८ अर्ब लागतको कर्णाली कोरिडोर ४०० केभी प्रसारण लाइनको शिलान्यास, ३ वर्षमा तयार हुने



कैलाली । कर्णाली करिडोर (फुकोट-बेतन-दोधारा)४०० केभी प्रसारणलाइन शिलान्यास भएको छ ।

शुक्रबार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले प्रसारणलाइन शिलान्यास गरेका हुन् । प्रसारणलाइन आयोजनाको कैलालीको बर्दगोरीयामा पर्ने टावर शिलान्यास गरिएको हो ।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले निर्माण गर्न लागेको यो आयोजनाको ठेक्का भारतीय कम्पनी कल्पतरु पावर ट्रान्समिसन लिमिटेड गुजरातले २०७९ फागुनमा नै ठेक्का पाएको हो । कम्पनीले ८ अर्बमा डिजाइन एण्ड बिल्ड मोडलमा ठेक्का पाएको हो । मुख्य निर्माण शिलान्यासपछि गर्न लागिएको हो । पूर्व तयारीको काम लगभग सकेर प्रसारणलाइन निर्माण थाल्न लागिएको हो ।

यो आयोजना कालिकोटको मान्मबाट सुरु भएर अछाम, सुर्खेत हुँदै दोधारासम्म पुग्छ । यो पूर्वपश्चिम जोड्ने ‘ब्याक बोन’ प्रसारणलाइनले २२०० मेगावाट बिजुली प्रसारण गर्न सक्छ ।

कर्णाली र महाकाली नदी आसपासको बिजुली प्रणालीमा ल्याउन र भारत निर्यातका लागि समेत उपयोगी हुनेछ । दोधाराबाट बरेलीसम्म ४०० केभी प्रसारणलाइन निर्माण हुन लागेको हो । सोही कारण आन्तरिक खपत भएर बढी भएको बिजुली भारत निर्यातका लागि समेत सहज हुनेछ ।

कर्णाली नदी बेसिनमा करिब ६००० मेगावाटका आयोजनाहरु पहिचान भएका छन् । बेतन कर्णाली (४४२ मेगावाट), सेती नदी-६ (४५० मेगावाट), अपर कर्णाली (९०० मेगावाट), फुकोट कर्णाली (४८० मेगावाट), तिला-१, तिला-२, हुम्ला कर्णालीलगायतका आयोजनाहरु पहिचान भएर निर्माणमा जान लागेका छन् । यी आयोजनाहरुलाई दृष्टिगत गरेर प्रसारणलाइन निर्माण गर्न लागिएको छ ।

कर्णाली र महकाली करिडोरबाट आगामी १५ वर्षमा २००० मेगावाट प्रणालीमा आउने अनुमान गरिएको छ । उक्त अनुमानका आधारमा राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले २२०० मेगावाट क्षमताको प्रसारणलाइन निर्माण गर्न लागेको हो ।

सेती नदी-६ (एसआर-६) भारतीय कम्पनी एनएचपीसीले पाएको छ । कम्पनीले अहिले अध्ययनको काम गरिरहेको छ । अपर कर्णाली भारतीय कम्पनी जिएमआरले पाएको छ । एक्लैलै निर्माण गर्न नसक्ने भएपछि उसले भारत सरकारको स्वामित्वको सतलज जलविद्युत् निगम (एसजेभीएन) भित्र्याएको छ ।

फुकोट कर्णाली पनि एनएचपीसीले नै पाएको छ । यो आयोजना विद्युत् उत्पादन कम्पनी लिमिटेडसँग सयुक्त रुपमा मिलेर बनाउन लागेको हो । बेतन कर्णाली कर्मचारी सञ्चयकोषले अघि बढाएको आयोजना हो । अहिले अध्ययन सकेर निर्माणमा लैजाने तयारी छ ।

पूर्वको ढल्केबरमाभन्दा ठूलो सबस्टेसन दोधारामा बन्न लागेको हो । सबस्टेसनको हब बन्न लागेको राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेत्र ज्ञवालीले बताए । ४००/१३२ केभीको सबस्टेसन कम्पनीले बनाउन लागेको हो । ज्ञवालीले यो नेपालकै ठूलो क्षमताको प्रसारणलाइन भएको दाबी गरे ।

