अहिलेको सरकार प्रतिशोधका लागि होइन, अर्थतन्त्रमा सुधारका लागि हो: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार रोकथाम, नियन्त्रण र अन्त्य गर्ने सवालमा सरकारको प्रतिवद्धता दृढ रहेको बताएका छन् ।

समृद्ध नेपालः सुखी नेपाली बनाउने सरकारको अभियानमा भ्रष्टाचार खतरनाक तगारोको रुपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसको अन्त्य गर्न सरकार दृढतापूर्वक लागि पर्ने बताए ।

मंगलबार संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भ्रष्टचार गर्नेलाई अनुहार हेरेर क्षमा दिने काम सरकारले नगर्ने पनि स्पष्ट पारे । नेपाल सरकारको भ्रष्टाचार सम्बन्धि शून्य सहनशीलता, म भ्रष्टाचार गर्दिन र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न भन्ने स्पिरिट रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसमा तलमाथि हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।

सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा कसैप्रति पूर्वाग्रह नराख्ने उनको भनाइ थियो ।

बैठकमा प्रधानमन्त्रीले यसो भने

नेपाल सरकारको भ्रष्टाचार सम्बन्धि शुन्य सहनशीलता । म भ्रष्टाचार गर्दिन र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न भन्ने स्पिरिट, त्यो भावना र हामीले प्रस्तुत गरेको विधेयकमा पनि समृद्ध नेपालः सुखी नेपाली भनिएको छ । नेपाललाई समृद्ध बनाउन जरुरी छ । र नेपाली जनतालाई सुखी बनाउन जरुरी छ ।

नेपाल समृद्ध होस, नेपाली जनताको आवश्यकताहरुको परिपूर्ति होस । जैविक र मानवीय आवश्यकताहरुको परिपूर्ति होस । योसँग अधिकार प्राप्ती, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको प्रत्याभूति, शान्तिपूर्ण र भयरहित वातावरणमा हरेकले काम गर्न पाउन सक्ने सुरक्षाको प्रत्याभूति, त्यसैगरी सम्मानित जीवन हरेकले बाँच्न पाउने अधिकारको प्रत्याभूति । यी कुराहरु नै वास्तवमा सुखी जीवनका प्यारामिटरहरु हुन । त्यसकारण हामी समृद्ध देश बनाउने र देशका जनतालाई सुखी बनाउने यस दिशामा हामी अगाडि बढि रहेका छौं । यस अभियानमा भयानक, खतरनाक तगारो भनेको भ्रष्टाचार हो । र भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा सरकार अत्यन्तै प्रतिवद्ध रहेको कुरामा म सबै माननीय जीहरुलाई अवगत गराउन चाहन्छु ।

एकारित हामी बजेट विनियोजन गर्दै गर्छौं । अर्कोतिर भ्रष्टाचार हुँदै गर्छ भने विकास हुँदैन । एकारित राजस्वको लक्ष्य निर्धारण गर्दैगर्छौं ।

अर्कोतिर चुहावट भइरह्यो भने, चोरी बाटोबाट आउने जस्ता कुराहरु भएभने करका दरहरु वृद्धि गरेर मात्रै पनि हुँदैन । करको दायरा फराकिलो गर्छु मात्रै भनेर पनि हुँदैन । हामीले करका दर वृद्धि भन्दा दायरा फराकिलो गर्ने र गलत बाटोमा जान नपाओस् व्यवसायिक क्रियाकलाप, वाणिज्यगत क्रियाकलापहरु र कर महशुल जस्ता कुनै प्रकारको अनिमितता, छलि हुन नपाओस् भन्ने कुरामा हामीले ध्यान दिनुपर्नेछ । त्यो कुरा सरकारले बुझेको छ । र, तदनुसार नै भ्रष्टाचारका विभिन्न रुपहरुको पहिचान गर्ने र तिनीहरुलाई रोकथाम, नियन्त्रण र अन्त्य गर्ने विषयमा सरकारको प्रतिवद्धता दृढ छ ।

सरकार यसमा कुनै पनि हिसावले कम्प्रमाइज गर्ने अथवा कसैले कसुर गर्‍यो भने मुख हेरेर, अनुहार हेरेर कसुरमा क्षमा गर्ने काम गर्दैन । अर्को कुरा अहिलेको सरकार प्रतिशोधका लागि होइन, अर्थतन्त्रमा सुधार, समाजमा सुधार, विकासमा गति ल्याउनका लागि हो । त्यसकाले यसले कसैप्रति आग्रह, पूर्वाग्रह राख्ने, कसैप्रति अनावश्यक, अनूचित झूटा कुराहरु उचाल्ने ती कामहरु गर्ने वा कसैलाई दुख दिने खालको काम पनि गर्दैन भन्ने खालको कुरा पनि स्पष्ट गर्न चाहन्छु ।


क्लिकमान्डु