‘यो सरकारले कार्यकाल पूरा गर्छ । राजनीतिक स्थायीत्वले नीतिगत निरन्तरता हुन्छ । समस्याको साक्षी बन्ने होइन समाधान गर्नेछु। सबैलाई साथमा लिनेछु। समस्यालाई ठीक ढंगले चिन्न सक्यौं भने धेरै काम गर्न सकिन्छ ।’
![](https://clickmandu.com/wp-content/uploads/2024/07/bishnu-paudel1.png)
काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा छाएको सुस्तता कम हुँदै जाने विश्वास व्यक्त गरेका छन् । उपप्रधानमन्त्री समेत रहेका पौडेलले कार्यभार सम्हालेको पहिलो दिनमै पत्रकारहरुलाई सम्बोधन गर्दै यस्तो बताएका हु्न् ।
यस क्रममा उनले आफ्नो कार्यकाल निराशा चिर्ने र आशा जगाउने काममा केन्द्रित हुने पनि बताए । तर आफूले पाएको जिम्मेवारीलाई अत्यन्त चुनौतीपूर्ण जिम्मेवारीको रुपमा अर्थ्याएका छन् ।
अब फेरि सरकार परिवर्तन हुनसक्ने र पूरा कार्यकाल काम गर्न नसक्नेप्रति संकेत गर्दै पत्रकारहरुले सोधेको प्रश्नमा मन्त्री पौडेलले अब स्थिरता कायम हुने बताएका थिए । अर्थमन्त्री पौडेलले भने, ‘हाम्रो देशले लामो समयदेखि राजनीतिक अस्थिरताको पीडा बेहोरेको छ । निरपेक्ष ढंगबाट स्थिरता परिकल्पना गर्न सकिँदैन । संसदबाट हुनसक्ने अधिकतम स्थिरता कायम गर्ने प्रयास भएको छ ।’
उनले अगाडि थपेका छन्, ‘यो सरकारले कार्यकाल पूरा गर्छ । राजनीतिक स्थायीत्वले नीतिगत निरन्तरता हुन्छ । समस्याको साक्षी बन्ने होइन समाधान गर्नेछु। सबैलाई साथमा लिनेछु। समस्यालाई ठीक ढंगले चिन्न सक्यौं भने धेरै काम गर्न सकिन्छ ।’
राजस्व चुहावट बढेको सन्दर्भमा निर्णय गर्न नचाहने विकृति बढेको भन्दै अर्थमन्त्री पौडेलले असल मनसाय भयो भने कुनै समस्या नदेखिने बताएका थिए । यस्तै अनावश्यक डरभन्दा पनि कानुनले तोकेको जिम्मेवारी पूरा गर्नुपर्ने पनि उनको भनाइ थियो ।
यसैबीच अर्थमन्त्री पौडेलले बजेट विनियोजनको सन्दर्भमा सरकारका कमजोरी देखिने गरेको भन्दै यसलाई सच्याउनुपर्ने बताएका थिए । तर सरकारले गर्न खोजेका विषय बजेटले रोक्न नसक्ने उनको भनाइ थियो । साथै बजेट कार्यान्वयन आफूहरुको प्राथमिकता रहेको पनि उनले बताए ।
यस क्रममा उनले अर्थ मन्त्रालको सामर्थ्य कमजोर भए राष्ट्रलाई घाटा हुने भन्दै कर्मचारी परिवर्तन गर्ने आफ्नो प्राथमिकता नरहेको मन्त्री पौडेलले बताएका थिए ।
प्रतिक्रिया