बुक बिल्डिङ विधिमार्फत संस्थागत लगानीकर्ताको विकृति रोक्दै धितोपत्र बोर्ड



काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिमार्फत संस्थागत लगानीकर्ताले गरेको विकृती रोक्ने तयारी गरेको छ ।
बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘बुक विल्डिङ्ग विधिमार्फत सार्वजनिक निष्काशनलाई थप व्यवस्थित बनाउन नियमावली तथा निर्देशिकामा आवश्यक परिमार्जन गर्ने’ जनाएको छ ।

बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासनका क्रममा संस्थागत लगानीकर्ताले निर्धारण गर्ने मूल्यमा पारदर्शी नभएको, निश्चित समूहले मूल्य निर्धारण गर्दा विकृती बढेको भन्दै आलोचना भइरहेको हुनाले बोर्डले नियमावली र निर्देशिका नै परिमार्जन गर्ने तयारी गरेको जनाएको छ ।

हाल संस्थागत लगानीकर्ताहरुको ४० प्रतिशत सेयर हुन्छ । र ४० प्रतिशत सेयर पाएका संस्थागत लगानीकर्ताहरुले मूल्य निर्धारण गर्दा मिलेमतो गरेर मूल्यमा कार्टेलिंग गर्ने गरेको पाएपछि हालको व्यवस्था परिवर्तन गर्न लागेको बोर्ड स्रोतले जनायो।

‘अहिले संस्थागत लगानीकर्ताहरुले मूल्य निर्धारण गर्दा कुनै म्युचुअल फण्ड छ भने त्यो फण्ड र त्यस अन्तर्गतका विभिन्न स्किमले एकै मूल्य राख्ने राखेका छन्,’ बोर्डका एक उच्च पदस्थ कर्मचारीले भने, ‘फण्ड अन्तर्गतका स्किमले मूल्य निर्धारण गरेपछि केही फण्डहरुको नियन्त्रण भित्र मूल्य रहने भयो । त्यो पैसा पनि सेयरको नाममा जनताबाट उठाएको पैसा हो । जनताबाट उठाएको पैसा लगानी गर्ने अनी बढी मूल्य राखेर फेरी जनतालाई नै बढी मूल्यको पासोमा पार्ने काम भएको छ । अब एउटा फण्ड अन्तर्गतका धेरै स्किमले भाग लिन नपाउने व्यवस्था गरिने छ ।’

यसैगरि, हाल संस्थागत लगानीकर्तालाई ४० प्रतिशत र सर्वसाधारणलाई ६० प्रतिशत सेयर दिने व्यवस्था रहेको छ । बोर्डले यसलाई पनि परिमार्जन गर्ने तयारी गरेको छ । संस्थागतको बढाउने र सर्वसाधारणको घटाउने सम्भावना रहेको बताइएको छ।

बोर्डले धितोपत्रको सार्वजनिक निष्काशनमा नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारण सम्बन्धमा एकरुपता कायम गर्ने तयारी पनि गरेको छ । यस विषयमा सार्वजनिक लेखा समितिको निर्देशन तथा अन्तर्राष्ट्रिय प्रचलनलाई समेत मध्येनजर गरी स्टयान्डर्ड गाइडलाइन तयार पार्ने तयारीमा बोर्ड रहेको जनाएको छ ।


क्लिकमान्डु