यात्रु बढेपछि वनारसमा उडान थप्दै बुध्द एयर, ३५ हजारमा ३ दिनको प्याकेज



काठमाडौं । बुध्द एयरले यात्रुको चाप बढेपछि काठमाडौंबाट भारतको वनारसमा भइरहेको उडान थप्ने तयारी गरेको छ । बुध्दले हालसम्म सातामा काठमाडौं-वनारस दुईतर्फी उडान गरिरहेको वायुसेवाले आगामी सेप्टेम्बर १८ (असोज २)देखि सातामा तीन वटा उडान गर्ने भएको छ ।

बुध्द एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णका अनुसार हाल सातामा सोमबार र शुक्रबार मात्रै काठमाडौं-वनारस उडान हुँदै आएकोमा अब भने बुधबार पनि हुने भएको छ ।

वनारसबाट ४ घण्टामा अयोध्या पुग्न सकिने भएकाले नेपालबाट प्याकेजमा घुम्न जाने तीर्थयात्रीहरुलाई आकर्षित गरिरहेको बुध्द एयरको भनाइ छ । बुद्धका सञ्चार संयोजक कर्णका अनुसार नेपालबाट भारत जाने धार्मिक यात्रीहरुसँगै विदेशी यात्रुको पनि चाप बढिरहेको छ । पछिल्लो समय बुध्दले प्याकेज दिएर सहजता प्रदान गरेसँगै यात्रु चाप बढ्न थप सहयोग पुगिरहेको उल्लेख छ ।

बुध्द एयरले बुध्द होलिडेमार्फत ट्राभल प्याकेज पनि बिक्री गर्दै आएको छ । काठमाडौंबाट वनारस जाँदा न्यूनतम भाडादर ११ हजार ३६० रुपैयाँ लिँदै आएको छ भने फर्कँदा ११ हजार १३५ रुपैयाँ भाडादर तोकिएको बुध्द एयरले क्लिकमान्डुलाई जानकारी दिएको छ ।

बुध्दले आउने जाने भाडा, अयोध्या घुम्ने, दुईतारे होटलमा बस्नेसहितको २ रात ३ दिनको प्याकेज न्यूनतम ३५ हजारमा उपलब्ध गराउँदै आएको छ । यस्तो प्याकेज ३ रात ४ दिनको ४४ हजार रहेको बुध्द एयरले जानकारी दिएको छ ।

नेपालबाट वनारस जाने नेपाली प्याकेजमै जान रुचाउने गरेको छन् । वनारस जाने तीर्थयात्री काशी दर्जन, सारनाथ, अयोध्या, विश्वनाथसहितका गन्तव्यमा जाने जाने गरेका छन् । भारतबाट पनि पशुपतिनाथ दर्शन गर्न आउनेदेखि तेस्रो मुलुकबाट पर्यटकसम्मले यात्रा गर्ने गरेकोले बुध्दको वनारस उडानमा चाप बढ्दै गएको उल्लेछ ।

थाइल्यान्ड, भियतनाम, श्रीलंका, कोरिया जापन, कम्बोडिया लगातयक मुलुबाट अयोध्या, बोधगया, सारनाथ, कुशीननगर, विश्वनाथसहितका गन्तव्य भ्रमणका लागि ठूलो संख्यामा धार्मिक पर्यटक वनारस पुग्ने गरेका छन् ।

ती पर्यटकमध्ये केहीको उद्देश्य पशुपतिनाथ आउनेसम्म हुने गरेको छ । नेपालबाट पनि भारतका विभन्न गन्तव्यमा पर्यटक जाने र भारतबाट पनि नेपाल आउनेको चाप बढ्दै गएसँगै बुध्द एयरका लागि यात्रुको चाप पनि बढ्दै गएको उल्लेख छ ।

बुध्दले २०६८ साल फागुनबाट काठमाडौं वनारसको उडान सुरु गरेको हो । यो गन्तव्यमा सुरुमा एटीआर ४७ नामक ४२ सिट क्षमताको जहाज पठाउने गरेको थियो । हाल यो गन्तव्यमा एटीआर ७२ नामक ७२ सिट क्षमताका जहाजबाट उडान गर्दै आएको छ ।

बुध्दले काठमाडौंबाट सुरु गरेको वनारस उडान पटक पटक बन्द गर्दै पुनः सुचारु गर्दै आएको छ । २०६८ पछि यात्रु चाप कम भएको, भूकम्प, कोरोना महामारी तथा भारतीय पक्षले देखिएको प्राविधिक कारण देखाउँदै पटक पटक बन्द भएको उक्त उडान कोरोना महामारीपछि भने हाल नियमित छ ।

नयाँ गन्तव्यबाट भारत जाने बुध्दको चाहना

बुध्द एयरले काठमाडौं बाहेक नयाँ गन्तव्यबाट पनि भारतका विभिन्न सहरमा जाने इच्छा देखाएको छ । जनकपुरबाट अयोध्या उडान गर्ने तयारी गरिरहको बुद्ध एयरलाई भारतले अनुमति भने दिएको छैन । बुध्दले आवश्यक प्रक्रिया पूरा गरेर उडान अनुमतिको आवेदन दिए पनि भारतबाट ग्रीन सिंग्नल नआएको बुध्द एयरको भनाइ छ ।

बुद्धले जनकपुरबाट अयोध्या उडान गर्ने तयारी पनि गरिहेको छ । यसको निर्क्योल भने भइसकेको छैन । यस्तै पोखरा विमानस्थलबाट दिल्ली उडान गर्न चाहेको बुध्द एयरले हालसम्म अनुमति पाएको छ ।

दुई वर्ष अगाडि नै बुध्दले पोखराबाट उडान अनुमति मागेको भए पनि अहिलेसम्म कुनै रेस्पोन्स नै नआएको बुद्ध एयरका वरिष्ठ बजार निर्देशक रुपेश जोशीले बताए । उनका अनुसार सरकारले सहजीकरण गरिदिएको अवस्थामा भारत उडानको अनुमति आउन सक्ने र पोखरा विमानस्थलबाट सीधै भारत जाने नेपाली पहिलो वायुसेवा बन्ने पनि जोशीको तर्क छ ।


क्लिकमान्डु