स्कुलमै ‘जे बढी बिक्छ त्यही बेच्नुपर्छ’ भन्ने सिकें, एसएलसीमा बोर्ड पाँचौं भएँ: बिनोद चौधरी



– बिनोद चौधरी

मैले कक्षा ६ देखि भक्तपुरको आदर्श बहुउद्देश्य स्कुलमा पढें ।

त्यो स्कुलमा व्यावसायिकतर्फ चारवटा विषय थिए । सबै विद्यार्थीले आफ्नो रुचिअनुसार एउटा विषय छान्नुपर्थ्यो । ‘इन्डस्ट्रियल साइन्स’ मा काठ काटेर विभिन्न सामान बनाउने सीप सिकाइन्थ्यो । अर्को थियो, ‘होम साइन्स । खानेकुरा पकाउन, लुगा सिलाउन, बगैचा स्याहार्न सिकाउने यो विषय धेरैजसो केटीहरूले लिन्थे । ‘कृषि’ मा खेतीपातीसम्बन्धी पढाइ हुन्थ्यो । चौथो विषय थियो, ‘सेक्रेटेरियल साइन्स’ । यसमा टाइपराइटर चलाउन र व्यापारका सानातिना प्रयोगात्मक अभ्यास गर्न लगाइन्थ्यो । मैले यही विषय लिएँ ।

हामीलाई ‘सेक्रेटेरियल साइन्स’ पढाउने मिस हुनुहुन्थ्यो, जाल्पा प्रधान । एकदिन उहाँले कक्षामा आएर भन्नुभयो, ‘म एउटा समूह बनाइदिन्छु । अलिकति पैसा जम्मा गर, स्कुलमा सानो पसल थाप ।’

हामी वाल्ल पर्यौं ।

‘दुईचार कुरा सिक्न पाउँछौ, एकदुई पैसा बचत हुन्छ,’ उहांले सोध्नुभयो ‘समूहको नेतृत्व कल्ले गर्छ ?’

कक्षा अचानक जाँच दिनुपरेजस्तो सामसुम भयो । मैले फ्याट्ट हात उठाएँ ।

हामीले पसल थाप्न भनेर घरबाट पैसा माग्न पाउँदैनथ्यौ । टिफिन बाट दिएको पैसा जम्मा गरौं भने त्यो पनि थिएन । स्कुलमै खुवाउँथ्यो । समस्या पर्यो । मैले उपाय सोचें, अबदेखि चना चट्‌पट, बम्बईया लड्डु सबै बन्द । घरबाट पैसा लिने, खर्च भने नगर्ने । केही नभए पनि दिनको एक मोहर, एक रुपैयाँ बच्थ्यो ।

साथीहरूले मेरो प्रस्ताव माने ।

पैसा बचाऊ’ अभियान सुरु भयो । म दिनहुँ साथीहरुसंग पैसा उठाउने, धर लगेर खुत्रुकेमा खसाल्ने । पहेंलो रङको माटोको खुत्रुकेमा मैले रातो साइनपेनले किरिडमिरिङ अक्षरमा लेखेको थिएँ, ‘स्कूल प्रोजेक्ट’ । कस्ले कति पैसा दियो भन्ने हिसाब राख्न सबै मिलेर एउटा कापी किनेका थियौ । हिसाब लेख्ने काम सबैका आँखा सामुन्ने हुन्थ्यो ।

महिना दिनपछि हामीले खुत्रुके फोड्‌यौ । डेढ सय रुपैयाँ चानचुन जम्मा भएछ ।

मिसले भन्नुभएको थियो, ‘स्कूलमा के चिज बढी बिक्छ, त्यही राख्नु ।’ हामीले पिपलमेड पाउँ, रंगीविरंगी इरेजर, थरीथरीका सार्पनर र यस्तै केही खित्रीमित्रीहरू ल्यायौं ।

हामी हाफटाइममा छि‌छिटो खाजा खाएर कक्षाका डेस्क-बेन्च घिसार्दै चौरमा ल्याउँथ्यौ । झोलामा बोकेर ल्याएको दोकान डेस्कमाथि सजाउँथ्यौं । सुरुमा त स्कुलका अरू विद्यार्थी हेरेका हेर्‍यै भएँ ।

कोही सोध्न पनि आए, ‘के रमिता हो’ भनेर । हामीले ‘प्रोजेक्ट वर्क’ भन्यौं । सुनेर उनीहरू खासखुस गर्ने । अनि गोजी छाम्थे । हामीले सामान नै त्यस्तै छानेका थियौ मन भुलाउने, आँखा लोभ्याउने । हाफटाइमको आधाघन्टे छुट्टीमा जति हुन्छ बेचेर हामी आफ्नो दोकानलाई फेरि त्यही झोलामा पोका पार्थ्यौं ।

अन्तिम घन्टीपछि दिनभरिको हिसाब जाल्पा मिसलाई देखाउनु पर्ने थियो । कुन चिज कतिमा किनेको, कतिमा बेचेको, कति नाफा भयो सब त्यही म्याथ कापीका चारपाटे कोठाहरूमा लेखेर बुझाउनुपर्थ्यो ।

व्यापारमा त्यो मेरो चञ्चुप्रवेश थियो । आज ४५ वर्षपछि मैले गर्ने कारोवार सैद्धान्तिक रूपमा त्यो भन्दा फरक छैन । सानो-ठूलोको कुरा मात्र हो ।

बहुद्देश्यीय हाई स्कुलको त्यो सिकाइले मभित्र अर्द्धचेतन अवस्थामा रहेको व्यापारिक सोच र व्यवहारलाई जगाइदिने काम गर्यो भन्ने लाग्छ । बचत परिचालन, पुँजी निर्माण, बजारको माग बने, खरिद विकीबीच मार्जिन राख्ने यस्ता आधारभूत व्यापारिक सीप मैले त्यहाँ स्कुलको आधाघन्टे पसलबाट सिकें ।

विद्यार्थीलाई परीक्षाको दौडमा सामेल गराउनेभन्दा ज्ञान दिनेगरी पढाउने त्यो स्कुलले मेरो जीवनमा एक सय असी डिग्रीको परिवर्तन ल्याइदियो । म त्यहाँको शैक्षिक वातावरणमा रमाएँ ।

मैले एसएलसीसम्म त्यहां पढें । र, त्यहींबाट २०२८ सालको एसएलसीमा बोर्ड पाँचौ भएँ ।

हाम्रो स्कुलबाट अरू दुईजना साथी पनि बोर्ड आएका थिए । छैठौं स्थानमा विश्वम्भर चित्रकार र सातौंमा कृष्णबहादुर नापित ।

मेरो जिन्दगीको पहिलो र सबै भन्दा महत्त्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ त्यही स्कुलको वातावरण हो । त्यहाँ पाएजत्तिको शिक्षा त्यसपछिको कुनै पढाइले दिएन ।

आज तपाइँहरुको रिजल्ट जस्तो आएपनि जिन्दगी एकदम लामो छ । स्कुलमा सिकेको कुरा रिजल्ट भन्दा धेरै काम लाग्नेछन । अगाडी बढनुहोला । हार्दिक शुभकामना ।


क्लिकमान्डु