अख्तियारकै आयुक्तले मिचे गुठीको जग्गा, ललितपुर महानगरले चलायो डोजर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तले गुठीको जम्मा मिचेको पाइएको छ । डा. सुमित्रा श्रेष्ठ अमात्यले गुठीको जग्गा मिचेको पाइएपछि उनको घरको कम्पाउन्डमा बुधबार ललितपुर महानगरले डोजर चलाएको छ ।

आज डोजरसहित पुगेको नगर प्रहरीले ललितपुर महानगरपालिका-१० स्थित चाकुपाटमा रहेको डा. दिवस अमात्य र डा. सुमित्रा श्रेष्ठ अमात्यको घर परिसरमा डोजर चलाएको हो । अमात्यले सम्पदा क्षेत्र नै मिचेर संरचना निर्माण गरेपछि गुठियारहरुले भत्काउन प्रशासन गुहार्दै आइरहेका थिए ।

सोही अनुसार अवैध संरचना भत्काइएको मेयर चिरिबाबु महर्जनले जानकारी दिए । उनका अनुसार स्थानीयको माग अनुसार नै गुठी तथा मन्दिरको जग्गा खाली गरिएको हो । यो वर्ष पर्ति र ऐलानी जग्गाको संरक्षणको लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै समेटिएको उनको भनाइ छ ।

मन्दिर र पाटी पौवाको बीचबाट गेट नै निर्माण गरेपछि स्थानीयले भत्काउन पहल गर्दै आइरहेका थिए । स्थानीय गुठियार चिरिबाबु महर्जनका अनुसार डा. सुमित्रा अमात्यले उक्त घर डेढ वर्षअघि खरिद गरेकी थिइन् । पछि उनले सँगै रहेको जग्गा पनि हडपेर टहरा र गेट निर्माण गरेकी थिइन् । अमात्यले गुठिको जग्गा हडपेर घरको कम्पाउन्ड निर्माण गरेको महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।

डा सुमित्रा अ्मात्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त पनि हुन् । मन्दिरको जग्गा खोसेर घरको बाहिरी पर्खाल बनाएको प्रमाण भेटिएपछि महानगरले डोजर चलाएको हाछेथुको भनाइ छ ।


क्लिकमान्डु