बेलायती चुनाव: १४ वर्षपछि सत्तामा फर्कँदै लेबर पार्टी, ऋषि सुनकले स्वीकारे हार



लेबर पार्टीका नेता किएर स्टार्मर बेलायतको प्रधानमन्त्री बन्ने निश्चित देखिएको छ । प्रधानमन्त्री ऋषि सुनकले आफ्नो हार स्विकार गर्दै प्रधानमन्त्री बन्न लागेका स्टार्मरलाई बधाइ दिइसकेका छन् ।

एजेन्सी । बेलायतमा लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किँदैछ । लेबर पार्टीका लागि सरकार बनाउन आवश्यक ३२६ सिट संख्या पुगिसकेको छ । किएर स्टार्मरको नेतृत्वमा लेबर पार्टी १९९७ को जस्तै जिततर्फ उन्मुख रहेको बेलायती मिडियाले उल्लेख गरेका छन् ।

लेबर पार्टीले अहिलेसम्म ४०५ सिट जितिसकेको छ । जवकि वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीले हालसम्म १११ सिट मात्रै जितेको छ । यससँगै किउर स्टार्मर अब बेलायतको नयाँ प्रधानमन्त्री बन्ने तय भइसकेको छ । २०२० मा जर्मी कोर्बिनको स्थानमा लेबर पार्टीले नयाँ नेता चुनेको थियो ।

एक्जिट पोलको नतिजा मान्ने हो भने बेलायतको संसद्‍मा कुल ६५० सिटमध्ये लेबर पार्टीले ४१० सिट जित्नेछ भने कन्जरभेटिभ पार्टीले १३१ सिट जित्ने देखिएको छ । यदि कन्जरभेटिभ पार्टी १३१ सिटमा सीमित भयो भने उसको अहिलेसम्मकै सबैभन्दा खराब पराजय हुनेछ ।

२०१९ को निर्वाचनमा ६५० सिटको संसद्‍मा कन्जरभेटिभ पार्टीले ३६४ सिट जितेको थियो । र बोरिस जोन्सन प्रधानमन्त्री बनेका थिए । तर यसपटक परिस्थिति ठीक उल्टो बनेको छ । बेलायतमा सरकार बनाउनका लागि संसद्‍मा ३२६ सिट आवश्यक पर्छ । २०१९ को निर्वाचनमा विपक्षी लेबर पार्टीको संख्या घटेर २०३ पुगेको थियो ।

लेबर पार्टीको सबैभन्दा ठूलो जित

यदि एक्जिट पोलको अनुमान सही सावित भयो भने किएर स्टार्मर ४१० लेबर पार्टीका सांसदहरुको समर्थनमा प्रधानमन्त्री बन्ने पक्का छ । र यो जित लगभग टोनी ब्लेयरको १९९७ को ऐतिहासिक जित नजिक पुगेको हुनेछ । लेबर पार्टीले ३० वर्षअघि १९९७ मा ४१९ सिट जित्दै अहिलेसम्मकै ठूलो जित हासिल गरेको थियो । त्यसबेला लेबर पार्टीको नेता टोनी ब्लेयर थिए । जवकि कन्जरभेटिभ पार्टीले १६५ सिट मात्रै जितेको थियो ।

यदि एक्जिट पोललाई मान्ने हो भने लेबर पार्टीलाई यसपटक ४१० सिट प्राप्त हुँदैछ । अर्थात् १९९७ को चुनावको तुलनामा जम्मा ९ सिट कम हुनेछ । यदि चुनावी नतिजामा लेबर पार्टीले ४१९ सिटभन्दा धेरै ल्यायो भने त्यो उसको अहिलेसम्मकै ठूलो जित हुनेछ । अर्थात् ३० वर्षअघिको ऐतिहासिक जितको रेकर्ड पनि तोडेको हुनेछ ।

