प्रोक्सी किनेर हाइड्रोपावरमा ‘सय कित्ते’ सञ्चालक, कसरी हुन्छ लगानीकर्ताको हित संरक्षण ?
काठमाडौं । जलविद्युत कम्पनीमा प्रोक्सी सेयर किनेर २, ४ सय कित्ता सेयर हुने व्यक्ति पनि सञ्चालक बन्दा लगानीकर्ताको हित कसरी हुन्छ ? भन्ने विषयमा निकै पेचिलो बन्दै गएको छ ।
कम्पनी ऐनले १०० कित्ताभन्दा बढी सेयर हुने व्यक्ति सञ्चालक हुन पाउने व्यवस्था गरेको छ । त्यही व्यवस्थालाई टेकेर कतिपय कम्पनीमा सय कित्ते सञ्चालकको हालीमुहाली रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ९१ जलविद्युत कम्पनीमध्ये केही कम्पनीमा सय कित्ते सञ्चालक रहेका छन् ।
केही कम्पनीमा सञ्चालक मात्रै नभएर अध्यक्ष समेत थोरै कित्ता सेयर धारण गरेका व्यक्ति रहेका छन् । लगानीकर्ताहरुबाट प्रोक्सी किन्ने र सय कित्ता सेयर धारण गरेका व्यक्ति पनि सञ्चालक बनेका छन् ।
लगानीकर्ताहरुमा भने सय कित्ते सञ्चालकले सर्वसाधारण तथा धेरै कित्ता सेयर धारण गरेको लगानीकर्ताको हितमा कसरी काम गर्न सक्छन भन्ने आशंका रहेको छ ।
यो समाचार तयार पार्न केही जलविद्युत कम्पनीको सेयर संरचना तथा संचालक समितिको अध्ययन गर्दा ती कम्पनीमा रहेका अध्यक्षदेखि सञ्चालकसम्म पनि १ सय, २ सय, ३ सय कित्ता सेयर भएका सञ्चालक भेटिएका छन् ।
छ्याङदी हाईड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, बरुण हाईड्रोपावर, पञ्चकन्या माई हाईड्रोपावर, युनाइटेड मोदी हाईड्रोपावर र नेशनल हाईड्रोपावरको सेयर संरचना एक पटक हेरौं त ।
नेशनल हाईड्रो पावर कम्पनीको अध्यक्ष कुमार पाण्डे छन् । कम्पनीमा उनको सेयर स्वामित्व १ हजार २५० कित्ता रहेको छ । सञ्चालक नवराज पाण्डेको ३ हजार ५५५ कित्ता, विश्वेश्वर सुबेदीको १ हजार ३८६ कित्ता, सोमनाथ सापकोटाको २३७ कित्ता, शुशिला कुमारी शर्माको ३ हजार ९४६ कित्ता र कञ्चन प्रकाश पाण्डेको १ हजार २४५ कित्ता छ । यो लामो सयमदेखि नियमित लाभांश नदिने कम्पनी पनि हो ।
यस्तै, छ्याङदी हाईड्रोपावर कम्पनीमा तिना राजभण्डारीको ४८४, बैकुण्ठ पौडेलको २३५९, अरुण तातेडको ४१०, शोभा वरालको ५१२, शरद कुमार पौडेलको १ हजार ३७८ र सन्जिब कुमार थापा क्षेत्रीको १ हजार १०२ कित्ता सेयर स्वामित्व रहेको छ । यस कम्पनीले आव २०७६/०७७ मा ५.२६ प्रतिशत लाभांश दिएको थियो । त्यसपछि दिएको छैन ।
सिनर्जी पावर डेभलपमेण्ट कम्पनीमा प्रकाश कुमार अधिकारीको ११५ कित्ता, गोपाल प्रसाद आचार्यको २ हजार २१३ कित्ता, निरु केसी कार्कीको १०० कित्ता सेयर स्वामित्व रहेको छ । यो कम्पनीले आव २०७७/०७८ मा १०.५३ प्रतिशत लाभांश दिएपछि लाभांश दिएको छैन ।
यसैगरि, आंखुखोला जलविद्युत कम्पनीमा इन्द्र कृष्ण श्रेष्ठको १ हजार कित्ता, रेनुका लिम्बुको २०० कित्ता, नारायण प्रसाद अर्यालको १ हजार ५०० कित्ता सेयर स्वामित्व रहेको छ । यो कम्पनीले पनि अहिलेसम्म लाभांश दिएको छैन ।
वरुण हाइड्रोपावर कम्पनीमा अध्यक्ष डा। भुषण गुरागाईको १ हजार कित्ता, सञ्चालकहरु डा।अभिनव दाहालको १०० कित्ता, रमेश अधिकारीको १०० कित्ता, सौरभ गुरागाईको ५०० कित्ता, पुनम कार्कीको १०० कित्ता, कृष्ण लाल श्रेष्ठको १७० कित्ता सेयर स्वामित्व रहेको छ । बरुण हाईड्रोपावर कम्पनीले आव २०७६/०७७ मा ५.२६ प्रतिशत लाभांश दिएको थियो । त्यसपछि लाभांश दिएको छैन ।
युनाईटेड मोदी हाइड्रोमा रेनुका पाण्डेको १२० कित्ता र रोमन दंगालको ५३५ कित्ता सेयर स्वामित्व रहेको छ । यो कम्पनीले आव २०७८/०७९ मा ७.३६८ प्रतिशत लाभांश दिएको थियो ।
