डेडिकेटेड ट्रंकलाइन विवाद: प्राधिकरणले निकाल्यो २८ महिनाको किस्ता सुविधाको सूचना



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न आउन उद्योगीलाई २८ महिनाको समय दिएको छ ।

प्राधिकरणले सार्वजनिक सूचना निकालेर २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता अधिकतम २८ मासिक किस्तामा भुक्तान  गर्न सक्ने उल्लेख छ । प्राधिकरण सञ्चालक समितिको असार २६ गते बसेको बैठकले किस्ताबन्दी सुविधा दिने निर्णय गरेको थियो । प्राधिकरणले इच्छुक उपभोक्ताहरुले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी उपलब्ध सुविधाको लाभ लिन जानकारी गराएको छ ।

बक्यौता नतिरेको भन्दै प्राधिकरणले गत मंगलबारदेखि उद्योगहरुमा लाइन काट्न थालेको थियो । मंगलबार प्राधिकरणले रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो । प्राधिकरणका अनुसार घोराहीको ४० करोड ६८ लाख रुपैयाँ, रिलायन्स ६० करोड २९ लाख रुपैयाँ र अर्घाखाँचीको ३५ करोड ८८ लाख रुपैयाँ बक्यौता छ । यो रकममा थप २५ प्रतिशत जरिवानसहितको बिल प्राधिकरणले उद्योगीहरुलाई पठाएको थियो । मंगलबारयता प्राधिकरणले ६ उद्योगको लाइन काटेको छ ।

बुधबार प्राधिकरणले जगदम्बा सिन्थेटिक र हुलास स्टीलको लाइन काटिदिएको थियो । प्राधिकरणका अनुसार जगदम्बा सिन्थेटिक्सको १६ करोड ४ लाख रुपैयाँ र हुलास स्टीलको ११ करोड २९ लाख रुपैयाँ बक्यौता छ ।

प्राधिकरणले बिहीबार राति जगदम्बा स्टीलको विद्युतको लाइन काटेको छ । यो कम्पनीको १ अर्ब २८ करोड १४ लाख रुपैयाँ बक्यौता छ । यो बक्यौता रहेका ५६ उद्योगमध्येको सबैभन्दा धेरे हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले निर्देशन दिएको भन्दै प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न पत्र पठाएको थियो । असार ९ गते ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बक्यौता तिर्न १५ दिनको समय दिएर जानकारीसहितको पत्र पठाएको हो । प्राधिकरणले दिएको समय सोमबार सकिएपछि लाइन काट्न थालेको हो ।

उद्योगीहरुले पीडित तथा प्रताडित उद्योगीहरुको समूह बनाएका छन् । उनीहरुले डेडिकेटेड तथा ट्रंकलाइन विवाद बारे अध्ययन गर्न गठन भएको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रिपरषद्ले निर्देशन दिएको भए पनि प्राधिकरणले त्यसको कार्यान्वयनको सट्टा उद्योगीलाई धम्क्याउने काम गरेको भन्दै आपत्ति जनाउँदै आएका छन् ।

प्राधिकरणले पठाएको बिल फर्जी भएको उद्योगीहरुले बताउँदै आएका छन् ।


क्लिकमान्डु