हिमालयन बैंकको नाफा ८२ प्रतिशतले बढ्यो, यसकारण वितरणयोग्य नाफा ऋणात्मक



काठमाडौं । हिमालयन बैंकको खुद नाफा ८२ प्रतिशतले बढेको छ । बैंकले प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकले आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको हो । यो नाफा अघिल्लो आवमा गरेको १ अर्ब ५६ करोडभन्दा १ अर्ब २७ करोड बढी हो ।

बैंकको खुद ब्याज आम्दानीमा भारी बढोत्तरी हुँदा नाफामा निकै सुधार आएको देखिन्छ । निष्क्रिय कर्जामा गिरावट आउँदा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकममा पनि उल्लेख्य कमी आएको छ । फलस्वरुप बैंकको नाफा बढेको हो ।

बैंकले प्रकाशन गरको वित्तीय विवरणअनुसार ब्याज आम्दानी २२.२८ प्रतिशतले बढेर ३५ अर्ब ५८ करोड र खुद ब्याज आम्दानी १७.१२ प्रतिशतले वृद्धि भइ ११ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । यस अवधिमा बैंकले अघिल्लो आव छुट्याएको नोक्सानी व्यवस्थाभन्दा ४२.७६ प्रतिशत कम अथात् २ अर्ब ७९ करोड प्रोभिजन गरेको छ । बैंकको सञ्चालन नाफा ६७.४३ प्रतिशतले बढेर ५ अर्ब १६ करोड पुगेको छ ।

नाफामा भारी वृद्धि भएपनि बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । बैंकको वक्यौता ब्याज बढ्दा २ अर्ब ११ करोड रुपैयाँ नियमनकारी कोषमा छुट्याउनुपरेको छ । यस्तै निष्क्रिय कर्जाका लागि गरेको प्रोभिजन १ अर्ब १५ करोड थप गरेको छ ।

बैंकले २०८१ असार मसान्तसम्म २ खर्ब ३ अर्ब ९० करोड रुपैयाँ बराबरको निक्षेप परिचालन गरी २ खर्ब ३२ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्तापुँजी २१ अर्ब ६६ करोड र जगेडा कोषमा २२ अर्ब ४४ करोड छ । रिजर्भको रकम ४७.४७ प्रतिशतले बढेको हो ।

गत आवको वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी १३.१० रुपैयाँ, नेटवर्थ १७६.९० रुपैयाँ र पीई रेसियो १५.५८ छ ।

यस अवधिमा हिमालयनको निष्क्रिय कर्जा ४.९३ प्रतिशतबाट घटेर ४.९१ प्रतिशत कायम भएको छ । बैंकले गरेको कुल प्रोभिजन निष्क्रिय कर्जाको अनुपातमा १३०.४६ प्रतिशत छ जुन अघिल्लो आवको अन्त्यसम्म १०८.८७ प्रतिशतमात्र थियो । बैंकको निक्षेप कर्जा अनुपात ८३.३७ प्रतिशत रहेको छ ।


क्लिकमान्डु