सरकारको ऋण एकै वर्ष १ खर्ब ३४ अर्ब थपियो, ३ खर्ब तिर्दासमेत २४ खर्ब ३३ अर्ब नाघ्यो



काठमाडौं । सरकारको सार्वजनिक ऋण गत आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँले थपिएको छ ।सरकारले गत वर्ष ऋणको साँवा र ब्याज गरेर ३ खर्ब रुपैयाँ तिर्दासमेत ऋणको दायित्व २४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा सरकारको ऋण २२ खर्ब ९९ अर्ब रुपैयाँ थियो ।

गत आर्थिक वर्ष २०८०/८१ मा यस्तो ऋणमा सरकारले आन्तरिक र बाह्य गरी कुल ३ खर्ब ५८ अर्ब रुपैयाँ उठाएको थियो । यस्तो ऋणमा २ खर्ब ३४ अर्ब आन्तरिक ऋण र १ खर्ब २३ अर्ब बाह्य ऋण रहेको छ ।

सरकारले लिएको यस्तो ऋणमा आन्तरिकको लागि मात्रै २ खर्ब ५५ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । यस्तो ऋण भुक्तानीमा १ खर्ब ८२ अर्ब साँवा र ७२ अर्ब रुपैयाँ ब्याज भुक्तानी गरेको छ ।

सरकारले गत वर्ष भुक्तानी गरेको बाह्य ऋणमा पनि ४९ अर्ब ९८ करोड रुपैयाँ भुक्तानी गरेको छ । वैदेशिक ऋण वापातको यस्तो भुक्तानीमा साँवातर्फ ४० अर्ब रुपैयाँ र ब्याजवापत ९ अर्ब रुपैयाँ ब्याज भुक्तानी भएको पनि तथ्यांकले देखाएको छ ।

सरकारले लिएको अहिलेसम्मको ऋण कुल ग्राहस्थ्य उत्पादन (जीडीपी)का ४२.६५ प्रतिशत पुगेको छ । यो ऋण रकममा आन्तरिक ऋण जीडीपीको २०.४७ र बाह्य ऋण २१.९५ प्रतिशत पुगेको छ ।

सरकारले गत वर्ष सार्वजनिक ऋण भुक्तानी गर्न मात्रै ३ खर्ब ३० अर्ब रुपैयाँ बार्षिक वजेट विनियोजन गरेको थियो । यस्तो रकमबाट सरकारले ३ खर्ब ५ अर्ब रुपैयाँ ऋण तिर्नमै खर्च गरेको छ ।

सरकारले विकास खर्च लक्ष्य अनुसार गर्न नसक्ने भएपनि बार्षिक बजेट विनियोजन गरेकै हाराहारीमा ऋणको रकम भने तिरेको छ । सरकारले गत वर्ष लिएको ऋण जीडीपीको ५.३५ प्रतिशत हो ।

सरकारको यस्तो ऋणलाई २०७८ को २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्या अनुसार प्रति नेपालीको थाप्लोमा ८३ हजार ४३१ रुपैयाँ ऋण पर्छ ।


क्लिकमान्डु