प्रशोधित भैंसीको मासु चीन निकासी गर्ने बाटो खुल्दै, कहिलेदेखि होला निर्यात ?



काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनमा कुक्ड बफेलो मिट (प्रशोधित भैंसीको मासु) निर्यात गर्ने सम्बन्धी सम्झौतापत्रलाई सरकारले स्वीकृति दिएको छ ।

असार २० गते बसेको मन्त्रिपरिषद् बैठकले चीनमा कुक्ड बफेलो मिट निर्यात गर्ने सम्बन्धमा नेपाल सहमत रहेको विषयसहित तयार पारिएको सम्झौतापत्र स्वीकृत गरेपछि निर्यात गर्ने बाटो खुला भएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता डा. तपेन्द्र बोहराका अनुसार कुक्ड बफेलो मिट निर्यात गर्ने विषयमा दुई मुलुकबीच हुनुपर्ने सम्झौताका लागि तयार पारिएको ‘सम्झौता पत्र’ मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि चीनमा प्रशोधित भैंसीको मासु निर्यात गर्ने बाटो खुला हुने भएको हो ।

मन्त्रिपरिषद्‍बाट स्वीकृत भएको उक्त सम्झौतापत्र नेपाल पक्षले चीनलाई पठाइसकेको छ । उक्त सम्झौतापत्रअनुसार चीन सरकारले तोक्ने मितिमा नेपाल र चीनबीच निर्यातसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर हुने कार्यतालिका रहेको बोहराले क्लिकमाण्डुलाई जानकारी दिए ।

‘सम्झौतापत्र तयार भएर मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भइसकेको छ,’ क्लिकमान्डुसँग बोहराले भने, ‘स्वीकृत भएको सम्झौतापत्र प्रस्तावको रुपमा कुटनीतिक च्यानलबाट चीनको सरोकारवाला निकायमा पठाइसकेका छौं । चीनले प्रस्ताव गरेको मितिसहितको जवाफ कुटनीतिक च्यानलमार्फत प्राप्त हुनासाथ औपचारिक रुपमा द्विपक्षीय सम्झौता हुनेछ ।’

यो सम्झौता हुने वित्तिकै नेपालबाट तताएर प्रशोधन गरिएको भैंसीको मासु औपचारिक रुपमा चीनमा निर्यात गर्ने बाटो खुल्नेछ ।

गत असोज ६ देखि १३ गतेसम्म चीनको भ्रमण गरेका निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीन सरकार प्रमुखले संयुक्त रुपमा जारी गरेको नेपाल–चीन संयुक्त विज्ञप्तिमा ‘कुक्ड बफेलो मिट’ चीन निर्यात गर्ने विषयमा सहमति भएको थियो ।

उक्त विषयलाई कार्यान्वयन तहमा लैजान मन्त्रालयले आवश्यक तयारी गरि सहमति भएको ९ महिनापछि सम्झौतापत्र तयार पारेर चीन पठाएको हो ।

सहमतिपश्चात चीनको जनरल एडमिनिष्ट्रेशन अफ कस्टमले नेपाललाई १५० पृष्ठको जोखिम विश्लेषण (रिस्क एनालाइसिस एसेसमेन्ट) सम्बन्धी कागजात पठाएको थियो ।

यो कागजातको आधारमा कृषि मन्त्रालयले आवश्यक सम्पूर्ण तयारी सम्पन्न गरी तत्कालीन समयमा परराष्ट्र मन्त्रालयमार्फत चीनलाई जवाफ पठाएको थियो ।

तर, चाइना भन्सारको सामान्य प्रशासन (जीएसीसी) ले मासुसहित १८ खाद्य वस्तुको आयातको बारेमा कडा नियम बनाएको छ । जीएसीसीले मासु आयातसम्बन्धी तयार पारेको सम्पूर्ण मापदण्ड नेपाली पक्षले पालना गरेको खण्डमा मात्रै नेपालबाट कुक्ड बफेलो मिट निर्यात हुन सक्छ ।

मासु आयातका लागि चीनले १५ पृष्ठको मापदण्ड उल्लेख गरी नेपाललाई पालना गर्नुपर्ने भनेर पठाएको छ । जसमा भैंसी सम्पूर्ण रुपले रोगमुक्त हुनुपर्ने, नेपालको आफ्नै उत्पादन हुनुपर्ने, खाद्य, स्वच्छता, फाइटो स्यानेटरीलगायतका हिसावले उत्कृष्ठ हुनुपर्ने, ३० महिना मुनिको भैंसी हुनुपर्ने, बध गर्दा सरकारले तोकेको मापदण्डभित्र हुनुपर्नेलगायतका मापदण्ड तोकेर चीनले नेपाललाई पत्राचार गरेको छ ।

चीनले मासु आयात गर्न तयार भए निश्चित पकेट क्षेत्र निर्धारण गरी मासु उत्पादन गरेर त्यसलाई निर्यात सकिने कुरा उल्लेखसमेत पत्रमा गरिएको मन्त्रालयले जनाएको छ । मधेश प्रदेश, बागमती प्रदेश र लुम्बनी प्रदेशका केही जिल्लालाई भैँसीको मासुका लागि पकेट क्षेत्र निर्धारण गरेर चीनलाई मासु निर्यात गर्न सकिने कुराको सुनिश्चितता गरेर पत्र चीन पठाइएको छ ।

