जीवन बिमा कम्पनीको पौने ७ खर्ब लगानी कहाँ कहाँ ?



काठमाडौं । असार मसान्तसम्म १४ वटा बिमा कम्पनीले ६ खर्ब ८२ अर्ब २९ करोड २२ लाख रुपैयाँ लगानी गरेका छन् ।

१४ वटा बिमा कम्पनीले गरेको लगानीमध्ये उत्पादन लगातयत दीर्घकालिन लगानीको क्षेत्रमा भने निकै कम रहेको छ । बिमा प्राधिकरणका अनुसार जीवन बिमा कम्पनीले दीर्घकालिन योजनाका क्षेत्रमा कुल लगानीको १.२५ प्रतिशत मात्रै लगानी गरेका छन् ।

प्राधिकरणका अनुसार कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन, जलविद्युत, सौर्य उर्जा लगायत नविकरणीय उर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रशारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा कुल लगानीको १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था रहेको छ । तर १.२५ प्रतिशत अर्थात ८ अर्ब ५८ करोड ८४ लाख रुपैयाँ लगानी गरेका छन् ।

१४ वटा बिमा कम्पनीमध्ये ६ वटा कम्पनीले लगानी गरेका छन् । बाँकी ८ वटा कम्पनीले यी क्षेत्रमा लगानी गरेका छैनन् । लगानी गर्ने कम्पनीमा राष्ट्रिय बिमा संस्थान, एशियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ, सानिमा रिलायन्स लाइफ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् ।

असार मसान्तसम्म राष्ट्रिय बिमा संस्थानले ४ अर्ब ८० करोड २ लाख रुपैयाँ लगानी गरेको छ ।

यस्तै एशियन लाइफ इन्स्योरेन्सले ३ अर्ब ४७ करोड ५२ लाख, सन नेपाल लाइफ इन्स्योरेन्सले ९ करोड ८२ लाख, सिटिजन्स लाइफले ८ करोड २० लाख सानिमा लाइफ इन्स्योरेन्सले ५ करोड र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ८ करोड २६ लाख रुपैयाँ लगानी गरेका छन् ।

लामो समयदेखि बिमा कम्पनीहरुले उत्पादन मुलक क्षेत्र र दीर्घकालिन उत्पादनका क्षेत्रमा लगानी गर्नु भन्दा पनि बैंकमा मुद्दती निक्षेपमा राखेर ब्याज खाए भन्ने आरोप लाग्दै आएको छ । बिमा प्राधिकरणको तथ्याङ पनि त्यस्तै देखिएको छ ।

प्राधिकरणका अनुसार ‘क’ वर्गका बैंकको मुद्दती निक्षेपमा १३ बिमा कम्पनीले ४ खर्ब ६१ अर्ब ११ करोड ७१ लाख रुपैयाँ, पूर्वाधार बैंकको मुद्दती निक्षेपमा चार वटा कम्पनीले ९ अर्ब २७ करोड ४० लाख, ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थामा ४३ अर्ब ९९ करोड १५ लाख रुपैयाँ लगानी गरेका छन् ।


क्लिकमान्डु