रविको अभिव्यक्तिमा चौधरीको आपत्ति: भने-राज्यको छानबिनको घेरामा रहेका व्यक्तिले कुण्ठा पोखे



काठमाडौं । उद्योगीसमेत रहेका नेपाली कांग्रेस सांसद विनोद चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापितसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले संसद्‌बाट आफूविरुद्ध तथ्यहीन, नियोजित र कुण्ठापूर्ण अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् ।

संसदजस्तो गरिमामय थलोमा लामिछानेले कुण्ठा पोखेको र ती स्टन्टको राजनीतिबाहेक अरु केही नभएको चौधरीको भनाइ छ।

‘विवादित विगत र वर्तमान भएको र अहिले पनि राज्यको छानविनको घेरामा रहेको व्यक्तिले जसरी संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरु केही होइन,’ चौधरीले भनेका छन्, ‘विगतमा सत्ताको चरम दुरुपयोग गरेर प्रहरी प्रशासनलाई चर्को दवाव दिएर ममाथि जुन प्रतिसोध साध्न खोजिएको थियो, हिजोको उनको अभिव्यक्ति त्यही स्टन्टको मानसिकताको निरन्तरता मात्रै हो ।’

आइतबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतको प्रस्तावबारे धारणा राख्ने क्रममा लामिछानेले चौधरीको नाम नलिइ जग्गा प्रकरणमा हाजिरी जमानीमा छुटेका मान्छे सरकार बने लगत्तै बालकोट पुगेर गीत गाइरहेको भन्दै टिप्पणी गरेका थिए।

‘सरकार सुरु हुने बित्तिकै हामीले अनुसन्धान गरिरहेको विषय, कोही हाजिरी जमानीमा छुट्नु भएको मान्छे बालकोटमा गीत गाउँदै हुनुहुन्थ्यो,’ लामिछानेले आइतबार संसद्‍मा भनेका थिए, ‘बाँसबारी छाला जुत्ताको अनुसन्धान चलिरहँदा गीतको आवाज बालकोटबाट आयो, त्यहाँ हामीलाई शंकाको विषय भयो । त्यसपछि मन्त्रिपरिषद् बन्यो जहाँ जहाँ हामीले विषय उठायौं त्यहाँ त्यहाँ पुरस्कार दिइयो ।’

तर, चौधरीले भने आफूले बालकोटमा अर्कै प्रसंगमा गाएको गीतलाई स्टन्टको रुपमा संसदमा उल्लेख गरेको भन्दै आपत्ति जनाएका हुन् ।

‘अन्तर्राष्ट्रिय संगीत दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँको निवास बालकोटमा भएको कार्यक्रमलाई असान्दर्भिक रुपमा जसरी राजनीतिकरण गर्ने दुष्प्रयास गरिएको छ, त्यो अत्यन्तै निन्दनीय छ,’ चौधरीले भनेका छन्, ‘संसद्को रोष्टमलाई कसैको कुण्ठा व्यक्त गर्ने र गलत नियतले अरुमाथि प्रहार गर्ने थलो नबनाउन पनि आग्रह गर्दछु ।’

असार ७ गते संगीत दिवसको दिन चौधरीले बालकोट पुगेर गीत गाएको भिडियो सार्वजनिक भएको थियो ।

तर, आइतबार लामिछानेले सरकार बनेपछि चौधरी बालकोट पुगेको भन्दै ढाटेका छन् । किनकी कांग्रेस र एमालेबीच सरकार बनाउनेबारे असार १५ गतेपछि घनीभूत छलफल भएको र १७ गते मध्यरातमा सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

लामिछानेले भने सरकार सुरु हुने बित्तिकै चौधरी बालकोट पुगेको उल्लेख गरेका थिए।

चौधरीले यसो भने:

प्रतिनिधिसभाको बैठकमा एक जना माननीयले मप्रति लक्षित गरेर जनतालाई दिग्भ्रमित पार्ने नियतले तथ्यहीन, अत्यन्तै नियोजित र कुण्ठापुर्ण अभिव्यक्ती दिएका छन् ।

जसकाप्रति मेरो घोर आपत्ति छ । विवादित विगत र वर्तमान भएको र अहिले पनि राज्यको छानबिनको घेरामा रहेको व्यक्तिले जसरी संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरु केही होइन ।

विगतमा सत्ताको चरम दुरुपयोग गरेर प्रहरी प्रशासनलाई चर्को दवाव दिएर ममाथि जुन प्रतिसोध साध्न खोजिएको थियो, हिजोको उनको अभिव्यक्ति त्यही स्टन्टको मानसिकताको निरन्तरता मात्रै हो ।

अन्तर्राष्ट्रिय संगीत दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँको निवास बालकोटमा भएको कार्यक्रमलाई असान्दर्भिक रुपमा जसरी राजनीतिकरण गर्ने दुष्प्रयास गरिएको छ, त्यो अत्यन्तै निन्दनीय छ । संसद्को रोष्टमलाई कसैको कुण्ठा व्यक्त गर्ने र गलत नियतले अरुमाथि प्रहार गर्ने थलो नबनाउन पनि आग्रह गर्दछु ।


क्लिकमान्डु