जेलमा कमल ज्ञवालीको ‘गुरु’ अवतार: दैनिक गीता पाठ, लेखान्तको भोग भन्दै कैदीलाई प्रवचन

इच्छाराजदेखि केदारनाथसम्मका कैदी अनुयायी



काठमाडौं । श्रीमद्भगवत गीतामा श्रीकृष्ण अर्जुनलाई भन्छन्-

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि॥

जसको अर्थ हुन्छ: तिमीलाई निर्धारित कर्म गर्ने मात्र अधिकार छ, तर त्यस कर्मको फल कस्तो पाउने भन्ने कुरामा तिम्रो अधिकार छैन । तिमीले आफूलाई मेरो कर्मका कारण प्राप्त फलको रुपमा कहिल्यै नसोच र कर्तव्य गर्नवाट विमुख कहिल्यै नहोऊ।

यो गीता ज्ञान बाँड्ने कुनै पण्डित होइनन् । व्यासासनमा बसेर धर्मअभिलाषीलाई दिने ज्ञान जेलमा रहेका कैदीले दिइरहेको कमै सुनिन्छ।

तर केही समययता डिल्लीबजार कारागारमा कैदीलाई गीता ज्ञानको प्रवचन दिइरहेका ‘कसुरदार’ भेटिन्छन् ।

महाभारत युद्धमा रथ चलाइरहेका भगवान कृष्णले रणमैदानमा आफन्त पनि रहेका बिपक्षी (कौरब)हरुमाथि धनुषबाण चलाउन अस्वीकार गरिरहेका पाण्डुपुत्र अर्जुनलाई दिएको ज्ञान समेटिएको श्रीमद्भगवत गीतामा माथि उल्लेखित श्लोकमा भनिएजस्तै ‘निर्धारित कर्म गर्ने अधिकार’ तोड्दा जेल परेका उनलाई अहिले तत्वको ज्ञान भएको छ र जेलमा रहेका सबैलाई भेला गरेर गीता ज्ञान बाँडिरहेका छन् ।

बैंकिङ ठगी, जेलका गुरु !

हरेक दिन बिहान करिब ५ बजे उठ्ने । नुवाइधुवाइ गर्ने । दैनिक नित्य कर्म र शारीरिक व्यायामपछि सुरु हुन्छ कमल ज्ञवालीको गीतापाठ । बैंकिङ ठगीको कसुरमा हाल डिल्लीबजार कारागारमा सजाय काटिहेका कमल ज्ञवाली दैनिक १ घण्टा (६ देखि ७ बजे) सम्म गीता पाठ र प्रवचन गरेर समय व्यतित गरिरहेका छन् ।

‘गीता पाठ पनि सामान्य तरिकाले होइन । पण्डितले जसरी नै आसन बनाएर, ठूलो टुप्पी राख्नु भएको छ । धोती (सेतो कपडा) पहिरिएर ज्ञवाली सरले गीता पाठ र प्रवचन गर्नुहुन्छ,’ डिल्लीबजार कारागार स्रोतले क्लिकमान्डुलाई भन्यो, ‘उहाँबाट गीताको प्रवचन सुन्न दैनिक करिब ४०/५० जना भेला हुन्छन् ।’

तत्कालीन किष्ट बैंक (हाल प्रभुसँग बिलय भएको)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञवालीले किष्ट बैंकबाट १२ कराेड, तत्कालीन सिद्धार्थ विकास बैंकबाट १३ करोड, तथा सिद्धार्थ अवकाश कोषबाट ६ करोड अपचलन गरेका थिए । साथै, ज्ञवालीले कमसल धितोमा ४ करोड २६ लाख कर्जा दिएर सर्वसाधारणको निक्षेप दुरुपयोग गरेको आरोपमा दोषी ठहर भएपछि जेल जीवन बिताइरहेका छन् । उक्त रकम अपचलनमा ऋणी, जमानतकर्ता, सिइओलगायत सबैलाई कसुरवार पाइएको थियो।

