किन पत्रकार सम्मेलन गर्दै छन् कुलमान घिसिङ ?



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

आफ्नो कार्यकाल तीनवर्ष पूरा भएको अवसर पारेर घिसिङले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

पत्रकार सम्मेलन दिउँसो साढे १.३० बजे प्राधिकरणको केन्द्रीय कार्यालयको सभाहल, रत्नपार्कमा आयोजना हुँदैछ ।

घिसिङ दोस्रो कार्यकालका लागि प्राधिकरणको नेतृत्वमा आएको तीन वर्ष पूरा भएको हो । हितेन्द्र देव शाक्लाई जल तथा उर्जा आयोगमा सरुवा गराएर घिसिङलाई प्राधिकरणको प्रवन्ध निर्देशक बनाइएको थियो ।

पहिलो कार्यकालमा लोडसेडिङको अन्त्य गर्दै वाहवाही पाएका घिसिङ दोस्रो कार्यकालमा भने आलोचित भइरहेका छन् । दोस्रो कार्यकालमा प्राधिकरणको नेतृत्वमा नआउन धेरैले सुझाव दिएको भए पनि घिसिङ दोहोरिएका थिए ।

डेडिकेटेड ट्रंक लाइनका विषयमा उद्योगीहरुसँग प्राधिकरण विवाद चलिरहेको छ ।

विहीबार मात्र प्राधिकरणले संघीय संसदको लेखा समितिमा ७० हजार पेजभन्दा बढीको टीओडी मिटरसहितका अन्य बिल बुझाएको छ ।

प्राधिकरणले मन्त्रिपरिषद्ले निर्देशन दिएको भन्दै ६ अर्ब ६० करोड रुपैयाँ उठाउन उद्योगीहरुलाई पत्र काटेपछि विवाद बढेको हो । उद्योगीहरुले टीओडी मिटरको रेकर्ड नदिएसम्म बक्यौता नतिर्ने बताएका छन् । उद्योगीहरुले प्राधिकरणले पठाएको अतिरिक्त शुल्कसहतिको उक्त विल फर्जी भएको दाबी गर्दै आएका छन् ।


क्लिकमान्डु