म्याग्दीमा ६६% उद्योग व्यवसाय दर्ता घट्यो



म्याग्दी । म्याग्दी जिल्लामा उद्योग व्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर बढेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा उद्योग व्यवसाय खारेज ५१.१९ प्रतिशतले बढेको र दर्ता ६६ प्रतिशतले घटेको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीले जनाएको छ ।

आव २०८०/८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ खारेज भएका छन् । कार्यालयका अनुसार २०८०/८१ मा ३१ उद्योग र ५३ व्यवसायिक फर्म खारेज भएका हुन् । आव २०७९/८० मा १४ उद्योग र २९ व्यवसायिक फर्म खारेज भएका थिए । सो अवधिमा एक सय एक वटा उद्योग र एक सय १० वटा ब्यवसायिक फर्म दर्ता भएका उद्योग तथा पर्यटन कार्यालयका प्रमुख पोषानाथ शर्माले बताए ।

आव २०७७/७८ मा सात सय ६२, २०७८/७९ मा पाँच सय ७० र २०७९/८० मा तीन सय १७ वटा उद्योग र व्यवसायिक फर्म दर्ता भएका थिए । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले कोरोना महामारी पछि आर्थिक मन्दीका कारण उद्यमी ब्यवसायीहरु बिदेश पलायन हुने र अन्य पेसा रोज्ने क्रम बढेको बताए ।

“व्यवसाय दर्ता तथा खारेजी बढ्नु र दर्ता घट्नुलाई कोभिडपछिको आर्थिक मन्दीको असरका रुपमा लिएका छौ,” उनले भने “वैदेशिक रोजगारका लागि कारोबार देखाउन, बैंकबाट ऋण र राज्यबाट अनुदान लिन कागजी प्रक्रीया पूरा गर्न दर्ता भएका उद्योग र ब्यवसाय उद्देश्य पूरा भएपछि कर तिरिरहनु भन्दा खारेज गर्नेहरु पनि छन् ।” जिल्लामा फेन्सी, हार्डवयर्स र होटल तथा रेष्टुरेष्टको ब्यापार घटे पनि सटर नै बन्द नभएका अध्यक्ष श्रेष्ठको दाबी छ ।

उद्योग वाणिज्य संघको चुनावी प्रयोजनका लागि दर्ता भएका ब्यवसायिक फर्महरु पनि पछिल्लो समय स्थानीय तह, उद्योग तथा पर्यटन कार्यालय र आन्तरिक राजस्व कार्यालयमा कर तिर्नुपर्ने भएपछि बन्द गर्न थालेका छन् ।

उद्योग तथा ब्यवसाय दर्ता र नविकरणबाट उद्योग तथा पर्यटन कार्यालयले संकलन गर्ने राजस्वमा पनि गिरावट आएको छ । आव २०७९/८० मा रु १९ करोड ४७ हजार राजस्व संकलन गरेको कार्यालयले आव २०८०/८१ मा रु. १७ लाख ३८ हजार ५०० राजस्व संकलन गरेको छ ।

गत वर्ष ३२२ उद्योग र ३९४ व्यवसायिक फर्मले नवीकरण गरेका थिए । गत वर्ष दर्ता भएका उद्योगहरुमा ३०६ जनालाई रोजगारी सिर्जना भएको छ । जिल्लामा हाल दुई हजार आठ सय ८९ उद्योग र दुई हजार पाँच सय ४३ व्यवसाय कायम भएका छन् ।


क्लिकमान्डु