‘सम्झौता भएपछि बल्ल नेपालबाट चीनमा भैंसीको मासु निर्यात गर्न औपचारिक बाटो खुल्नेछ,’ बोहराले भने, ‘चीनमा बफेलो मासु निर्यात गर्ने विषय हाम्रो लागि ठूलो अवसर पनि हो । यो बाटो खुलेमा केही हदसम्म कृषिजन्य वस्तुको आयातका कारण हुने व्यापार घाटा पनि कम गर्न सकिने हाम्रो बुझाई छ ।’

पछिल्ला वर्षहरुमा चीनसँग ब्यापार घाटा निरन्तर बढेको छ ।

मन्त्रालयका अनुसार चीनबाट मासुका लागि आउने मागअनुसार नेपालका व्यवसायी निर्यात गर्न तयारी अवस्थामा बसेका छन् । मुख्यगरी बाराको बफेलो मिट उद्योगले चीनको मागअनुसार तयारी मासु निर्यात गर्न इच्छा जनाइरहेका छन् । यस उद्योगले हाल भियतनाम र थाइल्यान्डमा बफेलो मिट निर्यात गर्दै आएको छ ।

मन्त्रालयका अनुसार नेपालमा खोरेत रोगको संक्रमण भएकाले चीनले काँचोभन्दा पनि प्रशोधित मासु लिन खोजेको छ ।

‘नेपालमा अहिलेसम्म अन्तरराष्ट्रियस्तरको वधशाला र भैंसीराँगाको फार्म छैन,’ मन्त्रालयका एक अधिकारीले भने, ‘रोगमुक्त मासु निर्यातका लागि ७० डिग्री तापक्रममा तताएर पठाउनुपर्ने हुन्छ यसका लागि आवश्यक पूर्वाधार हुनु जरुरी छ ।’

यस्ता पूर्वाधारसहितको कारखाना सञ्चालन गर्न कम्तिमा ४ अर्ब रुपैयाँबराबरको लगानी गर्नुपर्ने मन्त्रालयका अधिकारीको भनाइ छ ।

चीनमा अहिले पनि भियतनाम हुँदै अनौपचारिक रुपमा नेपाली भैंसीको काँचो मासु निर्यात हुँदै आएको छ । तर यो मासु नेपालको भनेर जाँदैन । मासु निर्यातका लागि स्वच्छताको प्रमाण चाहिन्छ । नेपालका गाईभैंसीमा खोरेत निर्मूल भइसकेको छैन । त्यसैले भियतनाम पठाइएको मासुलाई पुनः त्यहाँ ब्राण्डिङ गरेर चीन पठाइन्छ ।

नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रअन्तर्गत धानपछिको सबैभन्दा बढी भैंसीको योगदान छ ।

चीनले भारत र भियतनामबाट ठूलो परिमाणमा भैंसीको मासु खरिद गर्दैआएको छ । विश्वभर उत्पादन हुने भैंसीको कूल मासुको परिमाणमध्ये झण्डै ४३ प्रतिशत भारतमा उत्पादन हुन्छ ।

सहज छैन निर्यात

चीनमा भैंसीको मासु निर्यात गर्ने सरकारले तयारी गरे पनि सोचेजस्तो सहज भने छैन । नेपालका अधिकांश गाई भैंसी कुनै न कुनै रोगबाट प्रभावित छन् । पछिल्लो समयमा लम्पी स्किन रोग र खोरेत रोगजस्ता महामारीले नेपालका गाईभैसी निक्कै प्रभावित भएका छन् ।

लम्पी स्किन महामारीबाट अहिलेसम्म २७ अर्ब २२ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भइसकेको अनुमान छ । कोशी प्रदेशको मोरङस्थित सुन्दरहरैचा नगरपालिकाबाट सुरु भएको यो रोग अहिले ७७ वटै जिल्लामा फैलिएको थियो । यो रोगबाट संक्रमित भएका ५२ हजार ५ सय ४८ वटा पशु मरेका छन् । यस्तै करिब ३० भन्दा बढि जिल्लामा खोरेत रोग पनि फैलिएको थियो ।

महामारी फैलिएको अवस्थामा चीनले पठाएको मापदण्डअनुसार नेपालले सहज रुपमा भैंसी पालन गर्नु र स्वच्छ रुपमा मासु उत्पादन गर्नु ठूलो चुनौती छ । अर्कोतर्फ स्वदेशी माग पुरा गरेर चीनमा निर्यात गर्नुपर्ने अवस्था छ । स्वदेशी माग नै पुरा गर्न नसकेको अवस्थामा चीनमा निर्यात गर्नु भनेको अर्को चुनौती हो ।

नेपालमा हालसम्म अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको मापदण्डको बधशालासमेत छैनन् । यसको अभावमा चीनको मापदण्डलाई पालन गरी मासु उत्पादन गर्नु आफैमा एउटा ठूलो चुनौती हो । यसबाहेक चीनले भनेको ‘थर्मली प्रोसेस्ड कुक्ड बफेलो मिट’ उत्पादन गर्ने हालसम्म नेपालमा एउटा पनि उद्योग छैन ।

अन्तर्राष्ट्रिय मापदण्डअन्तर्गत रहेर हालसम्म नेपालमा यस्तो उद्योग सञ्चालनमा आएको छैन । यस्तो एउटा उद्योग सञ्चालन गर्न कम्तिमा ४ अर्बभन्दा बढि लगानी आवश्यक रहेको मन्त्रालय अधिकारीहरु बताउँछन् ।

कति छ नेपालमा भैंसी मासुको उत्पादन ?

