जसलाई भारतको तीर्थयात्राले बनायो ‘काजु किसान’



नेपालमा भारत र भियतनामबाट काजु आयात हुने गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना साउनमा पाँच करोड ८२ लाख ३२ हजार रुपैयाँ बराबरको काजु नेपाल भित्रिएको थियो । बजारमा पाइने भारतीय काजुको सट्टामा नेपालमा आफैँले उत्पादन गरे ठूलो रकम बाहिरीनबाट रोकिन्छ ।

काठमाडौं । मोरङको पथरी शनिश्चरेका किसानहरु काजु खेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय फरक र नयाँ कृषि खेती गर्न रुचाउने कृषकहरुको संख्या बढ्दो छ । यस क्षेत्रमा काजुदेखि ड्रागन, अंगुर काजु, एभोकाडो, किभीको खेती फस्टाइरहेको छ ।

खेतीका लागि कृषकको आकर्षण पनि बढ्दो र बजारको माग पनि उच्च छ । आजभोलि मोरङको पथरी शनिश्चरे ३ का भुवनेश्वर पोख्रेलको दिनचर्या फेरिएको छ । पूर्वशिक्षक पोख्रेल बिहान बेलुका आफ्नो बारीमा काजुको बिरुवा स्याहार गरिरहेका हुन्छन् । उमेरले ७५ वर्षका पुगे पनि उनको जोश भने युवाको झैँ छ । करिव ३ वर्षअघि तीर्थयात्राका लागि भारतको चारधाम जादा ऋषिकेशबाट ल्याएको काजुको बिरुवाले पोख्रेललाई व्यवसायी बनाएको छ ।

तीन वर्षपछि नै तिनै बिरुवाले उत्पादन दिन थाल्यो । अहिले करिव ३ कठ्ठा जग्गामा पोख्रेलले काजुका बिरुवा लगाएका छन् । पोख्रेलको बारीमा अहिले काजुदेखि ड्रागन, अंगुरसम्मका बिरुवा छन् । पोख्रेलले रोपेको काजुले उत्पादन दिन थालिसकेको छ । काजु फल्न थालेपछि खुसी भएका पोख्रेलले काजुका बिरुवा समेत उत्पादन गर्न थालिसके ।

पहिलो वर्ष ५ केजी उत्पादन भएको काजुलाई पुनः रोपेर पोख्रेलले विरुवा उत्पादन गरे । तिनै बिरुवावाट अहिले उत्पादन सुरु हुन थालेको छ । नेपालमा पनि काजुको व्यावसायीक खेती सम्भव हुन्छ भन्ने उदाहरण बनाएका छन् उनले । छोटो समयमा राम्रो आम्दानी हुने भएकाले व्यावसायीक रुपमा काजुको खेती गराउन बिरुवा उत्पादन गरी विक्रीवितरण थालेको पोखरेलको भनाइ छ ।

समुद्री सतहबाट १ हजार ६ सय मिटर सम्मको उचाइमा हुने काजुको खेती गर्न सकिन्छ । काजुको विरुवा १० फुट भन्दा अग्लो हुन्छ । हाल वार्षिक ५ सयभन्दा बढी बिरुवा उत्पादन गर्दै आएका पोखरेलले स्थानीय क्षेत्रमा ७५ रुपैयाँको दरले बिक्री वितरण गर्दै आएका छन् ।

नर्सरीबाटै झापा, मोरङ र सुनसरीसम्म बिरुवा बिक्री भएपछि पोखरेलको परिवारमा खुसी छाएको छ । पोखरेलका अनुसार बिरुवाको माग पहाडी जिल्ला तेह्रथुमसम्म हुन थालेको छ । बिरुवा उत्पादन थालेको पहिलो वर्ष नै उर्लाबारी नगरपालिका कृषि शाखाले १ सय ५० जति बिरुवा किसानलाई बाँडेर फल उत्पादन हुन थालेको छ । उब्जनी नदिने रुख्खो जमिनमा अन्य काठका बिरुवाको स्थानमा काजुको विरुवा लगाए मनग्य आम्दानी हुने देखिन्छ ।

बर पिपलको जस्तै ठूलो झाङ्गिने भएकाले ५० केजिसम्म फल्ने पोखरेलले आशा लिएका छन् । पोखरेलको नर्सरीमा एउटा बोटबाट वार्षिक १५ देखि २० केजीसम्म काजु फल्न थालेको छ । ‘व्यावसायिक रुपमा काजुको खेती गर्ने हो भने जागिर खानु र विदेश जानु नपर्ने पोखरेल बताउँछन् ।

कृषि शाखा प्रमुख सविना राईका अनुसार पथरी शनिश्चरे नगरमा नयाँ नयाँ कृषि खेती सुरु भएको । नगरमा काजु, अंगुर र ड्रागन खेती सुरु भएको र यसबाट कृषकले राम्रो आम्दानी भएको राईको भनाइ छ । नगरले कृषकलाई प्रोत्साहान गर्न एक वडा एक उत्पादन कार्यक्रमसँगै कृषको मागमा आधारित कार्यक्रम ल्याएको राईले बताए ।

नेपालमा भारत र भियतनामबाट काजु आयात हुने गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना साउनमा पाँच करोड ८२ लाख ३२ हजार रुपैयाँ बराबरको काजु नेपाल भित्रिएको थियो । बजारमा पाइने भारतीय काजुको सट्टामा नेपालमा आफैँले उत्पादन गरेको अवस्थामा ठूलो रकम बाहिरीनबाट रोकिन्छ ।

भारतमा मात्रै व्यावसायीक रुपमा उत्पादन हुँदै आएको काजुका बारेमा नेपालमा अध्यायन भए आम्दानी र रोजगारी बढ्ने देखिन्छ । काजु स्वास्थ्यवर्द्धक, पोषिलो र तागतिलो हुने भएकाले यसको बजारमा राम्रो माग रहेको छ । काजु प्रतिकेजी १ हजार ६ सयदेखि २ हजारसम्म बिक्री हुने गरेको छ । यसको बाहिरी फल पनि वाइन लगायतका पेय पदर्थ बनाउन केजीको ११ सयका दरले बिक्री हुने गरेको छ ।


क्लिकमान्डु