जगन्नाथ मन्दिरको रहस्यमय रत्नभण्डार: १३ हजार तोला सुन र २२ हजार तोला चाँदीको बाकस खोलिँदै
भारतकै सबैभन्दा धनी मन्दिर मानिएको जगन्नाथ मन्दिरको रत्नभण्डार पछिल्लो पटक खोल्दा १२ हजार तोलाभन्दा धेरै सुन र २२ हजार तोलाभन्दा धेरै चाँदी सहित थुप्रै हिरा र अन्य बहुमूल्य आभूषणको तथ्यांक राखिएको थियो । ४६ वर्षपछि अहिले फेरि मन्दिरको भण्डार खोल्ने क्रममा चाबी नै हरायो । रहस्यमय भण्डारको रोचक कहानी ।
भारतको विश्वप्रसिद्ध हिन्दु धार्मिक अनुष्ठान जगन्नाथ मन्दिरको रत्न भण्डार ४६ वर्षपछि खोलिएको छ । १२औं शताब्दिको यो मन्दिरको भण्डारगृह मर्मतका लागि खोलिएको हो । जहाँ रहेको अथाह रत्न तथा आभूषणको विषयलाई लिएर बेलाबेला चर्चा र चासो हुने गरेको छ ।
ओडिसामा रहेको यो मन्दिरको रत्न भण्डार यति ठूलो छ कि मानिसहरुले यहाँ गरगहना कति छ भनेर अनुमान नै गर्न मुस्किल छ । यसअघि १९७८ मा यस मन्दिरको भण्डार खोल्दा त्यहाँ जम्मा ७ सय ४७ प्रकारका आभूषण थिए । जसमा १२ हजार ८ सय ३८ तोला सुनका गहना र २२ हजार १ सय ५३ तोला चाँदी संकलन गरिएको थियो । यसवाहेक केही हिरालगायतका वहुमूल्य धातुका गहना पनि भण्डार खोल्ने क्रममा भेटिएको थियो । त्यसबेला यो सम्पत्ति गणना गर्न १९७८ को जुलाइ २३देखि पूरा ७० दिन लागेको थियो ।
यसपटक भने मन्दिरमा उच्च अदालतका पूर्वन्यायाधीश, मन्दिर प्रशासनका मुख्य प्रशासक, भारतीय पूरातत्व सर्वेक्षणका अधिकारीहरु र सुरक्षाकर्मी टोलीसहित भण्डार खोलिएको छ । राज्य सरकारले गठन गरेको समितिले उक्त भण्डार खोलेको थियो । तर त्यहाँका गहनाको तथ्यांक लिन धेरै समय लाग्ने भएकाले र सुरक्षाका लागि सीसी टीभी जडान लगायतका कारण गणना सुरु गरिएको छैन ।
यससँगै ती गहना तथा आभूषणहरुको मूल्यांकनका लागि विज्ञ समूह पनि नियुक्त गरिँदैछ । मन्दिर प्रशासनका अनुसार भण्डारमा रहेका ठूला ६ वटा बाकसलाई अन्यत्र सारिएको छ । र भण्डारको संरचना मर्मत गरिसकेपछि गहना तथा आभूषणहरुको सूची तयार पारिने बताइएको छ ।
जब चाबी नै खुलेन
मन्दिर प्रशासनका अनुसार सोमबार टोली मन्दिरभित्र प्रवेश गरेको थियो । भण्डारका दुई कक्ष छन् । एउटा बाहिर र अर्को आन्तरिक । तर बाहिरी कक्षको चाबी नै ३ वटा थिए । र ती चाबी तीन मुख्य अधिकारीहरुको साथमा थियो । तर आन्तरिक कक्षको चाबी भने हराएको छ । यसपटक भण्डारको सम्पत्ति गणना गर्नुअघि धेरै प्रक्रियाहरु पार गर्नुपर्ने छ । त्यसो त यो पूरा गणनाको लागि लामो समय लाग्ने बताइएको छ ।
मन्दिर प्रशासनका अनुसार मन्दिरको आन्तरिक कक्ष खोल्न खोज्दा चाबी नै नखुलेपछि प्रशासनले ताला फोरेको थियो । भित्री कक्षमा वहुमूल्य रत्नहरु राखिन्छ भने बाहिर रथयात्रा र महत्त्वपूर्ण अवसरमा प्रयोग गरिने गहना मात्रै राखिन्छ । अब भित्री कक्षका गहनाहरु स्थानान्तर गरेपछि मात्रै भण्डार कक्षको मर्मत गर्ने बताइएको छ ।
सन् १९७८ मा सम्पत्ति गणना गरेपछि १९८२ र १९८५ मा भण्डार फेरि खोलिएको थियो । तर सम्पत्ति गणना गर्नका लागि थिएन । त्यसबेला जगन्नाथ मन्दिरका लागि आवश्यक आभूषण निकाल्न र मर्मत गर्नका लागि भण्डार खोलिएको थियो ।
कसरी राख्न थालियो भण्डार ?
