१४ वटा सुरुङ बनाउँदै सरकार: १ किलोमिटर बनाउन साढे ३ अर्ब लाग्ने, जम्मा बजेट ८१ करोड !

कुन सुरुङलाई कति बजेट ?



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १४ सुरुङ मार्ग निर्माण गर्न ८१ करोड १४ लाख रुपैयाँ खर्च गर्दैछ । आगामी आर्थिक वर्ष २०८१/८२ मार्फत सरकारले १४ वटा सुरुङ मार्गको निर्माण अघि बढाउनका लागि यो परिमाणमा रकम बिनियोजन गरेको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ मा सञ्चालनमा रहेका २३ वटा सुरुङ मार्गमध्ये यो १४ वटा आयोजना भने आगामी आर्थिक वर्षमा निरन्तरता पाएको हो । बाँकी ९ वटा सुरुङ मार्ग आगामी आर्थिक वर्षको प्राथमिकतामा नपरेको हो ।

चालु आर्थिक वर्षको ताथली-रविओपी सुरु, प्रवास-जोर्ते(पाल्पा) सडक सुरुङ मार्ग, गोदावरी-मानचौर सुरुङ मार्ग, बाग्लुङ्ग- व्युँ नरेठाटी सुरुङ मार्ग, सुनमाई राजदुबोल सुरुङ मार्ग, बेसिशहर- नाल्म बेशी सुरुङ मार्ग, लुम्बिनी रारा पर्यटकीय राजमार्ग अन्तर्गत जाजरकोट व्याउलीढुङ्गा-जुम्ला टोप्ला सु, टोखा छहरे सुरुङ मार्ग र पाँडिनी गाउँपालिकादेखि दुर्गा फाँटा सुरुङ मार्गको अध्ययन गर्ने काम सकिएकाले आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकता नपाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता तथा सहसचिव शुशिलबाबु ढकालले जानकारी दिए ।

‘अध्ययन सकिएका कतिपय सुरुङ मार्गमध्ये निर्माण गर्न सम्भव भएको औंल्याइए पनि बजेटको स्रोत सुनिश्चित नभएकाले आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकतामा नपरेको हो,’ ढकालले भने, ‘अध्ययनबाट निर्माण सम्भव रहेका सुरुङ मार्ग निर्माण गर्न बजेटको स्रोत सुनिश्चितता भयो भने अर्को वर्षमा पनि प्राथमितामा राखेर निर्माण कार्य अघि बढाइनेछ ।’

उनका अनुसार सम्भाव्यता अध्ययनअनुसार निर्माण गर्न सहज रहेको र लागत खर्च पनि बढी नभएको सुरुङ मार्ग मात्रै प्राथमिकतामा परेको छ । अध्ययनको क्रममा लागत खर्चको हिसाबले कम र छोटो दूरी भएका सुरुङ मार्गलाई मात्रै प्राथमिकतामा दिइएको छ ।

कालोपत्रे सडक निर्माण गर्दा तराईमा प्रतिकिलोमिटर ३ देखि ४ करोड लागत खर्च पर्छ भने पहाडी भेगमा निर्माण गर्दा ५ करोड खर्च पर्छ । यसको तुलनामा सुरुङ मार्ग निर्माण गर्दा प्रतिमिटर दूरीको लागत खर्च ३५ लाखको दरले प्रतिकिलोमिटरलाई औसत ३ अर्ब ५० करोड रुपैयाँको हाराहारीमा खर्च लाग्छ ।

‘सामान्य कालोपत्रे सडकको तुलनामा सुरुङ मार्गको लागत खर्च तुलना नै गर्न सकिन्न, प्रतिकिलोमिटर कालोपत्रे सडक निर्माणको तुलनामा ७५ गुणा बढी लागत खर्च सुरुङ मार्ग निर्माण गर्दा लाग्छ,’ क्लिकमान्डुसँग ढकालले भने,‘जति लामो सुरुङ मार्ग हुन्छ, खर्च त्यति नै बढी हुने भएकाले निर्माण सुरु भएको वर्षदेखि निर्माणसम्म नहुँदासम्म बजेटको स्रोत सुनिश्चितताबिना सुरुङ मार्ग प्राथमिकतामा पर्दैनन् ।’

चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका सिद्धबाबा सुरुङ मार्ग निर्माण, धरान लेउती सुरुङ मार्ग, सुरुङ मार्ग विकास कार्यक्रम, विभिन्न प्रस्तावित सुरुङ मार्गको सम्भाव्यता अध्ययन, दुम्कीबास-बर्दघाट, हेम्जा नयाँ पुल खण्ड सडक सुरुङ मार्ग, मझिम्तार-शक्तिखोर सुरुङ मार्ग, नयाँ बानेश्वर अन्डरपास र बबई-छिन्चु आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रममा परेको छ ।