उनकाअनुसार फुकोट-कर्णाली, वेतन कर्णाली, तिला- १,२ लगायतका आयोजनाहरुबाट उत्पादित करिब ३००० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आवद्ध गरी राष्ट्रको विद्युत् मागलाई सम्बोधन गर्ने र विद्युत निर्यात गर्ने लक्ष्यसहित कम्पनीबाट निर्माण हुन लागेको उक्त फुकोट- बेतन- दोदोधारा ४०० केभी डबल सर्किट प्रसारण लाइन राष्ट्रिय रुपान्तरणकारी आयोजना हो। कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रसारण हाइवेका रुपमा रहेको यस आयोजनाको निर्माणबाट ति प्रदेशका अन्य पुरक पूर्वाधारको समेत विकास भइ समग्र देशको विद्युत् विकासमा कोसेढुंगा सबित हुने उनले बताए ।

जम्मा १२५ किमी लम्बाइको यस आयोजना कर्णाली प्रदेशको कालिकोट (गिल) बाट सुरु भई अछाम, सुर्खेत हुँदै कैलालीको दोधारा सब-स्टेशनमा टुंगिन्छ, जहाँबाट पूर्वतर्फ बुटवल, पश्चिममा अत्तरिया / दैजी र दक्षिणतर्फ अन्तरदेशीय प्रसारण लाइनमार्फत छिमेकी देश भारतको बरेलीमा जोडिने योजना रहेको छ । जम्मा २५६ वटा टावर रहने यस प्रसारण लाइन आयोजनामा दक्षिण एसियाकै लामो मध्यको करिब १३५० मि लम्बाइको रिवर क्रसिङ रहेको छ । जसमा करिब १२० मिटर अग्ला दुईवटा टावर निर्माण गरिने छ ।

आयोजना प्रबन्धक बिकेन बज्राचार्यले यस आयोजनाको संक्षिप्त जानकारी गराउँदै प्रसारण लाइन निर्माणको लागि भारतीय कम्पनी कल्पतरु प्रोजेक्ट इन्टरनेसनल लिमिटेडसँग गत वर्ष ठेक्का सम्झौता भइ करिब ८ अर्बको लागत भएको जानकारी दिए। उनका अनुसार यो आयोजना अगामी ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

आयोजनाको प्रारम्भिक वातावरणीय अध्ययन, इन्जिनियरिङलगायत टावर परीक्षण कार्य सम्पन्न भैसकेको छ । आयोजना निर्माण सुपरीवेक्षणको लागि एनरुईए इन्जिनियरिङ कम्पनीलाइ नियुक्त गरिएको छ । टावर निर्माणको लागि कालिकोट, सुर्खेत, अछाम र कैलाली जिल्लामा जग्गा अधिग्रहणको भइरहेको छ ।

मन्त्री बस्नेतले कर्णाली नदी बेसिनमा उत्पादन हुने विद्युत् जम्मा गरी स्वदेश तथा विदेशी बजारमा पुर्‍याउने लक्ष्यसहितको यो आयोजना कर्णाली र सुदूरपश्चिम प्रदेशको पूर्वाधार विकासको मुख्य धमनी रहेको बताए । उनकाअनुसार राष्ट्रिय प्रसारण ग्रिड कम्पनीबाट निर्माण हुन लागेको यो आयोजनाले ह्विलिङ चार्जमार्फत आफ्नो आय समेत पहिचान गरेको उल्लेख गर्दै कम्पनीको आयमा आत्मनिर्भर हुने गरी तयार गरिएको मोडालिटीको प्रशंसा गरे ।

भेरी कोरिडोर र सेती कोरिडोर ४०० केभी प्रसारण लाइन आयोजना समेत निकट भविष्यमा निर्माणमा जान लागेको कुरा जानकारी दिँदै सरकारको उद्देश्य सकेसम्म कम वातावरणीय क्षती हुने गरी साझा प्रसारण लाइन निर्माण गर्न सहजीकरण गर्ने रहेको र त्यसको लागि नीतिगत सुधारहरु पनि भइरहेको उनले जानकारी गराए ।

यो प्रसारणलाइन कर्णालीबाट आउने बिजुली स्वदेशमा खपत गरेर बाँकी रहेको भारतमा निर्यात गर्न सकिनेछ । लम्की बरेली ४०० केभी प्रसारणलाइन सन् २०२९ सम्म पूरा गर्ने लक्ष्य छ ।


दिनेश खड्का