रविलाई दुर्गा प्रसाईको व्यंग्य: चार महिना कसको बाख्रा चराउनुभयो ? राजनीति सिक्न मसँग आउनू !



काठमाडौं । सत्ता समीकरण फेर्ने अन्तिम तयारी भइरहँदा विभिन्न कोणबाट टिकाटिप्पणी र विश्लेषण हुन थालेको छ । किन र कसरी सरकार फेरिन गालेको हो भनेर धेरैले चासो राखेका छन् । कसैले यही सरकारलाई थप काम गर्न दिनुपर्ने तर्क गर्दै आएका छन् भने कतिपयले संसद्‍को सबैभन्द ठूलो दललाई प्रतिपक्षमा राखेर तेस्रो र चौथो दलले सकार चलाउनु जायज र व्यवहारिक नभएको भन्दै अहिलेको परिवर्तित अवस्थालाई स्वागत नै गरेका छन् ।

यस्तैमा मंगलबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ताच्युत हुने अन्तिम संघारमा आइपुगेपछि चलाखीपूर्ण रुपमा एउटा अनौठो अभिव्यक्ति दिए । पत्रकारहरुसँग लामिछानेले भनेका थिए,’भ्रष्टाचारको फाइल खोल्न थालेपछि रातारात सत्ता समीकरण फेर्न थालियो । केही सीमित व्यक्तिहरु पक्राउ पर्न थालेपछि एकै रातमा सत्ता समीकरण बदलियो ।’

रास्वपाका कार्यकर्ता र समर्थकहरुलाई त लामिछानेको यो अभिव्यक्तिले चित्त बुझाउने बाटो देखायो । किनकि, एकै दिनमा भ्रष्टाचारीहरुलाई समातेर ठाउँको ठाउँ ठीक पार्ने, निर्मला पन्तका बलात्कारीलाई पक्राउ गर्ने, सहकारी ठगी मुद्दाका फरार अभियुक्त जीबी राईलाई पक्राउ गर्ने लगायतका दर्जनौं बाचा गरे पनि गृह मन्त्रालयको प्रगति विवरण हेर्दा चार महिनामा चारवटा काम पनि गणना गर्न सक्ने अवस्था थिएन । जवकि दुई साताभन्दा पहिले आफ्नै पूर्वसहकर्मी तथा सहकारी ठगी मुद्दाका फरार अभियुक्त जीबी राई मलेसियामा बसेको लोकेसन पत्ता लाग्यो भनेर उत्साही हुँदै चितवनका जनताहरुमाझ भाषण गरेका थिए । तरकाठमाडौं फर्किएपछि उनले जीबीको नाम नै लिएको सुनिएन ।

यस्तो अमिलो यथार्थका बीच गृहमन्त्री लामिछाने दोस्रो पटक सिंहदरबारको तलबभत्ता मात्रै खाएर पार्टी कार्यालय फर्किने तयारीमा छन् । त्यसो त केही साता वा सम्भवत: केही महिनादेखि नै सरकार फेरिने तयारी भएको सूचना रवि लामिछाने जस्तो गृहमन्त्रीले थाहा नपाउने कल्पना पनि गर्न सकिँदैन । उनै चलाख मन्त्रीले सत्ता उल्टिने संघारमा आइपुगेपछि भनिदिए, ‘मैले भ्रष्टाचारको फाइल खोल्न थालेपछि सत्ता फेर्न थालियो ।

सत्ताबाट हट्ने भएपछि गृहमन्त्री लामिछानेले गरेको यस्तो ‘स्टन्ट’बाट उनका ‘फ्यान’हरु भावुक भए पनि अरु स्वतन्त्र नागरिकहरुलाई भने लामिछानेको बहिर्गमनले खासै फरक पार्नेवाला छैन ।

यही परिदृश्यमा नगरिक अभियन्ताको रुपमा चिनिएका लघुवित्त पीडितहरुको आन्दोलनका नेता दुर्गा प्रसाईले गृहमन्त्री लामिछानेप्रति कडा टिप्पणी र व्यंग्य गरेका छन् । प्रसाईले मंगलबार पत्रकार सम्मेलन मार्फत् आफूले यस्तो अवस्था आउने पहिले नै आकलन गरेको दाबी गर्दै गृहमन्त्री लामिछानेलाई स्टन्टवाजी नगर्न चेतावनी दिए ।

यस क्रममा उनले प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेप्रतिक कडा टिप्पणी गरेका छन् । उनले लामिछानेलाई लक्षित गर्दै हाँस्दै भनेका छन्,’गृहमन्त्री लामिछानेले भ्रष्टाचारको फाइल खोल्न थालेपछि सत्ता समीकरण फेरियो भन्नुभएछ । चार महिनासम्म कसको बाख्रा चराउन जानुभएको थियो ? कसको भेडा चराउन जानुभएको थियो ?’

अभियन्ता प्रसाईले लामिछानेका गतिविधि र अभिव्यक्ति अत्यन्त अपरिपक्क भएको भन्दै उनलाई सुझाव समेत दिए । लामिछानेका लागि राजनीति उपयुक्त क्षेत्र नभएको भन्दै फेरि टिभीमा फर्किन पनि उनले सुझाव दिए । ‘तपाइँ फेरि टिभीमै फर्किनू त्यहीँ सुहाउँछ तपाइँलाई । राजनीतिमा सुहाएन । राजनीति गर्ने हो भने आउनू मसँग सिक्न कसरी गर्ने राजनीति भनेर,’ प्रसाईले भनेका थिए ।

यसैबीच प्रसाईले एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै अब उनको पासोमा गएको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनले भनेका छन्, ‘तपाइँको पासोमा देश पर्‍यो । प्रचण्ड अब गए भन्दा पनि तपाइँको पासोमा देश पर्‍यो । एमालेका नेताहरुले दुर्गा प्रसाई अब समातिनेको एक नम्बरमा नाम छ भनेछन् । दुर्गा प्रसाई सधैँ एक नम्बर नै हो । म बालकोट आउन पनि तयार छु । बालुवाटार आउन पनि तयार ।’

यससँगै उनले प्रधानमन्त्री प्रचण्डलाई पनि केही सुझाव दिए । प्रचण्डलाई अझै सबै बिग्रिनसकेको भन्दै आफूलाई साथ दिन र वयवस्था परिवर्तनका लागि लाग्न आह्वान गरेका थिए ।


क्लिकमान्डु