प्राधिकरणको नाफा कागजी होइनः कुलमान



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफा कागजी नभएको दाबी गरेका छन् ।

दोस्रो कार्यकालको ३ वर्ष पूरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मलेन गर्दै कुलमानले प्राधिकरण टाट पल्टिन लागिसक्यो भन्ने हल्ला चलाइएको भन्दै त्यो सत्य नभएको बताएका हुन् ।

प्राधिकरणले ट्रंक डेडिकेटेड लाइनका विषयमा विवादित उद्योगको बक्यौता रकमलाई नाफामा देखाएको र क्यास फ्लोमै समस्या रहेकाले टाट पल्टिने स्थिति रहेको चर्चा चलिरहँदा कुलमानले हिसाबमा प्राधिकरणलाई नाफामा देखाएको आरोपको खण्डन गरेका हुन् ।

उनले प्राधिकरणसँग १ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको पनि बताए ।

कुलमानले बिजुलीको महसुल घटाए पनि नाफा बढेको बताउँदै भने, ‘३ वर्षमा महसुल दर २५ प्रतिशत घटाइएको छ तर नाफामा बढोत्तरी भएको छ । यो नाफा डेडिकेटेड ट्रंकलाइनको बक्यौताले बढेको होइन ।’

उनले महालेखापरीक्षक र प्राधिकरणकै ३ जना आन्तरिक लेखापरीक्षकले बनाएको हिसाब कसरी खोट हुन सक्छ ? भन्ने प्रश्न पनि गरे ।

‘सबैले बुझ्न जरुरी छ कि प्राधिकरणको आर्थिक अवस्था सुदृढ छ । लागनीको क्षमता छ, टाट पल्टिन लागेको छ भन्नु गलत हो,’ उनले भने ।

नेपाल विद्युत प्राधिकरण प्रबन्ध निर्देशक कुलमान घिसिङको ४ वर्षे दोस्रो कार्यकाल सकिन एक वर्ष बाँकी छ । २०७८ साउन २५ गतचे कुलमान प्राधिकरणका प्रबन्ध निर्देशक नियुक्त भएयता ३ वर्ष पूरा भएको हो ।

उनको दोस्रो कार्यकालको ४ वर्षमध्ये अब एक वर्ष बाँकी छ । ३ वर्ष पुरा भएको अवसरमा घिसिङले शुक्रबार पत्रकार सम्मलेन गरेका छन् । सो अवसरमा कुलमानले विद्युतीकरणमा उल्लेख्य प्रगति गरेको बताए ।


क्लिकमान्डु