अनामनगरमा रहेको जम्को प्रकाशनलाई ४ करोड २६ लाख कर्जा लिएर दुरुपयोग गरेको अभियोगमा उनी दोषी ठहर भएका हुन् । कर्जा प्रकरणमा मुछिएका ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसुर मुद्दामा दोषी ठहर गर्दै पुनरावेदन अदालत पाटनले जेल सजाय सुनाएको थियो ।

पुनरावेदन अदालत पाटनले कमललाई ४ वर्ष जेल र ६ करोड ६५ लाख रुपैयाँ जरिवाना तथा श्रीमती गौरीलाई ३ वर्ष जेल र ६ करोड २५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो जसलाई सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।

भारतमा लुकेर बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

कारागारमा रहेका ज्ञवाली ‘गुरु’को रुपमा परिचित छन् । उनको दैनिकी अन्य कैदीबन्दीको भन्दा फरक छ ।

बिहान उठेपछि साँझसम्मको उनको दैनिकी धेरैका लागि अनुकरणीय बन्दै गएको छ । हरेक दिन बिहान पण्डितले आसनमा बसेर गीता पाठ गरे जसरी संस्कृत श्लोक र नेपालीमा अर्थ लगाएर धेरै कैदीबन्दीलाई ज्ञान बाँडने काम ज्ञवालीले गरिरहेका छन्।

‘उहाँ बिहान सबेरै उठेर नित्य कर्म सकेर ठिक ६ बजे गीता पाठ थाल्नुहुन्छ,’ कारागार स्रोतले भन्यो , ‘उहाँको प्रवचन सुन्न कारागार भित्रका भीआईपी कैदीदेखि आजीवन कैद सजाय पाएकासम्मको उपस्थिति हुने गरेको छ ।’

संस्कृतमा रहेका श्लोकलाई उनले नेपालीमा व्याख्यासहित स्पष्ट पारेर प्रवचनमा सहभागी भएकाहरुलाई सुनाउने गरेका छन् । ‘संस्कृतमा भएका श्लोकलाई उहाँले नेपालीमा अर्थसहित भन्नुहुन्छ,’ एक अधिकारीले भने, ‘त्यहाँ कोही कैदी नभएर पण्डितले प्रवचन दिइरहनु भएको जस्तो अनुभुती हुन्छ ।’

एक समयका ‘चर्चित’ बैंकरको दैनिकी हिरासतमा पुगेपछि फेरिएको हो । हुनत हिरासतमा पुगेपछि ज्ञवालीको मात्र हाेइन सबैको दैनिकी फेरिन्छ नै । हिरासत भनेको सुधार केन्द्र पनि हो । मान्छेले आफूले गरेको गल्ती, कमजोरीलाई अनुभुत गर्ने ठाँउ जेल हो भन्दा फरक पर्दैन । तर, जेलमा सजाय भुक्तान गरिरहेकाहरु सबैले आफ्नो दैनिकमा आमूल परिवर्तन गर्छन् भन्न सकिँदैन ।

जेलमा रहँदा स्वास्थ्यलाई ध्यान दिनु, सात्विक भोजन गर्नु, दैनिक नुवाइधुवाइ, तिथी-पर्वअनुसार व्रत बस्नु पनि ज्ञवालीको दैनिकी बनेको छ। ‘डेढ वर्षदेखि उहाँको खाना सात्विक हुने गरेको छ, कारागार स्रोतले भन्यो, ‘हप्तामा दुई दिन व्रत पनि बस्ने गर्नु भएको छ ।’

अध्ययनमा रुची राख्ने ज्ञवाली आवश्यक परेको किताब बाहिरबाट मगाउने गर्छन् । अध्ययनले जेलमा उनी प्रेरक वक्ताको रुपमा परिचित हुँदै गएका छन् ।

