बीवाईडी बेच्ने साइमेक्सले ११ महिनामै गर्‍यो १० अर्बको व्यापार, ४ वर्ष अघिभन्दा १४३ गुणाले बढ्यो

एट्टोथ्रीले ल्यायो साइमेक्सको व्यापारमा बहार, ११ महिनामै अर्बबढी नाफा



काठमाडौं । नेपालमा बीवाइडीका कार बेच्ने साइमेक्स इंकले ११ महिनामै १० अर्बको व्यापार गरेको छ । अटो व्यवसायी यमुना श्रेष्ठको यो कम्पनीले चालु आर्थिक वर्षको ११ महिनामै गत वर्षभर गरेको व्यापारभन्दा ५ गुणा बढी कार बेचेको हो ।

व्यवसायमा आएको यो बहार कम्पनीले मोटर पिक पावर ९९ किलोवाट भएको एट्टोथ्री मोडलको कार बेच्न थालेयता आएको हो । कम्पनीले २०८० फागुनमा यो कार नेपाली बजारमा ल्याएको थियो । त्यसयता सर्वाधिक रुचाइएको एट्टोथ्रीले साइमेक्सलाई नयाँ व्यावसायिक उचाइ दिएको हो ।

कम्पनीले चालु आवको ११ महिनामा ९ अर्ब ९४ करोड ५० लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । जुन गत आवभर गरेको १ अर्ब ९१ करोडको कारोबारभन्दा ५.१९ गुणा बढी हो । साइमेक्सले गर्ने कुल आम्दानीको ९८ प्रतिशत रकम एट्टोथ्री र डल्फिनबाट आउँछ ।

चालु आवको ११ महिनामा गरेको कारोबार आर्थिक वर्ष २०७७/७८ मा गरेको व्यापारभन्दा १४३ गुणा बढी हो । साइमेक्सको एकमात्र आम्दानीको स्रोत कार बिक्री नै हो । ४ वर्षअघि मात्रै ७ करोडको कार बेचेको साइमेक्सले यो वर्ष १० अर्बको कार बिक्री गरेको हो ।

साइमेक्स चिनीयाँ कार उत्पादक कम्पनी बीवाईडीको नेपालका लागि एकमात्र आधिकारिक विक्रेता हो ।

साइमेक्समा अटो व्यवसायी यमुना श्रेष्ठ र उनका दाइ अनिल श्रेष्ठको लगानी छ । कम्पनीको सेयर संरचनाअनुसार यमुना ५०।५ प्रतिशत हिस्सासहित बहुमत सेयरधनी हुन् भने बाँकी सेयर अनिलको नाममा छ ।

४ वर्षमा कम्पनीको व्यापारले गगन चुमेको मात्र छैन, नाफाको दर पनि आकासिएको छ । वर्षभर ७ करोडको व्यापार गर्दा कर र डिप्रिसिएसनअघि साइमेक्सको नाफा ४.४ प्रतिशतमात्र हुन्थ्यो । अहिले यस्तो नाफा ११.५ प्रतिशत हुन्थ्यो ।

अर्थात् ४ वर्षअघि खुद मुनाफा वर्षमा ३० लाख नाफा गर्ने कम्पनीले यो वर्षको ११ महिनामा १ अर्ब १४ करोड रुपैयाँ नाफा गरेको छ ।

१० अर्बको कार बेच्ने कम्पनीले ३ अर्ब रुपैयाँको कर्जा लिएको छ ।

नेपाली बजारमा बीवाईडीका कारको अत्यधिक मागले साइमेक्सलाई वर्षमै अर्ब रुपैयाँ कमाउन मद्दत मिलेको छ । यसका अतिरिक्त बीवाईडीले पनि साइमेक्सलाई दिएको साथले नेपाली बजारमा उपस्थिति सुदृढ बनाउन कम्पनीलाई सहयोग मिलेको छ ।

साथै नेपालको कर नीति र बैंकको कर्जा नीतिले पनि बीवाईडीलाई व्यवसाय विस्तारमा सघाउ पुगेको छ । विद्युतीय सवारी प्रबद्र्धन गर्ने सरकारको नीति र सवारी मूल्यको ८० प्रतिशतसम्म कर्जा दिन बैंकको नीतिका कारण नेपालमा ईभी कारको व्यापारले इन्टरनल कम्बसन (पेट्रोलियम) कारलाई उछिन्दै गएको छ ।

उल्लेखित नीतिका साथै सन् २०३० सम्म देशमा निजी कारतर्फ विद्युतीय कारको हिस्सा ६० प्रतिशत पु¥याउने योजनाले पनि बीवाईडीको बजार विस्तार गर्न समर्थन मिलेको छ ।

साइमेक्स इंक प्रालि चिनियाँ कार निर्माता बीवाईडीको नेपालका लागि एकमात्र आधिकारिक विक्रेता हो । कम्पनीको देशभर २ आफ्नै शोरुम छन् भने थप १४ क्षेत्रीय डिलरमार्फत् कार विक्री गरिरहेको छ ।

तर, उत्पादनमा विविधिकरण (व्यापार एट्टो थ्री र डल्फिनमा निर्भर) नहुनु, सञ्चालकमा अटो क्षेत्रमा काम गरेको मध्यम अनुभव हुनु, देशमा विद्युतीय सवारीमा उच्चतम प्रतिस्पर्धा रहनु, करका दर निरन्तर हेरफेर हुनु र बेलाबेलामा सरकारी तबरबाट अनुसन्धानका नाममा दुःख दिइरहनु जस्तो चुनौती साइमेक्ससामु रहेका छन् ।


क्लिकमान्डु