट देखिएको छ । वर्षको अन्य समयको तुलनामा भिसाका कार्डवाहकहरुको खर्चमा यस्तो वृद्धि देखिएको भिसाले जनाएको छ ।

‘हाम्रो पछिल्लो तथ्यांकले उद्घाटन सप्ताहान्तमा भिसा कार्ड भएका उपभोक्ताहरूको खर्चमा उल्लेखनिय वृद्धि भएको देखिन्छ’,  भिसा युरोपका सिइओ चार्लोट्ट हगले भने।

भिसा ओलम्पिकको व्यवसायिक प्रायोजकमध्येको एक हो । भिसाले जनाएअनुसार ओलम्पिकसम्बन्धित खर्चमा सबैभन्दा धेरै अमेरिकी भिसा कार्डहोल्डरहरले गरेका छन् । उनीहरूले २९ प्रतिशत बढि खर्च गरेको भिसाले जनाएको छ ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटिले यसअघि फ्रान्सको ओलम्पिक भइरहेको क्षेत्रमा १२.२ अर्ब को आर्थिक बृद्धि हुने अनुमान गरेको थियो। ओलम्पिक र पाराओलम्पिकको आयोजना गरेर यो बृद्धि हुने अनुमान गरिएको थियो।

ओलम्पिकले फ्रान्सको अर्थतन्त्र टिकट बिक्री र पर्यटनमार्फत बढाएको छ । फ्रान्सको राष्ट्रिय तथ्यांक संस्थान तथा आर्थिक अध्ययन (आईएनसिईई)ले फ्रान्सको तेस्रो त्रैमासमा ०.५ प्रतिशत बृद्धि देखिने भएको छ। दोस्रो त्रैमासमा यो बृद्धि ०.३ प्रतिशत थियो।

यद्यपी कतिपय ट्राभल कम्पनीहरूले भने तुलनात्मक रूपमा कम बुकिङ भएको पनि बताएका छन्। 

पेरिस ओलम्पिकको कुल बजेट ४ अर्ब ३८ करोड युरो थियो। आयोजक कमिटीको यो बजेटका साथै अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले थप ४० करोड सहायता गरेको थियो। ओलम्पिकको वेबसाइटकाअनुसार यसपटक पेरिसमा भएको खेलको खर्च विगतमा हुनेभन्दा कम रहेको छ।


क्लिकमान्डु