यस्तै वीपीनगर खुटिया फुश्रेखोला छोरेपाटन (पोखरादेखि स्याङजा गुडीकोला टनेल अध्ययन), रारा राजमार्गको कुशे पाटन(जाजरकोट व्याउलीढुङ्गा र जुम्ला इमिलचा खोला टनेल) सुरुङ मार्ग, ग्वार्को सातदोबाटो एकान्तकुना प्लाइओभर र लुम्बिनी रारा पर्यटकीय राजमार्ग अन्तर्गत तुलसीपुर लुहाम सुरुङ मार्ग पनि चालु आर्थिक वर्षबाट सरेर आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रममा परेको छ ।

आगामी आर्थिक वर्षमा निरन्तरता पाएको १४ सुरुङ मार्गमध्ये सबैभन्दा बढी सिद्धबाबा सुरुङ मार्ग आयोजनालाई दिइएको छ । चालु आर्थिक वर्षको तुलनामा २० करोड ८१ लाख बढी रकम यो आयोजनाको लागि सरकारले बिनियोजन गरिएको छ । सरकारले सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्न अगामी आर्थिक वर्षमा ६५ करोड ८१ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

सिद्धबाबा सुरुङ मार्ग निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले पाएको छ । सडक विभागले यो कर्पोरेशनसँग २०७८ फागुन २५ गते ठेक्का सम्झौता गरेको थियो ।

सम्झौता भएको अवधिदेखि ५ वर्षभित्रमा यसको निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको थियो । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको यो सिद्धबाबा सुरुङ मार्गको लागत खर्च ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ छ ।

सिद्धबाबा सुरुङ मार्ग अन्तर्गत १ हजार १ सय २६ मिटर(१.१२६ किलोमिटर) लम्बाई भएको मूल सुरुङ मार्ग निर्माण गर्न लागिएको छ । यो योजनाअन्तर्गत बुटवलतर्फको चिडिया खोलातर्फबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम पनि गरिने छ ।

यसमा ३ वटा वाइपास(क्रस प्यासेज) सुरुङ मार्ग निर्माण हुनेछ । जसमा १ सय ५५ मिटर, १४५ र १३१ मिटरको वाइपास सुरुङ मार्ग निर्माण हुनेछ । आपातकालिन समयमा यो वाइपास सुरुङ मार्गमार्फत मूल सुरुङ मार्गमा फसेका सबारी साधन र सर्वसाधारणलाई उद्दार गरिनेछ ।

आगामी आर्थिक वर्षको जेठबाट उक्त सुरुङबाट औपचारिक रूपमा सवारीसाधन गुडाउने गरी द्रुतगतिमा काम भइरहेको आयोजनाको भनाइ छ । पाँच वर्षभित्र निर्माण सक्ने गरी ०७८ फागुनमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको हो।

अन्य सुरुङमार्गलाई कति ?

सरकारले धरान-लेउती सुरुङमार्गको लागि आगामी आर्थिक वर्षमा ५० लाख, सुरुङमार्ग विकास कार्यक्रमको लागि ४ करोड, विभिन्न प्रस्तावित सुरुङमार्गको सम्भाव्यता अध्ययनको लागि १ करोड २३ लाख, दुम्कीबास-बर्दघाटको लागि २५ लाख, हेम्जा नयाँपुल खण्ड सडक सुरुङमार्गको लागि २५ लाख, मझिम्तार-शक्तिखोर सुरुङमार्गको लागि १२ लाख र नयाँ बानेश्वरमा अन्डरपासको लागि ९ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

यस्तै बबई-छिन्चुको लागि १५ लाख, बिपिनगर खुटियाको लागि ४ लाख, फुश्रेखोला छोरेपाटन(पोखरादेखि स्याङ्गजा गुडीकोला टनेल) अध्ययनको लागि २५ लाख, रारा राजमार्गको कुशे पाटन(जाजरकोट व्याउलीढुङ्गा र जुम्ला ईमिलचा खोला टनेल मार्गको विस्तृत परियोजना रिर्पोट तयार गर्नका लागि १० लाख, ग्वार्को सातदोबाटो एकान्तकुना फ्लाईओभरको लागि ८ करोड १० लाख र लुम्बिनी रारा पर्यटकीय राजमार्ग अन्तर्गत तुलसीपुर लुहाम सुरुङमार्गको लागि २५ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

सरकारले अध्ययनबाहेक बिनियोजन गरेको यो बजेटबाट एक मिटर सुरुङमार्ग निर्माण गर्न पनि सकिन्न ।

आगामी तीन महिनामा सिद्धबाबामा ‘ब्रेक थ्रु’

