लागुऔषध गाजासहित दुई जना पक्राउ



बारा । बाराको सिम्रौनगढ नगरपालिकाबाट प्रहरीले दुई सय एक किलो लागुऔषध गाजाका १६ वटा पोकासहित दुईजनालाई पक्राउ गरेको छ । उनीहरुसँगै लागूऔषध ओसारपसारमा प्रयोग भएको गाडीसमेत नियन्त्रणमा लिइएको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरिक्षक नविन राईको कमाण्डमा खटिएको प्रहरी टोलीले गाजासहित लागुऔषध ओसारपसारमा प्रयोग भएको गाडीका चालक धादिङ निलकण्ठ नगरपालिका ८ का २२ वर्षीय सुजन अधिकारी र गाडीका सह–चालक धादिङ ज्वालामुखी गाउँपालिका १ का २३ वर्षीय रमेश नेपालीलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए ।

सिम्रौनगढ नगरपालिका ५ ठुलो ईट्टवालका मनोज कुमार साहको घरमा लुकाइछिपाइ लागुऔषध राखिएको विशेष सूचनाको आधारमा प्रहरीले गएराति साढे १० बजे लागुऔषध गाँजा र ओसारपसारमा प्रयोग भएको गाडीसमेत नियन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक नविन राईले बताए । उनीहरुलाई प्रहरी हिरासतमा राखी लागुऔषध ओसारपोसार मुद्दामा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय बारा जिल्लामा लागुऔषधको कारोवार बढ्दै गइरहेको छ । पूर्व–पश्चिम लोकमार्गको ५६ किमी र त्रिभुवनराजपदको ३२ किमी खण्ड ओगटेको बारा जिल्लामा राजमार्ग हुँदै लागुऔषध ओसारपोसार वर्षेनी बढेको हो ।

पछिल्लो समय लागुऔषध कारोवारी पक्राउ परेको तथ्यांकले पनि जिल्ला लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट ’का रुपमा प्रयोग हुँदै आएको देखिएको छ । बारा जिल्लाका सीमावर्ती क्षेत्र बिहारका बजारबाट लुकाइछिपाई लागूऔषध बारा भित्र्याउने र यहाँबाट राजधानी लगायत मुलुकका विभिन्न ठाउँमा आपूर्ति हुँदै आएको छ भने बाराबाट ठुलो परिणाममा गाँजा भारत लगिने गरेको पाइएको छ ।


क्लिकमान्डु