दिल्लीस्थित विमानस्थलको टर्मिनलको छत खस्दा १ जनाको मृत्यु, ६ जना घाइते



काठमाडौं । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलको छत भत्किँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

शुक्रबार बिहान ठूलो वर्षा भइरहँदा विमानस्थलको टर्मिनलतर्फको छत खसेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

नागरिक उड्डयन मन्त्री के आर नाइडुले दुर्घटनाको अवस्थाबारे आफूले जनाकारी लिइरहेको र घाइतेको अस्पतालमा उपचार भइरहेको बताए ।

दिल्ली फायर सर्भिसका अधिकारीहरूले घटनाका बारेमा विहान साढे ५ बजे खबर आएपछि तीनवटा दमकललाई एयरपोर्टको टर्मिनल-१ मा लगिएको थियो।

टर्मिनलको पिकअप एण्ड ड्रप एरियामा पार्क गरिएका कारहरूलाई क्षति पुर्‍याउने गरि छाना र बिमहरु भत्किएका छन् ।

घाइतेहरुलाई विमानस्थल नजिकैको मेदान्त अस्पतालमा भर्ना गरिएको छ । ६ जना घाइतेमध्ये एक जनालाई कारमा फलामको बीम खसेको गाडीबाट उद्धार गरिएको उनीहरुले बताए ।

बिजनेश स्ट्यान्डर्डको समाचारमा जनाइए अनुसार इन्डिगो एयरलाइन्सले टर्मिनल १ बाट हुने उडान सबै रद्द गरेको छ ।

विमानस्थलका प्रवक्ताका अनुसार सुरक्षाका कारण टर्मिनल १ बाट दिउँसो २ बजेमसम्म प्रस्थानमा रोक लगाइएको छ ।


क्लिकमान्डु