नागढुङ्गा-सिस्नेखोला सुरुङ्ग मार्गजस्तै सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि टनेल बोरिङ्ग मेसिन(टीबीएम) को प्रयोग गरिएको छैन । विस्फोटक पदार्थ प्रयोग गरी खनेर यो सुरुङ मार्ग खन्ने काम भइरहेको छ ।

सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यका अनुसार अहिले दु्रतगति मा सुरुङ मार्गको मूल बाटो खन्ने काम भइरहेको छ ।

‘कुनै बाधा व्यवधान नआए आगामी तीन महिनाभित्रमा सुरुङ मार्गमा ब्रेक थु्रको तयारी छ,’ उनले भने,‘पहिले उपकरणको सहयोगमा बाटो खन्ने काम हुँदा निक्कै ढिलो भयो, अहिले मेसिनको साटो बिस्फोटक पदार्थबाट बिस्फोट्न गराई खन्ने काम सुरु भएकाले पहिलेको तुलनामा प्रगति देखिएको छ ।’ बिस्फोट्क पदार्थको सहयोगमा अहिले दैनिक करिब ९ मिटरसम्म बाटो खन्न थालिएको छ ।

उपकरणको सहयोगमा मुख्य सुरुङमार्गको १ सय २७ मिटर बाटो खनिएको थियो । बिस्फोट्क पदार्थको सहयोगमा १ सय ४९ मिटरसहित कूल २ सय ७६ मिटर मुख्य सुरुङको बाटो खनिएको छ । त्यस्तै क्रस प्यासेजतर्फ १ सय ४० मिटर खनि सकिएको छ ।

आगामी वर्षमा एउटै नयाँ सुरुङमार्ग परेन

बजेटको स्रोत सुनिश्चितता नभएको भन्दै आगामी आर्थिक वर्षमा सरकारको प्राथमिकतामा एउटै पनि नयाँ सुरुङमार्ग परेको छैन । दुई वर्षअघि मात्रै देश सुरुङ युगमा प्रवेश गरेको भन्दै प्राथमिकता दिन थालिएको यस्ता पूर्वाधार आगामी आर्थिक वर्षको बजेटको प्राथमिकतामा भने परेनन् ।

सत्ता सहयात्री दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला २०७५ सालमा भाषण गर्दै २०८० साल नेपाल सुरुङ युगमा प्रवेश गर्ने घोषणा गरेका थिए । उनले यस्तो घोषणा गरे पनि सरकारमा मुख्य शक्ति एमाले भएको बेला सुरुङमार्ग बजेटमा पर्न नसकेको हो ।

डा प्रकाशशरण महत अर्थमन्त्री भएको बेला प्रस्तुत भएको बजेटले अगाडि सारेको टोखा-छहरे सुरुङ मार्गको सम्भाव्यत अध्ययन सकिएकोले आयोजना प्रतिवेदन र वातावरणीय अध्ययन सकेर चालु आर्थिक वर्षमै निर्माण कार्य अगाडि बढाउने घोषणा गरेका थिए ।

महतले चालु आर्थिक वर्षको लागि यो सुरुङमार्ग बनाउन १ अर्ब रुपैयाँको बजेट नै विनियोजन गरेका थिए । यो रकम खर्चको प्रक्रिया नै अगाडि बढेन । उक्त सुरुङमार्ग एक चिनियाँ कम्पनीसँग निर्माण गर्ने विषयमा सम्झौतासमेत भएको भए पनि बजेट भने खर्च हुन सकेन ।

गतवर्ष अगाडि सारिएका र निर्माण चरणमा प्रवेश गर्न नसकेको यो सुरुङमार्गलाई अर्थमन्त्री वर्षमान पुनले खोसेका छन् । अगामी आर्थिक वर्षको लागि निरन्तरता दिन प्रस्ताव भएको यो सुरुङले वर्षमानको बजेटमा ठाउँ पाउन सकेन ।

सडक विभागका महानिर्देशक रामहरि पोखरेलले यो वर्ष सरकारले सुरुङमार्गलाई प्राथमिकतामा नराखेको बताए ।

‘सडक विभागले प्रस्ताव गरेका र आवश्यकता औंल्याएको सुरुङमार्गलाई बजेटमा राखिएको छैन,’ उनले भने, ‘चालु आर्थिक वर्षको बजेटमा राखिएका तर पूरा नभएको र सुरु गर्नुपर्ने सुरुङमार्गलाई समेत आगामी आर्थिक वर्षको बजेटले सम्बोधन नहुनु दुःखद हो ।’

विभागले सुर्खेत-चियावारी, दाउन्ने, कपिलवस्तुको धानखोला, राष्ट्रिय राजमार्ग तथा प्रदेश राजमार्गसहितको लागि प्रस्ताव पेस गरेको थियो ।

यसरी बनिरहेको छ थानकोटको सुरुङ मार्ग


राजेश बर्मा