काठमाडौंले ल्यायो २५ अर्ब ७० करोडको बजेट, यस वर्षको भन्दा १६ करोड ठूलो



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट ल्याएको छ ।

महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षको बजेट पेश गरेकी छिन् । उनले नगर सभाको १५ औं अधिवेशनको तेस्रो बैठकमा उक्त रकमको बजेट पेश गरेकी हुन् ।

आगामी आवको बजेट चालु आवको भन्दा १७ करोड ठूलो हो । महानगरले चालु आवका लागि २५ अर्ब ५४ अर्बको बजेट ल्याएको थियो ।

यस अन्तर्गत महानगरको संचित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी १ अर्ब ५० करोड रहेको छ । स्थानीय संचित कोषबाट खर्च हुने रकम मध्ये आर्थिक विकास कार्यक्रमका लागि १९ करोड ९ लाख विनियोजन गरिएको छ । जुन कुल बजेटको ०.७९ प्रतिशत हो ।

कार्यालय सन्चालन तथा प्रशासनिक क्षेत्रका लागि ३ अर्ब ४९ रकोड ४५ लाख २९ हजार विनियोजन रहेको छ । यो कुल बजेटको १४.४४ प्रतिशत हो । पुर्वाधार विकासका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार विनियोजन गरिएको छ । यो कुल बजेटको ६१.२० प्रतिशत हो ।

सामाजिक क्षेत्रका लागि ३ अर्ब ८१ करोड ३६ लाख १५ हजार बजेट विनियोजन गरिएको छ । यो कुल बजेटको १५.७५ प्रतिशत हो । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड २१ लाख ३० हजार बजेट विनियोजन गरिएको छ । यो कुल बजेटको ७.८२ प्रतिशत रहेको छ ।

आगामी आवका लागि सन्चित कोषमा २४ अर्ब २० करोड ६३ लाख २५ हजार आम्दानी हुने अनुमान रहेको छ । जसमध्ये आन्तरिक स्रोतबाट १९ अर्ब १५ करोड ६६ लाख स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ । सरकारबाट प्राप्त हुने शसर्त अनुदान तर्फ १ अर्ब ४५ करोड र प्रदेश सरकारबाट ४ करोड ४७ लाख स्रोत अनुमान गरिएको छ ।

संघीय राजस्व बाडफाँडबाट १ अर्ब ९९ करोड २० लाख २५ हजार, प्रदेश राजस्व बाँडफाँडबाट ५५ करोड, स्थानीय राजस्व बाँडफाँडबाट १० करोड ५० लाख, समानिकरण अनुदानबाट ८० करोड, प्रदेश सरकार समानिकरण अनुदानबाट १० करोड, आन्तरिक जनसहभागिताबाट ८० लाख प्राप्त हुने अनुमान रहेको डंगोलले बताइन् ।


क्लिकमान्डु