टीआरसी सम्बन्धी प्रतिवेदन कार्यदलले शीर्ष नेतालाई बुझायो



काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुंगो लगाउन गठित कार्यदलले प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालाई कार्यदलले प्रतिवेदन बुझाएको हो ।

कार्यदलले एक साताअघि नै दलहरुसँगको समन्वयमा विवादित विषयमा सहमति जुटाइसकेको थियो । उक्त सहमतिको प्रतिवेदन आज सिंहदरबारमा दलका शीर्ष नेतालाई बुझाएको हो ।

लामो समयदेखि विवादित रहेको द्वन्द्वकालमा भएको हत्यालाई कसरी परिभाषित गर्ने भन्ने विषय टुंगिएपछि सहमति भएको हो ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले टिआरसी विधेयकमा कार्यदलमा सहमति बनेपछि पूर्णता दिनको लागि अब कानुनी रुपमा कुनै दुविधा नभएको बताए ।

संसदको यही अधिवेशनबाटै टिआरसी विधेयक पारित गर्ने प्रधानमन्त्रीको भनाइ छ ।

मनसायपूर्वक अथवा स्वेच्छाचारीपूर्वक गरिएको हत्यालाई मानवअधिकारको गम्भीर उल्लंघनमा राख्ने सहमति दलहरुले गरेका छन् ।

मानवअधिकारको उल्लंघनका घटनामा सहमतिका लागि पीडितको सहमति अनिवार्य गरिएको छ ।


क्लिकमान्डु