काठमाडौंको चार खोलामा बाढी, डुबानमा पर्यो बल्खु तरकारी बजार(तस्वीरसहित)



काठमाडौं । शुक्रबार रातिदेखि लगातार परेको वर्षाका कारण काठमाडौं उपत्यकाको वाग्मती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढ्नुको साथै बाढी आएको छ ।

बर्षासँगै विभिन्न नदीमा आएको बाढीका कारण काठमाडौंको धेरैजसो सडकहरु अहिले जलमग्न भएका छन् । खोला किनारका बस्तीका साथै बजार पनि जलमग्न भएको छ । बर्षा र बाढीका कारण काठमाडौंका बासिन्दासमेत प्रभावित भएका छन् ।

कतिपय सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ । वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार बितेका २४ घण्टामा देशभर वर्षा भएको छ । लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ ।

काठमाडौं उपत्यकामा रहेका सशस्त्र प्रहरी बल नेपालका एकाइबाट विभिन्न इलाकामा टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

हालसम्म बाढीबाट उपत्यकामा मानवीय तथा भौतिक क्षति नभएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी उपरीक्षक पूर्णबहादुर साउदको ‘कमाण्ड’मा उपत्यकाका विभिन्न स्थानमा तीन सयभन्दा बढी फौज परिचालन भएको छ ।

खोलामा अत्यधिक बाढी आउँदा बल्खुस्थित तरकारी बजार डुबानमा

उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमति, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको जनाइएको छ ।

यसैबिच बल्खुस्थित तरकारी बजारमा पनि पानी पसेर डुवानमा परेको छ ।

निरन्तर वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलाको बहाव बढेको छ । यससँगै राम मन्दिरको किनार र बराही पीठ क्षेत्र डुबानमा परेको छ ।

बराही पीठमा गरिने काजक्रिया पनि प्रभावित भएको छ । हनुमन्ते खोलाको किनारमा रहेको भवन, खेत तथा स्कुलमा पनि पानी पसेको छ ।

यस्तै, ललितपुरस्थित च्यासल क्षेत्र भएर बग्ने मनोहरा नदीमा पानी बहाव उच्च रहेको छ । केही सडकको भाग डुबानमा परेको छ ।

काठमाडौंको बागमतीमा आएको बाढी

निरन्तरको वर्षासँगै देशभर भएका विपद्का घटना र ती घटनाको व्यवस्थापनबारे छलफल गर्न अहिले गृहमन्त्रालयमा आपत्कालीन बैठक जारी छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा भएको सो बैठकमा गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा नेपाली सेनाका उच्च अधिकारीलगायतको उपस्थिति छ ।


क्लिकमान्डु