काठमाडौंभित्र जग्गाको प्रतिआना मूल्य न्यूनतम ४ लाखसम्म, कुन ठाउँको मूल्य कति ?



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका विभिन्न स्थानको जग्गाको सरकारी मूल्यांकन गरेको छ । महानगरपालिकाको सोमबार बसेको नगरसभामा सोमबार प्रस्तुत भएको आर्थिक वर्ष २०८१/८२ को बजेटमा १७८ स्थानको जग्गाको सरकारी मूल्यांकन गरिएको हो ।

जसअनुसार प्रतिआना न्युनतम ४ लाख रुपैयाँदेखि ५० लाखसम्म जग्गाको मूल्य तोकिएको छ । सिंहदरबार, माइतीघर, दरबारमार्ग लगायतका क्षेत्रमा जग्गाको सरकारी मूल्य प्रतिआना ५० लाख तोकिएको छ भने सडकले नछोएको रिङरोडभन्दा बाहिरका कतिपय स्थानमा महानगरले प्रतिआना न्युनतम ४ लाखसम्म तोकेको छ ।

यस्तै महानगरले मनोहरापूल, अरनिको राजमार्ग, चक्रपथ (रिङरोड) तीनकुने, गैह्रीगाउं, सिनामंगल, तिलगंगा, गौशाला, मित्रपार्क हुँदै चावहिल मालपोत कार्यालयको सिमानासम्मको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरुको मूल्य प्रतिआना २८ लाख तोकेको छ ।

यसैगरी पूतलीसडक, बागबजार, रत्नपार्क सम्मको मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरु, पूतलीसडक कूमारी बैंक चोकदेखि पूरानो बसपार्क सम्मको (शुक्रपथ) मुलबाटो, पद्मोदय मोडदेखि सभागृह चोकसम्मको मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरुको मूल्य ४० लाख तोकिएको छ ।


क्लिकमान्डु