भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि एमाले कांग्रेसमा बेचैनी बढ्यो, एक रातमा सरकार ढल्यो: रवि



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि कांग्रेस एमालेको बेचैनी बडेको र नयाँ गठबन्धन बनाएको टिप्पणी गरेका छन् । उनले केही फाइल खोल्नासाथ एक रातमै सरकार ढलेको बताए ।

कांग्रेस एमालेका नेताले संविधान जोगाउन र संशोधन आवश्यक रहेकाले नयाँ गठबन्धन बनाउनु परेको बताइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भनेर सबैले बुझेको टिप्पणी गरे ।

‘जे भएको छ केही भन्नै पर्ने छैन । सबै कुरा स्पष्ट पाइसकेको छ । तपाईंहरूले देखिहाल्नुभएको छ । जुन ढंगले सरकार अघि बढेको थियो । तपाईंहरू नै भन्नुहुन्थ्यो, फाइल खोल्नुपर्‍यो, फाइल खोल्नुपर्‍यो । फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने गरी भयो। मैले के भन्नु र!,’ लामिछानेले भने ।

बेचेन झा पक्राउ परेकाले गठबन्धन फेरबदल भएको हो भनेर सञ्चारकर्मीले गरेको प्रश्नमा लामिछानेले बेचैनीको अरू के अर्थ होला र ? भन्दै प्रतिप्रश्न गरे।

‘बेचैनीको अरू के अर्थ होला र ! एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो यो सरकारलाई, संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भन्ने यति पनि बुझ्न नसक्ने, सबैले बुझेकै कुरा हो । ठीक छ अहिले मलाई केही पनि भन्न छैन । संवैधानिक प्रक्रियाहरू सुरू होला । यस पछाडि अरू कुराहरू गर्ने छँदैछ,’ लामिछानेले भने।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गत शुक्रबार बेचन झा पक्राउ परेका थिए । सोही प्रकरणमा शुक्रबारै काठमाडौंको बौद्धबाट एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पनि पक्राउ परेका थिए ।


क्लिकमान्डु