ब्राजिलमा विमान दुर्घटना, ६२ को मृत्यु



ब्राजिलको भिन्हेडो सहरस्थित मानव बस्तीमा विमान खसेको हो। जहाँ विमान तल ठाडो भएर खसिरहेको भिडियो सामाजिक सञ्जालमा मानिसहरुले पोस्ट गरिरहेका छन् ।

एजेन्सी । ६२ यात्रु बोकेर उडेको विमान ब्राजिलको साओ पाउलोमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा विमानका सबै यात्रुको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

ब्राजिलको दक्षीणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरका लागि उडेको टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको बताइएको छ । दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

विमानमा ५८ यात्रु र अरु चार जना चालक दलका सदस्य थिए । स्थानीय अधिकारीहरुले दुर्घटनामा सबैको मृत्यु भएको बताएका छन् ।

बीबीसीमा प्रकाशित समाचार अनुसार उक्त विमान मानव बस्तीमा खसेको थियो । ब्राजिलको ग्लोबोन्युज टेलिभिजन नेटवर्कले दुर्घटनाको तस्बिर सार्वजनिक गर्दै दुर्घटनास्थलमा बाक्लो आगोको मुस्लो देखाएको छ ।

दुर्घटनापछि उद्धारका लागि ठूलो संख्यामा प्रहरी खटिएका छन् । उनीहरुले यात्रुहरुलाई अस्पताल लगिरहेका छन् । दुर्घटनापछि ब्राजिलका राष्ट्रपति लुला द सिल्भाले सार्वजनिक रुपमा सम्बोधन गर्ने कार्यक्रममा १ मिनेट मौनधारण गरेका थिए । साथै उनले दुर्घटनाप्रति दुख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।


क्लिकमान्डु