ओलीको चाैथो सत्तारोहण र बोइलिङ फ्रग एक्सपेरिमेन्ट

सांसदमा ओलीले आफ्नो शैली छोडेनन्, आक्रामक पनि भएनन्



काठमाडौं । यतिखेर २१औं शताब्दीको एक चौथाई बितिसकेको छ । तर, नेपाल अझै १९औं शताब्दीमा नै बाँचिरहेको छ ।

१९औं शताब्दीमा वैज्ञानिकहरुले भ्यागुतोमाथि एउटा अनुसन्धान गरे । धेरैले यसलाई अनुसन्धान नै मान्दछन् तर केहिले मिथक पनि भन्दछन् ।

खैर, अनुसन्धान वा मिथक जे माने पनि यसको सार यस्तो छ ।

१९औं शताब्दीमा केही अनुसन्धानकर्मीले उमालेको पानीको भाँडामा एउटा भ्यागुता हाले । भ्यागुतोले पानीको तातो सहन सकेन, तुरुन्तै बाहिर हामफाल्यो ।

तर, यसको विपरित जब अन्वेषकहरूले चिसो पानीको भाँडोमा भ्यागुता राखे । र भाँडोलाई विस्तारै तताउँदै गए । पानीको तापक्रम अचानक नबढेका कारण भ्यागुतो पनि बसिरह्यो ।

पानी तात्दै गयो, भ्यागुतोको शरीरले स्वतः पानीको तापक्रमअनुसार आफनो तापक्रम मिलाउँदै गयो । भ्यागुताले पानीको बढेको तापक्रम महसुस गरेन । किनकि, मानिन्छ, भ्यागुताको शरीरले तापक्रमअनुसार आफूलाई समायोजन गर्न सक्छ ।

तर, एउटा यस्तो समय आयो । जब भ्यागुतोको शरीरले पानीको बढेको तापक्रम समायोजन गर्न नसक्ने गरि पानी उम्लिन थाल्यो । यसबेला यति ढिलो भैसकेको थियो कि भ्यागुतो बाहिर हामफाल्नै सकेन र अन्ततः भ्यागुतोको तातो पानीमा मृत्यु भयो । यसलाई बोइलिङ फ्रग एक्सपेरिमेन्ट अर्थात् भ्यागुतो उमाल्ने प्रयोग भन्ने गरिन्छ ।

धेरैले यसलाई अनुसन्धान नै मानेका छन् भने केहीले यसलाई मिथक पनि भन्छन् । तर, भ्यागुतो उमाल्ने अनुसन्धान मिथक नै भए पनि यसमा मानवीय मनोविज्ञान जोडिन्छ ।

जसरी, भ्यागुताले धेरै ढिलो नभएसम्म तापमानमा क्रमिक वृद्धि भएको र आफू मृत्युको मुखमा पुगेको पत्ता लगाउन सक्दैन, त्यसैगरि, सर्वसाधारण मानिसहरू पनि राजनीतिक दल तथा तिनका नेताको वरिपरि प्रायः अन्धविश्वासका साथ यसरी लाग्छन् कि उनीहरूलाई आफुमाथि आउँदै गरेको संकटको महसुस नै गर्न सक्दैनन् ।

त्यसैले बोइलिंग फ्रग एक्सपेरिमेन्टलाई राजनीति अनि अर्थशास्त्रमा पनि एउटा उदाहरण मानिन्छ । विस्तारै भएका परिवर्तन राम्रो वा नराम्रो के का लागि भएको हो भन्ने बारे अधिकांश सर्वसाधारणले बुझ्न समय लाग्छ, र धेरै ढिलामात्र बुझ्न सक्छन् ।

तर, ढिला भएपछि त्यो बुझाईको कुनै अर्थ रहन्न ।

यसले सामान्य मानव मनोविज्ञानलाई पनि चित्रण गर्दछ । हामी ती चीजहरू स्वीकार गर्छौं जुन हामीमा विस्तारै तर स्थिर रूपमा आइपुग्छन् । तिनीहरूले हाम्रो जीवनलाई नियन्त्रणमा राखिसक्दा पनि हामीलाई त्यसले हाम्रो जीवनमा पार्ने नकारात्मक असरका बारेमा अनभिज्ञ नै रहन्छौं ।

तर हामी जब बुझ्छौं, आफूलाई उमालेको पानीमा भेट्टाउँछौं, र केहि गर्न सक्ने अवस्थामा रहन्नौं ।