ज्ञवाली बैंकिङ कसुरको अभियोग लागेपछि फरार थिए । प्रहरीले काठमाडौंमा खोजिरहँदा ज्ञवाली भने भारतको बृन्दावनमा बसेर वैदिक ज्ञान लिइरहेका थिए । बृन्दावनमा बस्दा उनले गीता, महाभारत, भागवत, ज्योतिषशास्त्र जस्ता विषयको अध्ययनमा समय बिताएको बताउने गरेका छन् ।

उनले दिने गरेको ज्ञानलाई कैद भुक्तान गरिरहेकाले प्रेरणाको रुपमा लिन्छन् वा लिँदैनन् त्यो उनीहरुको कुरा हो तर ज्ञवालीले आफूले जानेको अध्यात्मिक ज्ञान भने बाँडिरहेका छन् ।

प्रवचनमा हरेक दिन ज्ञवालीले, ‘कर्म अनुसारको फल र लेखेको बदल्न कसैले सक्दैन’ भन्ने वाक्यांश छुटाउँदैनन् ।

कर्म गर्दा कतै न कतै केही न केही बिग्रने र कर्मका क्रममा भएका कमजोरी र बिग्रिएको पाटोकै कारण जेलमा जीवन बिताउनु परेको उनको भनाइ हुने गरेको छ ।

उनले यसलाई आफूले फलको आश नराखि कर्म गरेको तर असल नियत राखेर गरेको कर्म गलत हुँदा सजायको भागिदार बन्नु परेको भन्दै यो लेखान्त भएको बताउने गरेका छन् ।

ज्ञवालीले गीताको प्रवचन दिँदा सबैलाई निरन्तर भन्ने गरेको बाक्य, ‘सबै कुरा लेखेको हुन्छ, तपाईं हामी जेल परेकै विधाताले लेखेको भएर हो । यसलाई कसैले बदल्न सक्दैन । जे हुन्छ कर्मको फल हुन्छ । यसलाई कसैले बदल्न सक्दैन,’ ज्ञवालीले भनाइलाई उदृत गर्दै एक अधिकारीले भने।

जेल जीवन विताइरहँदा मानसिक रुपमा विक्षिप्त हुँदै गएकालाई ज्ञवालीले हौसला र प्रेरणा दिने गरेका छन् ।

इच्छाराजदेखि केदारनाथसम्मका कैदी अनुयायी

ज्ञवालीको हरेक दिनको प्रवचनमा हुने मानिसहरु प्राय एकै हुन्छन् । जेलमा सधै नयाँ मानिस हुने कुरा पनि भएन । त्यसमा पनि गीताको प्रवचन सुन्न मन गर्ने पनि चाहियो ।

ज्ञवालीको प्रवचन जेलमा रहेका ‘हाइप्रोफाइल’ले पनि दैनिक सुन्ने गरेको कारागार स्रोत बताउँछ ।

संविधान सभा सदस्यसमेत रहेका तत्कालीन सिभिल बैंकका पूर्वअध्यक्ष तथा सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका पूर्वअध्यक्ष इच्छाराज तामाङ, सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका ऋध्यक्ष केशवलाल श्रेष्ठ र शिवशिखर सहकारी बहुउद्देश्यीय सहकारीका केदारनाथ शर्मासहितका कैदी बन्दीले ज्ञवालीले दिने गरेको गीता प्रवचन नियमित सुन्ने गरेका छन्।

करिब ६ वर्षदेखि हिरासतमा रहेका ज्ञवालीले गीता पाठ गर्नुका साथै चाणक्य नीति, बिदूर नीति, भतृहरी नीतिका विषयमा पनि ज्ञान बाँडिरहेका छन् । ज्ञवाली आध्यात्मिक पुस्तकहरुको लेखनमा पनि लागिरहेको स्रोतको भनाइ छ ।


सोभित थपलिया