यस चुनावमा तेस्रो नम्बरमा भने लिबरल डेमोक्रेट्स पार्टी हुनसक्ने देखिएको छ । जसले जम्मा ६१ सिट जित्ने आकलन हुँदै आएको छ । एक्जिट पोलका अनुसार स्कटिस नेसनल पार्टीको सिट संख्या घटेर १० मात्रै हुनसक्ने बताइएको छ । जवकि रिफर्म युकेले १३ सिट मात्रै जित्ने सम्भावना रहेको बताइन्छ ।

ऋषि सुनकले स्विकार गरे पराजय

बेलायतका प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले यसपटक चुनावमा आफ्नो पराजय स्विकार गरिसकेका छन् । उनले लेबर पार्टीका नेता किएर स्टार्मरलाई जितका लागि बधाइ दिइसकेका छन् ।
उनले भनेका छन्, ”ब्रिटिश जनताले गरिमामय फैसला दिएका छन् । यसबाट धेरै कुराहरु सिक्नु आवश्यक छ । म हारको जिम्मेवारी लिनेछु ।”

ऋषि सुनकले योर्कसायरमा रिचमन्ड सिट कायम राखेका छन् । आफ्नो सिट जितेपछि उनले भनेका छन्, ”लेबर पार्टीले चुनाव जितेको छ । मैले किएर स्टार्मरलाई जितका लागि बधाइ दिएसकेँ ।” यससँगै चुनावमा खराब प्रदर्शनलाई लिएर कन्जरभेटिभ पार्टीका नेताहरुले आफ्नो पार्टिको खुलेर आलोचना गरिरहेका छन् । ४४ वर्षीय सुनक अक्टोबर २०२२ मा बेलायतको प्रधानमन्त्री बनेका थिए ।

सुनकका आमाबाबु भारतीय मूलका हुन् । र बेलायतको इतिहासमा उनले नै पहिलो गैरअस्वेत एवं पहलो भारतीय मूलको प्रधानमन्त्री बन्ने अवसर पाएका थिए ।

को हुन् प्रधानमन्त्री बन्न लागेका किएर स्टार्मर ?

सर किएर स्टार्मर २०२० मा लेबर पार्टीको नेता चुनिएका थिए । ६१ वर्षीय स्टार्मर पेशाले वकिल हुन् । २०१५ मा उनी पहिलो पटक सांसद बनेका थिए । यसअघि बेलायतको विपक्षी दलको नेता भने जर्मी कोर्बिन थिए ।

लेबर पार्टीको नेताको चुनावमा स्टार्मर पहिलो राउन्डमै ५० प्रतिशतले अगाडि थिए । लेबर पार्टीको नेता बनेपछि स्टार्मरले यो महान पार्टीलाई उक नयाँ उद्देश्य र विश्वासको साथमा नयाँ युगमा लिएर अगाडि बढाउने आफ्नो उद्देश्य रहेको बताएका थिए ।

पार्टीको तर्फबाट जारी गरिएको भिडियो सन्देशमा उनले यो आफ्नो लागि गर्व र सम्मानको विषय भएको बताएका थिए । साथै लेबर पार्टीले फेरि एक पटक देशको सेवा गर्ने उनको प्रतिक्रिया थियो । २०१५ मा स्टार्मर उत्तरी लन्डनमा हर्बर्न र पेनक्रासबाट सांसद जितेका थिए ।

उनले पूर्व लेबरका नेता जर्मी कोर्बिनको फ्रन्टबेन्च टिममा रहेर उनको ब्रेक्जिट सचिवको रुपमा काम गरेका थिए । जहाँ उनले दोस्रो ब्रेक्जिट चुनावबारे विचार गर्नेबारे छलफल गरेका थिए । २०१९ को आम चुनावमा पार्टीको ठूलो पराजयपछि किएर स्टार्मर लेबर नेताको पदमा प्रतिस्पर्धा गरेका थिए । र २०२० मा उनी पार्टीको नेता बनेका हुन् । जितपछि उनले आफ्नो पार्टीलाई विश्वास र आशाको साथ नयाँ युगमा लैजाने घोषणा गरेका थिए ।

-बीबीसी


क्लिकमान्डु