नेपालका राजनीतिक दलहरुले पनि नेपालीमाथि बोइलिङ फ्रग एक्सपेरिमेन्ट (भ्यागुतो उमाल्ने प्रयोग) गरिरहेका छन् । पुराना राजनीतिक दलमात्र होइन, नयाँ भनिने राजनीतिक दल त झन् सुरुवातदेखि नै नेपाली समाजमाथि खतरनाक प्रयोग गरिरहेछन् ।

भोलि कुनै पनि बेला एउटा स्वच्छ छविको नेता देश परिवर्तन गर्ने आँट बोकेर आएछ भने पुराना राजनीतिक दल त सबैलाई तह लगाउन सक्छ । तर, नेपालीको भविष्यको लागि नयाँ भनिने राजनीतिक दल र तिनको नेपाली समाजमाथिको प्रयोग बढी खतरनाक छ ।

चर्को स्वरले घोक्रो फुटाएर पटक पटक झुट बोलेपछि झुट पनि सत्य हुन्छ भन्ने गोयबल्स सिद्धान्त तथा आफू र आफ्ना वरिपरिका कानुनभन्दा माथि रहेको हिटलरी दम्भ र लोकप्रियतावादले नयाँ राजनीतिक दल नेपाली समाजमाथि जुन खतरनाक प्रयोग गर्दैछ, आइतबार संसद्मा प्रधानमन्त्री ओली सायद त्यसैमा बढी केन्द्रित भए ।

हुनत ओली कमी कमजोरी नभएका नेता होइनन् । उनले अघिल्लो पटक आफू सत्ताच्युत हुन परेपछि संसद् विघटन गर्नेसम्मको दुस्साहास गरेका हुन् । इतिहासकै सबैभन्दा शक्तिशाली करिब दुई तिहाइको सरकारको नेतृत्व गरेका ओलीले अर्थतन्त्रमा पनि कुनै चमत्कार गरेका होइनन् । अझ साँच्चै भन्ने हो भने सार्वजनिक वित्तमा विकृतीको सुरुवात गरेको दोष उनीमाथि छ ।

ओलीकै प्रधानमन्त्रीत्वकालमा २०७४ सालदेखि सरकारले अन्धाधुन्धा ऋण लिने र अनुत्पादक क्षेत्रमा खर्च गर्ने कुप्रथा सुरु भएको थियो । ओलीको ४३ महिने कार्यकालमा नेपालीको सार्वजनिक ऋण २५० प्रतिशत (अढाइ गुणा)ले बढेको थियो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा ६ खर्ब ९७ अर्ब ६९ करोड रुपैयाँ बराबर रहेको राष्ट्रिय ऋण ओली कार्यकालको अन्तिमतिर १६ खर्ब पुगेको थियो । अहिले सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नाघिसकेको छ ।

आज नेपाललाई ऋण तिर्न ऋणै लिनु पर्ने अवस्था हिजो ओलीको प्रधानमन्त्रीत्व कालकै नतिजा हो ।

त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (साउन ६) गते आफनै पूर्व कमरेडहरु नेकपा माओवादी केन्द्र र नेकपा एस तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतकाको विश्वासको मत पाएनन् ।

जम्मा २६३ सांसद उपस्थित सभामा उनको पक्षमा १८८ मत थियो भने विपक्षमा ७४ मत मात्र परेको थियो । असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीलाई एकजनाले दिन्न भन्ने पक्षमा पनि मत हाले ।

तर, चौथो पटक प्रधानमन्त्री बनेका ओलीले विश्वासको मत माग्ने क्रममा आफ्नो शैली नछोडेपनि धेरै संयमितरुपमा प्रस्तुत भएका थिए ।

नयाँ राजनीतिक दललाई लक्षित गर्दै उनले आफनो शैलीअनुरुप कहिले नेल्सन मण्डेलको त कहिले ‘बाजे र नाती’को प्रसंग सुनाए । तर आक्रामक भएनन् ।

नयाँ दाबी गर्दै आएका राजनीतिक दलले पुराना राजनीतिक दललाई भ्रष्टाचारी तथा देश विगारेको आरोप लगाउँदै नेपालीमाथि अर्को बोइलिङ फ्रग एक्सपेरिमेन्ट गरिरहेको पुराना राजनीतिका घाग ओलीले नबुझ्ने कुरै भएन ।

त्यसैले ओलीले यसपटक आफ्ना चिर परिचित प्रतिद्वन्द्वि नेकपा माओवादी केन्द्र तथा यसका सुप्रिमो प्रचण्डमाथि भन्दा पनि नयाँ दललाई बढी शब्द खर्च गरे ।

