देउवा–ओली भेट हुँदैमा सत्ता समीकरण उल्टिँदैन: सांसद सापकोटा



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रमुख दुई ठूला दलका शीर्ष नेताहरुबीच भेट हुनासाथ सत्ता समीकरण नफेरिने बताएका छन् ।

एमालेका अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटवार्तासँगै सत्ता समीकरण फेरिने टिप्पणीहरु आइरहँदा माओवादी सांसद सापकोटाले यस्तो प्रतिक्रिया दिएका हुन् । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद सापकोटाले नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको भेट हुनासाथ सत्ता समीकरण उलटफेर नहुने बताए ।

उनले सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुका बीचमा संवाद हुनासाथ सत्ता गठबन्धन परिवर्तन नहुने बताए । उनले नेताहरु भेट हुनासाथ सत्ता समीकरण बदलिने भाष्य बनाउँदा यसले स्थिरताको मानसिकता नदिने बताए ।

‘दुई दिनका राजनीतिक घटनाक्रम र समाचारहरुलाई नजिकबाट नियाल्यौँ भने अहिले सिंगै राजनीति तरंगित भएको छ । एउटा दलका नेता र अर्को दलका नेता अथवा सत्तापक्षको दलका नेता र प्रतिपक्षका दलका नेताका बीचमा संवाद हुँदा बित्तिकै सत्ता गठबन्धनमा उलटफेर आउने भयो भनेर ठूला–ठूला ब्यानर न्युजहरु हामीले पढ्न पाउछौँ । मलाई त्यस्तो लाग्दैन,’ सांसद सापकोटाले भने ।

यस्तै नेताहरुको बेटघाटलाई लिएर विश्लेषणबिना नै निष्कर्षमा पुग्ने आम परिपाटी रहेको उनको भनाइ थियो । यसले समग्र समाजमा स्थिरताको मानसिकता नदिने पनि उनको तर्क थियो । र ती विश्लेषणहरुमा सत्यता नभएको पनि उनको भनाइ थियो । ‘बिनाविश्लेषण निष्कर्षमा पुग्ने आम परिपाटी छ । त्यसमा सत्यता छ जस्तो पनि लाग्दैन । तर पनि राजनीतिक दलका नेताहरुका बीचमा संवाद हुने कुरा सकारात्मक हो र राम्रो हो,’ सापकोटाले भने ।

शीर्ष नेताहरुको भेटवार्तालाई नै लिएर सोमबार नै संसद्‍ बैठकमा कांग्रेसका सांसद दिपक गिरीले पनि बोलेका थिए । सांसद गिरीले भने ओली र देउवाको भेटवार्ता सकारात्मक भएको र यसबाट कोही पनि आत्तिनु नपर्ने बताए । यद्यपि शीर्ष नेता र दलहरुले आधिकारिक रुपमा भेटवार्ताबारे अभिव्यक्ति दिएका छैनन् ।


क्लिकमान्डु