सिस्नेरीमा भएको सुमो दुर्घटनामा १० जना घाइते



काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा शनिबार बिहान भएको सुमो दुर्घटनामा १० जना यात्रु घाइते भएका छन् ।

शनिबार बिहान ७ बजेर २० मिनेटको समयमा सिस्नेरी सडक खण्डमा काठमाडौँबाट वीरगन्ज तर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सुमो आफै अनियन्त्रित भई सडकको नाला साइडमा पल्टिएको हो । दुर्घटनामा सवारी चालकसहित १० यात्रु घाइते भएको र घाइते मध्ये तीन जनाको अवस्था गम्भीर तथा सात जना यात्रुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका व्यक्तिलाई उपचारका लागि काठमाडौं पठाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।


क्लिकमान्डु