प्राचीन भारतका आदर्शपुरुष प्रभु जगन्नाथका भक्त राजा महाराजाहरुले दानमा दिएका र ओडिसा राज घरानाहरुको तर्फबाट राज्यलाई युद्धमा जितेपछि प्राप्त भएका वहुमूल्य रत्न तथा गरगहनाको संकलन नै जगन्नाथ मन्दिरको रत्न भण्डार हो ।
यो भण्डार लुट्नका लागि १५औं शताब्दिदेखि १८औं शताब्दिको अवधिमा कम्तीमा १५ पटक बाह्य आक्रमण भएको थियो । सबैभन्दा पछिल्लो आक्रमण बंगालका तत्कालीन सेनापति मोहम्मद तकी खानले १७३१ मा गरेका थिए ।
ती आक्रमणमा केही बहुमूल्य गहना लुटिएका पनि थिए । तर त्यसपछि रत्न भण्डारको कडा सुरक्षा व्यवस्था व्यवस्थित बनाउनु्का साथै कडा बनाइयो । भण्डारमा ठूलो मात्रामा हिरा, मोती, सुन र अन्य कैयौं बहुमूल्य धातुले बनेका अनगिन्ति गहनाहरु छन् । हाल ती गहनाहरुको करोडौं मूल्यांकन गरिन्छ ।
तर डिजिटल प्रविधिको विकाससँगै यी गहनाहरुको गणना धेरै लाग्दैन । तर परम्परागत रुपमा यो गणना प्रक्रिया सम्पन्न गर्न कति समय लाग्छ कसैले भन्न सक्दैन । जगन्नाथ रत्न भण्डार रहस्यमय त छँदैछ । यससँगै यो भण्डारको विषयमा भारतीय आम समाजमा थुप्रै मिथ बन्नुका साथै कतिपय अन्धविश्वास पनि रहेको पाइन्छ ।
यतिसम्म कि ओडिसामा उक्त भण्डार खोल्यो भने सरकार ढल्छ भन्ने पनि अन्धविश्वास रहिआएको छ । जवकि १९७८ मा भण्डार खोलेको केही महिनामा ओडिसाको भाजपा सरकार ढलेको थियो । तर आम रुपमा मानिसहरुले सरकार ढल्नुलाई भण्डार खोल्ने कार्यसँग जोडेर चर्चा गरेका थिए ।
२०१८ मा पनि भण्डार खोल्ने प्रयास गरिएको थियो । त्यसबेला गठन गरिएको टोलीले चाबी लिएर भित्र गएको थियो तर नखुलेपछि टर्च बालेर फर्किएको थियो । अथाह गहनाहरुले भरिएको यही रत्न भण्डारलाई पछिल्लो समय ओडिसामा राजनीतिक मुद्दा पनि बनाउन थालिएको छ ।
पछिल्लो राज्यसभा चुनावमा रत्न भण्डारको हराएको चाबी नै एक प्रमुख राजनीतिक मुद्दा बनेको थियो । प्रचारको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित भाजपाका नेताहरुले भण्डारको हराएको चाबीलाई चुनावी मुद्दा बनाउँदै आएका छन् । यसबीचमा भण्डारमा पहिले तथ्यांक राखिएका गहनाहरु अहिलेसम्म हराए वा यथावत नै छन् भन्ने प्रश्न पनि बेलाबेला उठ्ने गरेको छ ।