विद्युतीय व्यापार विधेयक छिटो अघि बढाउन उद्योग मन्त्रीको आग्रह
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयक छिटो पारित गरेर अघि बढाउन आग्रह गरेका छन् ।
संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसदहरुसँग शुक्रबार सिंहदरबारमा गरेको छलफल मन्त्री भण्डारीले यस्तो आग्रह गरेका हुन् ।
त्यसक्रममा सांसदहरुले विद्युतीय व्यापारका मार्फत नेपालको उत्पादनलाई विश्व बजारमा सहज रुपमा निर्यात गर्न सक्ने गरि कानून बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले विद्युतीयमाध्यमबाट हुने व्यापारबाट हुनसक्ने ठगिलाई नियन्त्रण गर्न विधेयक निकै महत्वपूर्ण हुने बताएका छन् ।
मन्त्री भण्डारीले सरकारले तयार गरेका ड्राफ्टमाथि सांसदहरुले दिएका सुझावहरुलाई विधेयकमा समेट्ने प्रतिवद्धता जनाए ।
सरकारले विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिदबिक्री बढ्दो क्रममा रहेकाले विद्युतीय माध्यमबाट हुने कारोबारलाई नियमन गर्न तथा व्यवस्थित र विश्वसनीय बनाउँदै प्रवर्द्धन गर्न उक्त विधेयक ल्याएको हो ।