कांग्रेस-एमालेका शीर्ष नेताहरुबीचको संवादबाट कोही चिन्तित हुनु पर्दैनः सांसद गिरी



‘लोकतन्त्रका लागि पटक–पटक लडाइँ लडेका दुई ठूला दलहरु बीचको संवादबाट कोही पनि चिन्तित हुनुपर्ने आवश्यक छैन ।’

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दुई शीर्ष दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा पछिल्लो समय भइरहेको संवादबाट कोही चिन्तित हुनु नपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको बताए । उनले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता र सुशासनका लागि दुई दल मिल्नु आवश्यक रहेको उनको तर्क थियो ।

यस्तै संविधान संशोधनसम्मका लागि कांग्रेस र एमालेका बीचमा संवाद र सहकार्य गर्नुपर्ने उनले बताए । उनले निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका केही महत्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक रहेको भन्दै संविधान संशोधनका लागि अन्य दलहरुसँग पनि छलफल गर्नुपर्ने बताएका थिए ।

सांसद गिरीले भनेका छन्, ‘चारैतिर निराशा फैलिएका बेला संसदका दुई ठूला दल नेपाली कांग्रेस तथा नेकपा एमालेका शीर्ष नेताहरुबीच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको छ । लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनसम्मका लागि यी दुई ठूला दलहरुका बीच संवाद र सहकार्य आवश्यक छ । यसैगरी निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका केही महत्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक छ । संविधान संशोधनका लागि अन्य दलहरुसँग पनि छलफल गरिनुपर्छ । लोकतन्त्रका लागि पटक–पटक लडाइँ लडेका दुई ठूला दलहरु बीचको संवादबाट कोही पनि चिन्तित हुनुपर्ने आवश्यक छैन । यसलाई सकारात्मक लिन पनि म आग्रह गर्न चाहन्छु ।’

उनले कांग्रेस एमालेका शिर्ष नेताहरुका बीचमा भएको भेटवार्तालाई सकारात्मक रुपमा लिन आग्रह पनि गरेका थिए ।


क्लिकमान्डु