पोखरामा चैते धान खेती गर्ने किसानलाई अनुदान



गण्डकी । चैते धान खेतीमा कृषक आकर्षित गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले आठ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराएको छ ।

महानगरपालिकाले वडा नं १४, १५, २६ र २७ मा चैते धान प्रोत्साहन कार्यक्रमअन्तर्गत कृषकलाई प्रतिरोपनी नौ सयका दरले अनुदान उपलब्ध गराएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

उनका अनुसार महानगरपालिकाको वडा नं १४ र १५ मा एक सय रोपनी क्षेत्रफलमा चैते धान गरेबापत् ९० हजार रुपैयाँ उपलब्ध गराइएको छ । त्यस्तै वडा नं २६ र २७ मा दुई सय २६ कृषकलाई ६ लाख ८१ हजार तीन सय अनुदान उपलब्ध गराइएको छ ।

उक्त स्थानमा महानगरपालिकाले ५० प्रतिशत अनुदानमा चैते–५ जातको धानको बीउ उपलब्ध गराएको थियो । महानगरपालिकाले आर्थिक वर्ष २०८०र०८१ को कार्यक्रमअन्तर्गत महानगरभित्र कृषि क्षेत्रमा सक्रिय १५ संघसंस्थालाई पाँच/पाँच हजार नगदसहित सम्मान गरेको छ ।

अनुदान रकम हस्तान्तरण एवं कृषक सम्मान कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषि उत्पादनलाई जोड दिँदै महानगरपालिकाले तरकारी, फलफूल र पशुपालनमा सहयोग गर्दै आएको बताए । कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गर्न उत्पादनलाई जोड दिनुपर्ने उनको भनाइ छ ।


क्लिकमान्डु