कृषि गणना २०७८ अनुसार नेपालमा राँगाभैसीको संख्या २९ लाख २३ हजार छ । यो संख्या घट्दो हो । २०६८ साल तिर राँगाभैसीको संख्या ३१ लाख ७४ हजार थियो । नेपालमा बार्षिक १ लाख १६ हजार ५ सय ३ मेट्रिक टन भैंसीको मासु उत्पादन हुँदै आएको छ ।

मध्यपहाडी क्षेत्रका साथै मधेस प्रदेशसहित नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा व्यावसायिक भैंसीपालन भइरहेको मन्त्रालयले जनाएको छ ।

बाँकेमा सबैभन्दा बढि परिमाणमा भैसीको मासु उत्पादन हुन्छ । मन्त्रालयको तथ्याँकअनुसार बाँकेमा ७ हजार ५ सय ९७ मेट्रिक टन, सप्तरीमा ७ हजार १ सय ५९, रुपन्देहीमा ६ हजार ४ सय १९, कैलालीमा ६ हजार २ सय ४३, बारामा ६ हजार २ सय ३, सुनसरीमा ६ हजार १ सय १७, कपिलवस्तुमा ५ हजार ८ सय १०, काभ्रेमा ५ हजार ७ सय ७५, दाङ्गमा ५ हजार ६ सय ७५, कञ्चनपुरमा ४ हजार ४ सय ४३, मकवानपुरमा ४ हजार २ सय ८६ र मोरङ्गमा ४ हजार ५७ मेट्रिक टन भैंसीको मासु उत्पादन हुँदै आएको छ ।

चीनले कति गर्छ मासुको खपत ?

चीन मासु खपत गर्ने विश्वको सबैभन्दा ठूलो मुलुक हो । विश्वभर खपत हुने मासुमध्ये ३० प्रतिशत चीनले एक्लै खपत गर्दै आएको छ । चीनको कूल जनसंख्यामध्ये झण्डै ५७ प्रतिशत जनसंख्याले मासु उपभोग गर्दैआएका छन् ।

चीनमा प्रति व्यक्ति प्रति बर्ष ४५.१ किलो मासु उपभोग गर्छन् । आगामी सन् २०२९ सम्ममा चीनले प्रति व्यक्ति प्रति बर्ष मासुको उपभोग दर ५२.८४ किलो पुर्याउने लक्ष्य राखेको छ ।

चीनले बार्षिक रुपमा ६ लाख ५६ हजार ४ सय ३० टनको हाराहारीमा बफ मासु आफै उत्पादन गर्छ । त्यसभन्दा बढि अपुग आयात गर्ने गर्दछ ।

चीनमा सबैभन्दा बढि पोर्कको मासु रुचाइन्छ । चीनमा खपत हुने कूल मासुको परिमाणमध्ये झण्डै ६० प्रतिशत पोर्कको मासु खपत हुन्छ । तर विभिन्न प्रकारका रोगका कारण पछिल्लो समयमा पोर्कको मासुको खपत दर घट्दो छ ।

विश्वभर खपत हुने पोर्कको मासुमध्ये झण्डै ५० प्रतिशत चीनले मात्रै खपत गर्छ । जसअनुसार ५ करोड ७० लाख टन पोर्कको मासु चीनले खपत गर्छ ।

पोर्कपछि चिनियाँहरुले अत्यधिक रुचाउने कुखुराको मासु हो । चीनमा बर्षेनी कुखुराको मासु खाने जनसंख्याको बृद्धिदर ७ प्रतिशत छ । चीनमा बार्षिक करिब २ करोड ५० लाख टन कुखुराको मासु खपत हुन्छ ।

चीनको धनी वर्गले भने गाईको मासु अत्यधिक खपत गर्दैआएका छन् । चीनमा बार्षिक ९० लाख टनभन्दा बढि गाईको मासु खपत हुँदै आएको छ । वार्षिकरुपमा गाईको मासु सेवन गर्ने चिनीयाँ उपभोगकर्ताको संख्या ४ प्रतिशतले बढ्दै गएको छ ।

चीनको कूल मासु उपभोगकर्तामध्ये ८० प्रतिशत उपभोगकर्ता अप्रत्यक्ष रुपमा मासु खरिद गर्दैैआएका छन् । चिनियाँ बासिन्दाहरु घरायसी प्रयोजनका लागि काँचो मासु बढि खरिद गर्छन् ।


राजेश बर्मा