पञ्चकन्या माई हाइड्रोपावर कम्पनीमा टिकाराम निरौलको १ हजार ७० कित्ता सेयर स्वामित्व रहेको छ । यो कम्पनीले अहिलेसम्म लाभांश दिएको छैन ।
कानुनतः कम्पनीको सञ्चालक बन्न न्यूनतम सय कित्ता सेयर भए पुग्छ । सय कित्ता सेयर हुने व्यक्ति पनि कम्पनीको सञ्चालक बनेर लाखौं कित्ता सेयर हुनेको हितमा काम गर्न सक्छन् । तर, लगानीकर्ताको कति हित भएको छ वा छैन भन्ने प्रत्यक्ष्य नियामक निकाय नभएको जलविद्युत कम्पनीहरुमा लगानीकर्ताको प्रश्न रहेको छ ।
किनकि थोरै कित्ता सेयर हुनेहरुले कम्पनीमा बसेर लगानीकर्तालाई लाभांश दिनु र कम्पनी राम्रोसँग सञ्चालन गर्नुभन्दा पनि हकप्रद सेयर निष्कासन गर्न बढी चासो दिएको लगानीकर्ताहरुको गुनासो छ ।
यस्तै, कतिपय सञ्चालकले लकइन अवधि सकिनासाथ सेयर बिक्री गरेर निस्कने गरेको धितोपत्र बोर्डले गरेको अध्ययनले देखाएको छ ।
पछिल्लो समय लाभांश नदिने कम्पनीमा सञ्चालक बन्दा कम्पनीको गाडी, इन्धन सुबिधा प्रयोग गर्न सकिने, कम्पनीले दिने अन्य सेवा सुविधा उपभोग गर्न पाउने, हकप्रद सेयर निष्कासन गरेर अनुकुलका आयोजनामा लगानी गर्न सकिनेजस्ता स्वार्थ बढी हुने गरेको लगानीकर्ताको भनाइ छ ।
तर, सञ्चालक समेत थाहा पाउन नसक्ने कम्पनीमा लगानी गर्दा लगानीकर्ता आफै बढी सचेत हुनेपर्ने अन्यथा जानाजान आफ्नो लगानी गुमाउनु सरह हुने लगानीकर्ताहरु बताउँछन् ।
यस्ता कम्पनीले लगानीकर्तालाई लाभ नदिने नेपाल इन्भेष्टर फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारको भनाइ छ । यस्ता खाले कम्पनीको मूल्यमा खेल्न सजिलो हुने भएर सोझा लगानीकर्ता डुब्न सक्ने भन्दै सचेत भएर बुझेर मात्रै लगानी गर्न पनि उनको सुझाव रहेको छ ।
कम्पनी ऐनले १०० कित्ता सेयर भएको व्यक्तिलाई सूचीकृत संगठित संस्थाको सञ्चालक बन्न बाटो खोलेको छ । तर, १०० कित्ता सेयर भएको व्यक्ति सूचीकृत कम्पनीको सञ्चालक बन्दा उसले लाखौ कित्ता सेयर हुने सेयरधनीको हितमा भन्दा पनि कम्पनीका सूचनाको दुरुपयोग गर्ने, बैठक भत्ता लिनमात्र ध्यान दिने, कम्पनीले दिने सेवा सुविधाको उपभोग मात्रै गर्ने भन्दै कम्पनी ऐनको यो व्यवस्था संशोधन गर्नुपर्ने लगानीकर्ताको माग रहेको छ ।
सय कित्ता धारण गरेको व्यक्तिलाई सञ्चालक बनाउँदा लगानीकर्ताको हित संरक्षण नहुने भएकाले त्यसका लागि कानून नै संशोधन आवश्यक रहेको पनि रौनियारको भनाइ छ । यस्ता कम्पनीलाई नियामक निकायले पनि हेर्नुपर्ने उनको सुझाव छ ।
लकइन अवधि सकिनासाथ सञ्चालकले सेयर बिक्री गरेर निस्कने र सञ्चालकहरु १०० कित्तामा सिमित हुँदा बजारमा राम्रो सन्देश नजाने उनको दाबी छ । यस्ता अधिकांश कम्पनीले लाभांश दिन नसकेको उनको भनाइ छ ।
नेपालमा जलविद्युत क्षेत्रमा सम्भावना राम्रो रहेको, लगानी बढ्दै गएको बेला यस्ता विषयमा नियामकको ध्यान जान आवश्यक रहेको उनको बुझाइ छ । थोरै कित्ता सेयर हुने सञ्चालक भएको कम्पनीमा प्रभावकारी नियमन नहुने हो भने लगानीकर्ता कुनै पनि बेला फस्ने सम्भावना पनि हुने उनको बुझाइ छ ।
‘कतिपय व्यक्ति प्रोक्सी किनेर सञ्चालन बनेका हुन्छन्,’ उनले भने ‘उनीहरु कानूनी रुपमा सञ्चालक नै बनेका हुन् । तर लगानीकर्ताको हितमा कुनै काम गर्ने उनीहरुको चासो हुँदैन ।’
सन्चालक बन्न मात्रै पनि १०० कित्ता सेयर लिनु गलत भएको रौनियारको भनाइ छ । ‘२, ४ सय कित्ता हुनेले लगानीकर्ताको हितमा काम गर्न सक्दैन,’ उनले भने, ‘त्यसैले न्यूनतम १ सय कित्ताको ब्यवस्था परिमार्जन गरेर अलि बढी नै राख्नु आवश्यक हुँदै गएको छ ।’