असार १७ गते सोमबार मध्यराती नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र आफूबीच संविधान संशोधनसहितका विषयमा भएको सम्झौता वाचन गर्दै ओलीले नेपाल राजनीतिको नयाँ चरणमा प्रवेश गरेको दावी गरे । उनले भने, ‘यो नेपालको राजनीतिमा नयाँ चरण हो ।

‘अ न्यू च्याप्टर इन नेपाली पोलिटिक्स ।’

तर, उनले आफ्ना भनाइ सिद्ध गर्न बाँकी छ । धेरैलाई अझै पनि लागेको छ, मध्यरातमै वृद्ध नेताहरुले हतार हतार नयाँ गठबन्धनको सहमति किन गर्नु पर्यो ? एक रात रोक्नै नसक्ने के त्यस्तो बाध्यता थियो नेताहरुलाई ?

दुई ठूला दलबीच केहि महिनाअघि देखि नै छलफल चलिरहेको भएपनि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गर्नु पर्ने बाध्यताको बारेमा राजनीतिक वृत्तमा धेरै चर्चा परिचर्चाले अझै केहि समय बजारमा तरंगित हुन्छ नै ।

घटनाक्रम अनुसार, एमालेवृत्तमा यस्तो पनि चर्चा छ ।

असार ११ गते राती उपमहासचिव विष्णु रिमालको नेतृत्वमा नेकपा एमालेका २९ नेताहरू १० दिनको चीन भ्रमणमा गए ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणमा एमाले नेताहरू चीन गएका हुन् । भ्रमणको क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको उच्च तहसँग भेटवार्ता भयो ।

त्यसअघि नेकपा माओवादीका नेताहरू पनि चीन भ्रमणमा गएका थिए । चीन गएको टोली त्यहाँको विकासमा चिनियाँ सरकारले गरेको प्रगतिको अध्ययन गरेर फर्केको जनाएको थियो ।

अझ त्यसअघि पनि चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा महासचिव शंकर पोखरेलको नेतृत्वमा एमालेका नेताहरु चीन गएका थिए ।

यो तारान्तरको भ्रमणमा चीन नेपालमा फेरि एकीकृत नेकपा बनाउने मिसनमा थियो । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालको नेतृत्वमा गएको नेकपा एमालेको टालीलाई चीनले एकीकृत नेकपाको एउटा रोडम्याप नै प्रस्तुत गर्यो ।

पूर्व राष्ट्रपति विद्या देवी भण्डारीको नेतृत्व ओली, माधव नेपाल तथा प्रचण्ड सबैलाई स्वीकार्य हुने हुनाले भण्डारीको अध्यक्षतामा एकीकृत नेकपा बनाउने ।

जब त्यो खबर ओलीलाई चीनबाट सुनाइयो । ओलीले चीन गएको टोली नफर्किँदै असार १७ गते मध्यराती नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग नयाँ गठबन्धन बनाउन सम्झौता गरे ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको कन्फिडेन्सको कारण पनि चीनको एकीकृत नेकपा ब्युँताउने योजना थियो । यता दक्षिण आफूसँग कम्फर्टेबल नै थियो भने उता उत्तरले एकीकृत नेकपा ब्युउँताउन मद्दत गर्दै थियो । त्यसैले दाहाल ढुक्क थिए । तर, ओलीलाई विद्या भण्डारीको नेतृत्वको एकीकृत नेकपामात्र होइन प्रचण्ड र माधव नेपाल पनि स्विकार्य थिएन ।

यसले पूर्व राष्ट्रपति विद्या देवी भण्डारीको र ओलीको सम्बन्ध बिग्रेन त ? नेकपा एमालेका एक नेता पूर्व राष्ट्रपति विद्या देवी भण्डारीको र ओलीको सम्बन्ध नबिग्रेको दाबी गर्छन् ।

तर राजनीतिमा सम्बन्धभन्दा सत्ता ठूलो हुन्छ । जे होस् चौथो पटक ओली संसदमा फेरि करिब दुई तिहाइको बहुमतसहित प्रधानमन्त्री बन्दै गर्दा नेपाली नागरिकमाथि एकपटक फेरि बोइलिङ फ्रग एक्सपेरिमेन्ट नै भएको हो वा ओली सुध्रिएका हुन् ।

थाहा पाउन धेरै कुर्न पर्दैन ।


कुबेर चालिसे