बजारमा तरलता ‘वालछ्याल’, आजै आधा खर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक



काठमाडौं । बैंकिङ प्रणालीमा वालछ्याल तरलता भएपछि नेपाल राष्ट्र बैंकले बुधबारै ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलमार्फत् निक्षेप संकलन गरी आधा खर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।

बैंकहरुले आज ३ बजेसम्म आफूलाई बढी भएको तरलता निक्षेपमा राख्न अनलाइनमार्फत् बोलकबोल गर्नुपर्नेछ । उनीहरुले घटिमा १० करोड र ५ करोडले निःशेष भाग जाने कुल आह्वान रकम बराबरको रकम राख्ने कबोल गर्नुपर्नेछ । यसरी राखिने निक्षेपको ब्याजदर बोलकबोलबाटै तय हुनेछ ।

केन्द्रीय बैंकले २१ दिन अवधिका लागि तरलता खिच्न लागेको हो । सो रकम परपक्व भएपछि ब्याजसमेत फिर्ता हुनेछ ।

केन्द्रीय बैंकले असार ६ र ७ गते कुल ९० अर्ब रुपैयाँ बराबरको १४ दिने निक्षेप संकलन गरेको थियो । सो निक्षेप परिपक्व हुँदै गर्दा तरलता बढ्ने भएपछि अर्को उपकरण प्रयोग गर्नुपर्ने भएको हो ।

यसबाहेक १३ गते ६६ अर्ब, १६ गते १ खर्ब २५ अर्ब र हिजो १८ गते १ खर्ब ३० अर्ब रुपैयाँ बराबरको तरलता स्थायी तरलता सुविधाअन्तर्गत प्रशोचन गरिएको छ ।

राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा अहिले ९२ अर्ब रुपैयाँ अधिक तरलता छ । तरलता बढेर अन्तर बैंक ब्याजदर निकै तर आउन थालेपछि ३ प्रतिशतभन्दा तल झरेको छ ।

अन्तर बैंक ब्याजदरलाई करिडोरको ३ प्रतिशतको तल्लो सीमाभित्र राख्न स्थायी निक्षेप सुविधा दिन थालिएको हो ।

स्थायी तरलता सुविधा लिएर पनि बढी भएको तरलता बैंकहरुले बोलकबोलवाला निक्षेपमा राख्छन् । बैंकहरुले यसअघि यस्तो निक्षेपमा ३.१ प्रतिशत देखि न्यूनतम २.९९ प्रतिशत ब्याजदर कबोल गरेका थिए ।

अहिले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अधिक रहेपनि बैंकहरूको लगानी गर्ने क्षमता भने निकै कम छ ।


क्लिकमान्डु