राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री मातहत राख्दा प्रभावकारी: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा हुँदा प्रभावकारी हुने बताएका छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले राजस्व संकलन गर्ने निकायले नै राजस्व चुहावटको अनुसन्धान गर्दा सन्तुलन र नियन्त्रण कायम हुन नसक्ने भन्दै माथिल्लो निकायबाट अनुसन्धान हुनुपर्ने देखिएकोले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतमा राखिएको बताए ।

उनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समन्वय र सहकार्य गर्न सहज हुने बताए ।

सम्पत्ति शुद्धीकरण निवारण र सुशासनको पाटोमा अन्तर्राष्ट्रिय चासो पनि हुने भन्दै हालको व्यवस्थाबाट प्रभावकारी नियन्त्रण र सन्तुलन कायम हुन सक्ने बताए ।

प्रधानमन्त्रीले यसो भने

राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग विगत सरकारमै पालामा अध्ययन एवम् विश्लेषणपश्चात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मातहतमा राखिएको अवस्था हो । राजस्व चुहावट नियन्त्रण तथा सम्पत्ति शुद्धीकरण एवं आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण तथा विदेशी विनिमयको अवैध ओसारपसार र नियन्त्रण सम्बन्धी कार्य जटिल र अन्तर्राष्ट्रिय क्षेत्रको समेत चासोको विषय भएको हुँदा यसको प्रभावकारी समन्वय, सहजीकरण र नियमनको लागि राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग यस कार्यालय मातहत राखिएको कुरा स्पष्ट नै छ ।

यसका साथै राजस्व संकलन गर्ने निकाय नै राजस्व चुहावटको अनुसन्धान गर्दा सन्तुलन र नियन्त्रण कायम गर्ने सन्र्दभमा काममा दोहोरोपना र स्वार्थको द्वन्द्व हुनसक्ने हुँदा बेग्लै र माथिल्लो निकायबाट अनुसन्धान कार्य हुनुपर्ने देखिएको पनि हो । अर्कोतर्फ राजस्व संकलन गर्ने निकायहरुको पनि आ–आफ्नो अनुसन्धान गर्ने इकाइ रहने भएकोले राजस्व अनुसन्धान विभागलाई वृहत र अन्तरसम्बन्धित प्रकृतिका अनुसन्धानको जिम्मा दिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यसम्पादन हुँदा त्यो प्रभावकारी हुने र तथ्यलाई समेत ध्यानमा राखिएको स्पष्ट गर्न चाहन्छु ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देशको सर्वोच्च कार्यकारी निकाय हो । सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागलाई सर्वोच्च कार्यकारी निकाय मातहत राख्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समन्वय र सहकार्य सहज हुन जान्छ । सम्पत्ति शुद्धीकरण निवारण समग्र सुशासनको महत्वपूर्ण पाटो हुनुको साथै अन्तर्राष्ट्रिय चासोको समेत विषय भएकोले हालको व्यवस्थाबाट प्रभावकारी नियन्त्रण र सन्तुलन कायम गर्नुको साथै यस विभागलाई समेत थप जवाफदेही बनाउन आवश्यक छ ।


क्लिकमान्डु