विदेश पढ्न जाँदा घरभाडालाई आय देखाउनले महानगरलाई ५ प्रतिशत कर तिर्नुपर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले विदेश पढ्न जान चाहनेबाट कर उठाउने भएको छ । महानगरभित्र घरजग्गा हुने व्यक्तिका छोराछोरी विदेश पढ्न जानेबेला घर वा जग्गा भाडालाई आय देखाउने हो भने आय मानेको पुरै अवधिको ५ प्रतिशत कर बुझाउनु पर्ने भएको हो ।

हाल विदेश पढ्न जानेले घरजग्गा बहाललाई आय देखाउने गर्छन् । सो प्रयोजनका लागि वडा कार्यालयबाट आम्दानी प्रमाणीकरण गर्नुपर्छ । अबदेखि जति समयका लागि आम्दानी मान्ने हो उति नै अवधिको कर बुझाउनुपर्ने भएको हो ।

मानौं, विदेश पढ्न जाँदा आयस्रोतस्वरुप मासिक १ लाख रुपैयाँका दरले ५ वर्ष घर भाडा प्राप्त हुने गरी कागज बनाउनुपर्‍यो । अर्थात्, ५ वर्षको कुल आम्दानी ६० लाख रुपैयाँ हुने भयो । यस्तो स्थितिमा सो विद्यार्थीका अभिभावक अर्थात् घरजग्गा धनीले ६० लाखको ५ प्रतिशत अर्थात् ३ लाख रुपैयाँ बुझाएपछि आयस्रोत प्रमाणीकरण हुने भएको छ ।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सोमबार नगर कार्यपालिका वैठकमा प्रस्तुत गरेको आर्थिक विधेयक २०८१ मा यस्तो प्रताव गरिएको हो । प्रस्तावित विधेयक ऐन बनेर आएपछि आगामी आर्थिक वर्ष (साउन १ गते)देखि लागु हुनेछ ।

बहाल करको दरबारे अनुसूची ६ मा संशोधन गर्दै महानगरले यस्तो प्रस्ताव गरेको हो । अनुसूचीमा भनिको छ, ‘अध्ययनका लागि आईट्वान्टी पेश गरी बहाल आय देखाई आयश्रोत प्रमाणित गर्ने प्रयोजनका लागि बहाल देखाएको बहाल अङ्क तथा अवधिको कुल बहाल रकमको पाँच प्रतिशतका दरले बहाल कर लिईनेछ ।’


क्लिकमान्डु